साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन्।

प्रिमनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ। मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रिमनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ। उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ।

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम नौ दशमलव चार डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय