सजिलो हेरेर होइन, राम्रोका लागि अस्पताल जाऔं : डा. राणा

मार्क इन्टरनेशनल किड्नी सेन्टरले बृहत निःशुल्क मिर्गौला परीक्षण शिविर, रक्तदान कार्यक्रम तथा वाकाथन कार्यक्रम आयोजना गरी विश्व मिर्गौला दिवस मनाएको छ।

सेन्टरका अध्यक्ष डा‌‌. अर्चन शमशेर राणाले यी कार्यक्रमहरु मिर्गौला दिवसमै मात्र सीमित नभई अन्य दिनहरुमा पनि भइरहेको बताएका छन्।

निःशुल्क मिर्गौला परीक्षण फागुन २३ गतेबाट सुरु गरी चैत्र ७ गतेसम्म विभिन्न जिल्लामा हुने उनले बताए।

‘हामीले दुई वर्ष अगाडि स्वस्थ मिर्गौला स्वस्थ जीवन अभियान सुरु गरेका थियौं। कोरोना महामारीको बेलामा अस्पताललाई समस्या पर्दा पनि मिर्गौलाका विरामीलाई असर पर्न दिएनौं,’ राणाले भने।

नेपाल किड्नी फाउन्डेशनको २०१६ को तथ्यांकअनुसार नेपालमा ३० हजारभन्दा बढी मिर्गौला रोगी छन् भने हरेक वर्ष तीन हजार नयाँ मिर्गौला विरामी थपिन्छन्।

मगौलाका रोगीहरु थपिँदै जानुमा हरेक वर्ष नियमित अस्पतालमा जाँच नगराएका कारण भएको राणाले बताए।

‘हाल नेपालमा सबैभन्दा बढी मिर्गौलापीडित युवाहरु छन्। झण्डै ८० प्रतिशत मिर्गौला बिरामीहरु ३० वर्ष मुनिका युवाहरु रहेका छन्,’ उनले भने।

शिक्षित तथा स्वस्थकर जीवनशैली अपनाए पनि बेलैमा अस्पतालमा उपचार गर्ने बानी नभएकै कारण मिर्गौलारोगीहरु बढ्दै गएको उनी बताउँछन्।

मानिसहरुमा चेतनाको कमी नै मुख्य समस्या रहेको उनले बताए। काठमाडौंका मानिसहरु शिक्षित भइकन पनि वर्षको एक पटक पनि आफ्नो शरीर परीक्षण नगराउँदा धेरै समस्या उत्पन्न हुने र अन्तिम अवस्थामा आइपुग्ने उनी बताउँछन्।

उनका अनुसार धेरैजसो उपचारमा आउने व्यक्तिहरु ९० प्रतिशत मिर्गौला बिग्रेपछि मात्र आउने गरेका छन्।

यदि बेलैमा उपचार गर्न सके दुई देखि ६ वर्षसम्म ९० प्रतिशत रोग निको बनाउन सकिने उनी बताउँछन्।

किन जाँच्नुपर्छ बेलैमा?

  • धेरैजसो मानिसहरुमा ‘ग्लोमेरुलोनेफ्राइटिस’ का कारण मिर्गौला फेल गराउँछ। यस रोगमा शरीरमा रहेको प्रोटिन र रगत पिसाबमा गएर मिसिन्छ।
  • यो रोग हुँदा कतिलाई लक्षण देखाउँछ भने कतिलाई केही पनि देखाउँदैन।
  • प्रायः मिर्गौलामा समस्या हुँदा खुट्टा तथा मुख सुनिने लक्षणहरु देखा पर्दछ भने कतिलाई केही पनि देखाउँदैन।
  • समस्या नदेखाएसम्म मानिसहरु पिसाब तथा अन्य जाँच गराउँदैनन् जसका कारण मिर्गौलालाई विस्तारै असर गर्दछ। सुरुमा भएका समस्याहरुले ५ देखि १० वर्षसम्म उपचार गराइएन भने मिर्गौला फेल हुने सम्भावना रहन्छ।
  • त्यस्तै रक्तचाप तथा सुगरका बिरामीहरु दैनिक औषधी खाइरहे पनि फलोअप जाँच नगराउँदा मिर्गौला फेलहुने धेरै सम्भावना हुन्छ।
  • मिर्गौलामा पानीको फोका आउने समस्या वंशाणुगत रोग हो। यदि घरपरिवारमा यो रोग छ भने सबैले हरेक तीनदेखि ६ महिनामा उपचार तथा परीक्षण गराइराख्नुपर्छ।
  • त्यस्तै मिर्गौलालाई समस्या बनाउने अर्को समस्या हो पिसाबको धारा बन्द हुने। यदि यो समस्या बढ्दै गएमा बिरामीलाई ब्रेन ड्यामेज हुनेदेखि स्ट्रोक पनि हुन सक्छ।
  • लुपसले पनि मिर्गौला सुन्निन्छ। पिसाबको नली सानो हुने रोग भएमा पछि गएर मिर्गौला सुन्निने समस्या बनाउँछ।
  • ‘मानिसहरु स्वास्थ्यका लागि भन्दा पनि आफ्नो सजिलोका लागि मात्र अस्पताल धाउँछन्। जबसम्म रोग लाग्दैन तबसम्म अस्पताल टेक्दैनन् जसले गर्दा रोगले विकराल रुप लिइसकेको हुन्छ,’ राणाले भने।

मिर्गौला बचाउन कस्तो बानी अपनाउने?

  • मिर्गौला जोगाउन धेरै पानी पिउनुपर्दछ। दैनिक तीन लिटर पानी खाँदा स्वस्थ रहन सकिन्छ।
  • चर्को नुन खाने बानी हटाउनुपर्छ। नुन स्वादका लागि मात्र उपयोग हुन्छ। त्यो बाहेक यसको कुनै फाइदा हुँदैन। चिल्लो खानेकुरा कम खाने गर्नुपर्छ।
  • प्याकेट गरिएका जंक फुडहरु सकेसम्म नखाने।
  • मदिरापान तथा धुमपानले मिर्गौलालाई एकदम बेफाइदा गर्छ, त्यसैले यस्ता बानी हटाउनु पर्दछ।
  • जथाभावी औषधि खानुहुँदैन। डाक्टरको सल्लाह र रोगको उपचार नगराई औषधि किनेर प्रयोग गर्ने बानी हटाउनुपर्छ।
  • दैनिक व्यायाम गर्नुपर्दछ। जति नै शरीरिक कष्ट हुने काम गरे पनि दैनिक व्यायाम गर्नुपर्दछ। हिँड्दा पनि फटाफट तथा दौडिने गर्नुपर्दछ।
  • हरेक वर्ष नियमित स्वास्थ्य उपचार गर्नुपर्छ, जसका कारण रोग बेलैमा पत्ता लगाउन सजिलो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय