निजीलाई कोरोना खोप ल्याउन अनुमति

सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन अनुमति प्रदान गरेको छ।

२० प्रतिशत नागरिकलाई नि:शुल्क खोप दिइसकेपछि मात्रै निजीलाई अनुमति दिने बताउँदै आएको सरकार उक्त निर्णयबाट पछि हट्दै निजीलाई अनुमति दिन तयार भएको हो।

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक जो कोही उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता–२०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन दिन आग्रह गरेको छ।

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

‘खोप आपूर्ति गर्न सकिने परिणाम र सोका लागि लाग्ने समयको प्रक्षेपणसमेत उल्लेख गरी दर्ता/आयात अनुमतिका लागि शीघ्र आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।

नेपालमा भारतको कोभिसिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेको खोप प्रयोगका लागि अनुमति दिएको छ।

विभागले नेपालमा अनुमति पाइसकेका दुई कम्पनीका साथै विश्व स्वास्थ्य संगठनले अनुमति तथा सूचीकृत गरिसकेका खोपलाई आयात गर्नसकिने जनाएको छ।

गत पुस २० गते बसेको मन्त्रिपरिषद् बैठकले पास गरेको ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोप प्राप्ति र प्रयोगसम्बन्धी’ मापदण्डअनुसार निजीले ल्याएको खोपमा पनि सरकारको नियन्त्रण हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय