लुगा सिउँदै बुनिएका डाक्टर बन्ने सपना
दुःखको मसीमा जीवनको कलम चोप्दै भाग्य कोर्ने डा. राकेश परियार।
मेसिनको तुर्पाइसँगै छोराको स्वर्णिम भविष्य खोज्ने बा बोधबहादुर परियार।
न ओत लाग्ने छानो थियो, न मिठो–मसिनो पकाउने मानो।
राकेशको परिवारका लागि बुबाको पाखुरी नै ओत थियो। पेट भर्ने मानो पनि त्यही पाखुरी।
उनकी आमाले श्रीमानको त्यही पाखुरीको ओतमुनि एक छोरा र एक छोरीका रंगिन सपना खोजिरहेकी थिइन्।
र, अभावकै बीच भन्थिन्– ‘बाबु पढ्नुपर्छ। शिक्षक बनेर समाजमा ज्ञानको ज्योति छर्नुपर्छ। अनि, बुढेसकालमा चाउरिएका हाम्रा मुहारमा एकसरो मुस्कान छर्नुपर्छ।’
आमाको त्यही प्रेरणाले राकेशलाई सधै जीवनप्रति गम्भीर बनाइरह्यो। पत्थरको कापमा उम्रिएको वृक्ष झैं ढुंगालाई फोडेर जीवनको सार्थकता खोज्नुपर्छ भनिरह्यो।
र, त अभावकै बिच पनि कहिल्यै आत्तिएनन् राकेश। कहिले अविचलित भएनन् लक्ष्यबाट।
…
राकेशको जन्म गोरखा भीमसेनथापा गाउँपालिकास्थित ताराखसेमा भएको थियोे।
उनको बाल्यकाल त्यहीँ बित्यो। कहिले बाबुसँगै मेसिनमा तुर्पाई भर्दै त कहिले बालीघरेबाट उठेको अन्न बोक्दै।
आमा बाबुलाई सघाउँदै राकेशले सिद्धकाली माविबाट एसएलसी उत्तीर्ण गरे। २०६८ सालमा उनले ७६ प्रतिशत अंक ल्याएका थिए।
गाउँमा दलितको छोरा पहिलोपटक प्रथम श्रेणीमा उत्तीर्ण भएको थियो।
दलित परिवारबाट राकेश र उनकी दिदीबाहेक अरू गाउँमा पढ्ने कोही थिएनन्।
छोराको सफलताले परिवारमा बेग्लै खुसीको सञ्चार थियो। सबैले राकेश राम्रो विद्यार्थी हो भन्ने थाले। उनको चर्चा हुन थाल्यो।
उनको परिवारमै नयाँ अनुभवजस्तो भयो।
अंक राम्रो थियो। अंकले राम्रो विषय पढ् भनिरहेको थियो। तर, कसरी? उनको अगाडि अभाव र समस्याको चाङ थियो।
त्यो चर्चाले उनलाई हौस्यायो। परिवारले पढ्नुपर्छ भनेर हौस्याइरहन्थ्यो।
त्यसपछि उनले काठमाडौंमा आएर विज्ञान पढ्ने सोच बनाए।
राकेशको परिवारलाई गाउँमै त दैनिकी बिताउन गाह्रो हुन्थ्यो। काठमाडौंमा कसरी पढ्ने?
तारेभीर जस्तो चुनौतीको पहाडलाई उनले जसरी पनि छिचोल्नु थियो।
उनकी दिदी काठमाडौंमा बस्थिन्। महिनाको ६ हजारको जागिर गर्थिन्। उनी तिनै दिदीको सहारामा काठमाडौं आए।
दिदीको त्यही कमाइले काठमाडौंमा बाँच्नुपर्ने, कलेजको शुल्क तिर्नुपर्ने अवस्था थियो।
उनीहरूले बालाजुको सुकुम्बासी टोलमा सात वर्ष अगाडि टिनको छाना भएको कोठा खोजे। किनकि, त्यहाँ सस्तो कोठा पाइन्थ्यो।
राकेश समाचारहरू पढिरहन्थे। एक दिन उनले एउटा पत्रिकामा छात्रवृत्तिको सूचना देखे।
उच्च माध्यमिक शिक्षा बोर्ड (एचएसइबी) ले लिने प्रवेश परीक्षमा सहभागी भए। नाम निकाले। र, उनलाई साउथ वेस्टर्न कलेज पढ्नू भन्ने पत्र आयो।
त्यसपछि राकेश साउथ वेस्टर्न कलेज भर्ना भए। र, विज्ञान पढ्न थाले।
उनले दुई वर्षमा कुशलतापूर्वक ‘डिस्टिंक्सन’ ल्याउँदै प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे।
त्यहाँ पनि उनले ठूलो सफलता त हासिल गरे। तर, अब के गर्ने कुनै योजना थिएन। कुनै सपना पनि थिएन।
डाक्टर बन्ने कि?, साइन्समा मास्टर्स गर्ने? उनी सोच्न थाले।
डाक्टरी धनीहरूले पढ्ने विषय हो भन्ने अझै पनि आममानिसको बुझाइ छ।
उनलाई पनि आफ्नो आर्थिक हैसियतले झस्काइरहन्थ्यो।
अनी सोचे– त्रिचन्द्रमा गएर साइन्स पढ्छु। र, राम्रो शिक्षक बन्छु।
कलेजहरूले स्कलर्सिप पनि दिँदोरैछन् भन्ने बुझे राकेशले।
आत्मबल बढाउँदै उनले डाक्टरी पढ्ने सोच गरे। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्ट्रान्स दिए।
र, पहिलोपटकमै नाम निकाल्न सफल भए।
…
आंशिक छात्रवृत्तिमा नाम निकालेका उनलाई परिवारले ठूलो सहयोग ग¥यो।
परिवारको आर्थिक अवस्था सुधारोन्मुख थियो। बाबुले छोरोलाई डाक्टर बनाउन बैंकबाट ऋण लिन थाले।
ऋणबाट नै अहिले पनि उनको दैनिकी चलिरहेको छ। लगभग उनको पढाइमा २० लाख खर्च भइरहेको छ।
राकेशका बाबुले एक मेसिनको सहारामा छोरालाई डाक्टर बनाएरै छाडे।
राकेशले पाटनबाट एमबिबिएस सकेका छन्। अहिले राकेश पाटनमै इन्टर्नसिप गरिरहेका छन्।
अप इन्टर्नसिपको चार महिनामात्रै बाँकी छ।
हलिघरे तुर्पाइ र बाबुको सपना
राकेशका बाबु सिलाइकटाइ गर्थे। त्यो उनको पुख्र्यौली पेसा हो।
उनका बाजेबराजुले बाजाहरू पनि बजाउँथे। गाउँमा ज्यामी काम गर्दै आफ्ना सन्तानलाई पालिरहेका थिए राकेशका बाबुले। हलो पनि जोत्थे।
पछि राकेशका बाबुले गाउँमै पसल खोले। मेसिन राखे। र, व्यावसायिक रूपमै सिलाइकटाइको काम गर्न थाले।
गाउँमा बालिघरे प्रथा थियो।
बालिघरे प्रथामा काम गर्दा वर्षमा फल्ने खेतीमा काम गर्नुथ्र्यो। जुन–जुन बाली फल्छन्। काम गरेवापत त्यही पाइन्थ्यो।
त्यही आम्दानीबाट उनीहरू पढ्थे।
पछि उनको बाबुले बालीघरे प्रथा घटाउँदै लगे। ज्यालामा काम गर्न थाले। र, केही आम्दानी हुन थाल्यो।
गाविस भवनको कोठा ओत
उनका बाबु गाउँ छाडेर ताराखसे आए। त्यहाँको साविकको तान्द्राङ गाविस भवनको एउटा कोठामा बहालमा बस्न थाले।
अरू ठाउँमा दलित भनेर कोठा दिन नमानेपछि उनीहरू गाविसको एउटा कोठामा बस्न बाध्य भए।
उनको परिवार १०–१२ वर्ष गाविस भवनमै बस्यो।
खाना पकाउने, बस्ने, सुत्ने, पढ्ने, लुगा सिलाउने सबै काम गर्ने कोठा त्यही एउटामात्रै थियो।
जहाँ उनीहरूले एक दशक सकसपूर्ण जीवन बिताए।
उनी धेरै समय स्कुलमै समय बिताउँथे। घर नजिकै स्कुल भएकाले उनी त्यही गएर पढ्ने। किनकि, घरको एउटा साँघुरो कोठामा पढ्न निकै गाह्रो हुन्थ्यो।
उनकी आमा बिन्दा आठ कक्षा पढेकी थिइन्। घरमा छोरा–छोरीलाई पढाइरहेकी हुन्थिन्।
त्यसपछि गाउँमै एउटा घडेरी किनेर माटोको घर बनाएर बसे। उनको परिवार अहिले त्यही घरमा बसिरहेको छ।
बाबुले छाम्न नसकेको सपना
राकेशले थुप्रै दुःख सहेर पढेका छन्।
अभावका नुनिला आँशु पिएका छन्। दिनभरि मेसिनमा कुदिरहने बाबुको शरीरबाट निस्केको अमिलो पसिनाको गन्धको मर्म थाहा छ उनलाई।
आमाका पट्पटी फुटेका पैतालाले गिज्याएको छ राकेशलाई। गाँठैगाँठा पर्ने गरी सिलाएको पेटिकोटले लज्जित तुल्याएको छ उनलाई।
साइन्सको किताब किन्न धेरै पैसा लाग्थ्यो। कलेजकै कापी किन्नुपर्ने हुन्थ्यो। विज्ञानका सामान किन्न पनि महँगो हुने।
दिदीसँग पैसा हुन्थेन। घरबाट दिन सक्ने अवस्था थिएन।
उनीसँग गाडी चढ्न पैसा हुन्थेन। एक वर्षसम्म राकेशले कलेजमा खाजा नै खाएनन्।
पेट भोको हुन्थ्यो। गोजी रित्तो।
दिदीले १० रुपैयाँ आउन १० रुपैयाँ कलेज जान भनेर २० रुपैयाँ दिन्थिन्। हिँडेर गए कलेज पुग्न ४० मिनेट लाग्थ्यो।
कहिलेकाहीँ उनी खाजा खानुपर्छ भनेर हिँडेरै जाने आउने गर्थे। तर, सधैं हिँड्न पनि सम्भव हुन्थेन।
सरकारी स्कुलबाट पढेको विद्यार्थी। सुरुमा साइन्सका सिद्धान्त बुझ्न उनलाई निकै गाह्रो हुन्थ्यो। पूरै किताब नै घोकिदिन्थे।
त्यही घोकाइले उनलाई विज्ञानका सिद्धान्त बुझ्न सहज बनायो। र, उनी त्यसैमा रम्न थाले।
र, प्लस टुमा डिस्टिंक्सन नै ल्याए।
…
तर, यतिबेला राकेशसामु चुनौती र अवसर दुवै छन्।
उनको घरको धुरीखाँबो ढलेको छ। अर्थात, बाबुको निधन भएको छ।
‘मलाई बुबा–आमाले यत्रो दुःख गरेर पढाउनुभयो। अब खुसी र सुख दिउँला सोचेको थिएँ,’ राकेश भावुक हुँदै भन्छन्, ‘दैवले हाम्रो खुसी हेर्न चाहेन। सुखानुभूति गर्न नपाउँदै बुबाले हामीलाई छाडेर जानुभयो।’
कोरोना संक्रमणबाट राकेशका बाबुको निधन भएको तीन महिना भयो।
बाबु भएको भए उनले अझै धेरै सहयोग पाउँथे। उनको पढाइ पूर्णरूपमा अझै सकिएको छैन।
उनलाई घरको ऋण तिर्ने चुनौती एकातिर छ भने अर्कातिर घर व्यवस्थापन गर्नु पनि। आफ्नो पढाइ र जागिरको मेसो पनि सँगै छ।
…
दसैं–तिहारमा डा. राकेशका दिदीभाइ घर जान सकेनन्।
राकेशको अस्पतालमा इटर्नसिप चलिरहेको थियो।
छोराछोरी गाउँ जान नसक्ने भएपछि तिहारमा उनका बुबाआमा यतै आए।
कतिखेर उनका बुबालाई कोरोना संक्रमण भयो थाहै भएन।
उनको बुबाको कोलेस्ट्रोल पनि निकै उच्च थियो।
‘बुबाको कोलेस्ट्रोल सिभियर लेभलमै थियो।
कहिले आठ सय हुने कहिले १५ सय हुने गथ्र्यो,’ उनले भने, ‘बुबाको आरबिसी पनि धेरै थियो।’
काठमाडौंबाट घर फर्केको चार–पाँच दिनपछि राकेशका बुबालाई सास फेर्न गाह्रो भयो।
राकेशले बुबालाई काठमाडौं बोलाए।
उनले पाटन अस्पताल लगे। त्यहाँ पु¥याउँदा उनको अक्सिजनको मात्रा निकै घटिसकेको थियो। अक्सिजनको मात्रा ८० प्रतिशतमात्रै थियो।
एक्सरे गरेर हेर्दा उनका बुबाको छातीमा ८० प्रतिशत निमोनियाले क्षति पु¥याइसकेको थियो।
गाउँबाट ल्याएकै दिन उनले बुबाको आइसियुमा राखेर उपचार थाले।
भेन्टिलेटरमा राख्दा पनि उनका बुबाको स्वास्थ्यमा कुनै सुधार भएन।
र, मंसिर २९ गते राति साढे ११ बजे उनका बुबाले देह त्यागे।
…
बुबा कोरोना संक्रमित हुँदा उनी आफैं उपचारमा खटिए।
बुबाको प्रर्सनल डाक्टर भएर बसे। औषधी दिनपरे उनी आफैं दिन्थे।
अक्सिजन मिलाउन पर्दा आफैं मिलाउँथे। दिसा, पिसाब पनि उनी आफंै गराउँथे। पूर्णरूपमा उनले बुबाको स्याहारसुसार गरे।
‘अन्तिम दिनसम्म पनि बुबा निकै खुसी हुनुहुन्थ्यो। मैले यति दुःख गरेर पढाएँ, हुर्काएँ, जीवनको अन्तिम क्षणसम्म पनि मेरो छोरा मसँगै छ ठान्नुभएको थियो,’ उनी भन्छन्।
‘मैले बुबालाई बचाउन धेरै कोसिस गरेँ। तर, अहँ! सक्दै सकिनँ।
बुबालाई खुसी दिने सुरुवात भइरहेकै समयमा उहाँले हामीलाई छाडेर जानुभयो। खुसी देख्नै
पाउनुुभएन,’ उनले दुखी हुँदै भने।
उनकी आमालाई पनि कोरोना संक्रमण देखिएको थियो। तर, कुनै लक्षण देखिएको थिएन।
कर्णालीमा सेवा गर्ने हुटहुटी
अहिले उनी इन्टर्नसिपमा छन्। उनलाई जीवनको करिअर भर्खर सुरु भएको जस्तो लाग्दैछ।
इन्टर्नसिपमा बिरामी हेर्ने, बिरामीको अवस्था बुझ्ने काम गरिरहेका छन्।
उनी बिरामीको स्वास्थ्य अवस्थामात्र नभएर आर्थिक, सामाजिक र विकटताका अवस्थामा पनि मिहिनरूपमा ध्यान दिन थालेका छन्।
उनी बिरामीको मनमा बसेर उपचार गर्न चाहन्छन्।
‘जुम्ला, हुम्लाबाट तीन दिन गाडी चढेर बिरामीहरू आएका हुन्छन्। उपचारकै लागि भनेर तीन–चार महिनादेखि पैसा जम्मा गरेर आएका हुन्छन्। बिरामीको त्यस्तो अवस्थाले मलाई छोइरहेको हुन्छ,’ उनी भन्छन्।
बिरामीको यही दुःखलाई बुझ्दै इन्टर्नसिप सकिसकेपछि उनलाई कर्णालीमा पुगेर जनताको सेवा गर्ने मन छ।
एमबिबिएसमात्रै सर्वेसर्वा नभएकाले एमडीको तयारी गर्ने योजनामा उनी छन्।
लोकसेवा खुलेको अवस्थामा उनी त्यता पनि तयारी गर्ने मुडमा छन्।
उनको आर्थिक अवस्था कमजोर छ। पढाइका लागि मात्रै भनेर उनले समय छुट्ट्याउन सक्ने अवस्था छैन। त्यसैले काम गर्दै पढाइ अगाडि बढाउने योजनामा छन् डा. राकेश।
उनी मिर्गौलारोग विशेषज्ञ बन्न चाहन्छन्।

साह्रै मन छोयो । यस्ता लाखौं भुईमान्छेहरु छन यो देशमा।यी प्रतिभावानहरुको पनि जिवन छ भने कुरा जब सम्म राज्यले बुझ्न सक्दैन जति युद्ध, परिवर्तन र जस्तो सुकै नाम गरेको ब्यबस्था आए पनि समृद्ध नेपाल हुन सक्दैन।
डाक्टर राकेश तपाइँको संघर्षका तुफानी दिनहरुले मेरो मुटु भक्कानियो, गला अवरुद्ध भयो, आँखाले आँसु थाम्न सकेन।तपाईं जस्ता होनाहार प्रतिभा अझै अगि बढ्नुपर्छ। तपाईं जस्ता अझै केही युवा डाक्टर भैदिए गरीब जनताका छोराछोरीले अकाल मर्नु पर्दैन।ञ तपाइँको मृगौला रोग विशेषज्ञ (nephrologist) हुने संकल्प अवश्य पूरा हुन्छ। निरन्तर अगि बढ्नुस्, तपाईंको उत्तरोत्तर प्रगतिको शुभकामना।
So proud of you dr.rakeah