‘निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री र शिक्षामन्त्रीले चोर बाटो चाले’

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको कदम आपत्तिजनक भएको आरोप लगाएका छन्।

चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध भएको उनको आरोप छ। ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरूले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ’, डाक्टर केसीले भनेका छन्।

मेडिकल शिक्षाजस्तो मानिसको जीवन–मरणसँग जोडिएको विषयमा भइरहेको अनियमितता निन्दीय भएको डा. केसीले बताएका छन्।

‘काठमाडौं विश्वविद्यालयका उपकुलपतिले कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी आफ्ना राजनीतिक मालिकहरूलाई रिझाउन गरेको प्रयास पनि निन्दनीय छ’, उनले भनेका छन्, ‘नियुक्त भएको एकाध महिनामै यस्ता अवैध काममा संलग्न भएबाट उनी आफूले नेतृत्व गरेको विश्वविद्यालय, त्यसले दिने शिक्षाको गुणस्तर र त्यसको प्राज्ञिक मर्यादाभन्दा भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिज्ञहरूलाई खुशी बनाउनमा लिप्त छन् भन्ने पुष्टि गर्छ।’

पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बिपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस गर्नु कानुन बिपरित भएको उनले बताएका छन्। ‘जबकि कानुनमा कतै त्यस्तो प्रावधान छैन। कुनै संस्थाका भ्रष्ट पदाधिकारीहरूको गठजोड र सत्तामा हुनेहरूको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन सक्दैन। त्यसैले अवैध रुपमा चोर बाटोबाट सम्बन्धन दिलाउने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले सरकारले आफूहरूसँग गरिएका सम्झौता विपरित सरकार गइरहेको बताए।

उनले अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। कानुनअनुसार पहिल्यै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कुनै पनि विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनको जिकिर छ।

‘विश्वविद्यालयको उपकुलपति बनेर विश्वविद्यालयलाई नै अनियमितता र भ्रष्टाचारका अखडा बनाउने केयुका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्छ। यी मागहरू पूरा नभएमा सत्याग्रहसहित आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी गराउन चाहन्छौं’, डा. केसीले विज्ञप्ति मार्फत चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय