‘मिर्गौला बिग्रिँदैमा नआत्तिनुस्, प्रधानमन्त्रीले त देश हाँकिरहनुभएको छ’

‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔं’ भन्ने नारासाथ देशभरि विश्व मिर्गौला दिवस मनाइँदै छ।

मिर्गौला रोग लागे पनि मान्छे राम्रोसँग बाँच्न सक्छ भन्ने सन्देश यो नाराले दिन खोजेको छ।

मिर्गौला रोगको निदान पनि छ। उपचार पनि छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै आत्मविश्वासलाई उदाहरणका रूपमा लिएर धेरै मिर्गौला रोगीले बलियो आत्मविश्वाससाथ जीवन बिताउन सक्छन्।

दुईपटक मिर्गौला प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरेर पनि उहाँले देश हाँकिरहनुभएको छ। उहाँ त एउटा पात्रमात्रै हो। यस्ता धेरै बिरामी छन्। जसले उच्च आत्मविश्वाससाथ सक्रिय जीवन बिताइरहेका छन्।

मिर्गौला रोग लाग्दैमा सबै सकियो भन्ने सोच्नु हुँदैन। यसविरुद्ध लडेर हामीले सक्रिय जीवन जिउन सक्छौं।

रोकथामको कुरा गर्दा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु ठूलो कुरा हो।

त्यसका लागि मिर्गौलालाई असर पुर्‍याउने कुराबाट बच्नुपर्छ।

मिर्गौलालाई मधुमेहले निकै असर गर्छ। ब्लडप्रेसरले पनि मिर्गौलालाई असर पुर्‍याइरहेको हुन्छ।

मानिसले म पेल्छु, एक्सरसाइज गर्छु भनेर लामो समयसम्म औषधी खाँदैनन्। यस्तो अवस्थामा प्रेसरले मिर्गौलालाई बिगार्छ।

अहिले मिर्गौला बिग्रिएको कारण खोज्दै जाने हो भने ‘कमन’ कारण भनेकै यी दुई हुन्। यी दुई कुरालाई नियन्त्रण गर्न सक्यौं भने हामी मिर्गौलालाई धेरै हदसम्म जोगाउन सक्छौं।

मिर्गौला बिग्रिन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ। हरियो सागपात खानुपर्छ। दैनिक व्यायाम गर्नुपर्छ।

सुत्नेदेखि खानेसम्मको दैनिकीलाई हामीले नियमित गर्नुपर्छ।

मिर्गौलालाई हानी गर्ने जाँडरक्सी जस्ता पदार्थ सेवन गर्नु हुँदैन।

यसका अलावा कसैको जन्मजात नै मिर्गौलामा समस्या हुनसक्छ। कतिको मिर्गौलामा पत्थरी भएर ढुंगाले बिगार्छ।

पत्थरी भइसकेपछि बेलैमा उपचार गर्नुपर्छ। मलाई दुख्दैन भनेर बेवास्ता गर्नु हुँदैन। ढिलोगरी उपचार गर्न आउँदा त्यतिबेलासम्म मिर्गौला बिग्रिसकेको हुनसक्छ।

मिर्गौला बिग्रिन नदिन यस्ता समस्याको बेलैमा उपचार गर्नुपर्छ। वर्षमा एकपटक अनिवार्य मिर्गौला जाँच गर्नुपर्छ।

यसरी नियमित जाँच गर्दा मिर्गौलामा कुनै समस्या भए बेलैमा उपचार गर्न सकिन्छ।

मिर्गौलाले प्रोटिन फाल्न थाल्छ। कतिपय मानिसले मिर्गौलाको बायोप्सी गर्नु हुँदैन भनिरहेका हुन्छन्। चिकित्सकको सुझावअनुसार अगाडि बढ्नुपर्छ।

‘जेनेटिक’ लाई हामीले रोक्न नसके पनि पछि हुने समस्याबाट जोगिन हाम्रो दैनिकीलाई व्यवस्थित नै हो बनाउने।

डा. चालिसे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय