मानसिक रोगको कारण बन्न सक्छ गाँजा

आज फागुन त्रयोदशी। आज धनिष्टा नक्षत्र र शिवयोग नै परेको छ।

आर्य समाजका प्रवर्तन दयानन्द सरस्वती शैव सम्प्रदायमा जन्मिएका थिए। त्यो शिवलाई मान्य सम्प्रदाय हो।

शिव सम्प्रदायका मान्छे आजको दिन उपवास बस्ने गर्छन्। आज शिवको जन्म भएको हो।

तर, म त भन्छु शिव तत्व र कृष्ण तत्वको न कहिले जन्म हुन्छ, न कहिले मृत्यु।

दयानन्द सरस्वती शिवरात्रिका दिन १२ वर्षको उमेरमा भोको थिए। त्यहीबेला उनले एउटा अचम्मको दृश्य देखे।

शिवलिङ्गमा चढाइएको प्रसाद खान मुसो चढेछ। मुसोले त्यहाँ भएको सबै चिज खाइरहेको थियो। दयानन्दले मुसोलाई धपाउने प्रयास गरे। तर, मुसो भागेन। सबै खाइसकेपछि मात्रै गयो।

त्यसपछि उनको मनमा केही खान नसक्ने मूर्तिका लागि हामी भोको किन बसेका छौं भन्ने लाग्यो। र, सोचे वास्तवमा यो शिव तत्व के हो?
त्यसपछि उनी शिव तत्वको खोजीमा लागे। त्यसैले आजको दिन आफूभित्रको शिव तत्व खोज्ने दिन हो।

मैले कुनै आस्थामाथि प्रहार गर्न खोजेको होइन। यो उदाहरण मलाई सधैं प्यारो लाग्छ।

शिवरात्रिमा दाउरा चोरेर बाल्नेजस्ता कुप्रथा समाजमा व्याप्त छन्। म सानो हुँदा मेरो एकजना साथीको दाउरा चोर्ने क्रममा सर्पले डसेर ज्यान गएको थियो।

शिव भनेको आनन्द हो। परम चैतन्यको नाम हो। मस्तिष्कको नाम हो।

त्यहाँ कहाँबाट भाङधतुरनेको कुरा आउँछ। भाङधतुरो खान शिवलाई किन बहाना बनाएको?

यो विषयको बहस संसदमा चलिरहेको छ। यसको सेवन र खेती अनिवार्य हुनुपर्छ भनेर विरोध खतिवडाजस्ता व्यक्ति यो मुद्दालाई लिएर हिँडिरहेका छन्। यो प्रसंगमा विरोध खतिवडाको म विरोध गर्छु।

मकहाँ डिप्रेसनग्रस्त भएर आउने युवामध्ये ९० प्रतिशत गाँजाभाङ सेवनकर्ता हुन्छन्। अन्य कारणले आएका भन्दा उनीहरूलाई निको बनाउन मलाई गाह्रो हुने गरेको छ।

औषधीका रूपमा प्रयोग हुन्छ भनिन्छ। त्यो कुरा साँचो हो। यसमा ‘मारिजुआना’ भनिने तत्व हुन्छ। त्यसले औषधीको काम गर्छ। तर, अतिसेवन गर्दा त्यो नशाको रूपमा परिणत हुन्छ।

मेरो एकजना अंग्रेजी पढाउने प्राध्यापक साथीले एक दिन बियर खान मन गरे। खानुस् भन्दा उहाँले एक–दुई प्याक गर्दा गर्दै ‘अनलिमिटेड’ पिउनुभयो।

नशालाई प्राध्यापकजस्तो मान्छेले त बसमा राख्न सक्नुभएन। अनि, अहिले युवाले सक्छन् त? त्यसैले नशाको ‘लिमिटेसन’ हुँदैन।

एचआइभी एड्सको औषधीमा पनि मारिजुआनाको प्रयोग भएको हुन्छ भनिन्छ। क्यान्सरको औषधीमा पनि गाँजामा हुने केही तत्व हुन्छ भनिन्छ। तर, त्यसको लिमिटेसन हुन्छ।

त्यसको फाइदाभन्दा बेफाइदा धेरै हुन्छ। त्यसैले म त्यसको विरोध गर्छु। शिवजीले गाँजाको सेवन कहिल्यै गर्नुभएन। गाँजा शिवको प्रसाद होइन।

एकजना हास्यकलाकार मेरो शिष्य हुनुहुन्छ। उहाँले शिवरात्रिलाई इष्टदेव हुन् भन्नुहुन्छ। मलाई एक दिन ‘मैले माछामासु छाडेँ, जाँडरक्सी छाँडे, चुरोट, सुर्ती छाँडे तर एकपटक गाँजा खान पाउँन’ भन्नुभएको थियो। मैले ‘मलाई सोधेको हो भने एक दिन पनि गाँजा खान छुट छैन’ भनेको थिएँ।

एक दिनको चोर सधैंको चोर हुन्छ। एक दिन खाने सधैं खाने हुन सक्छ। त्यसैले नखानुस् भनेको थिएँ। भारतमा पनि हास्यकलाकारहरूले गाँजा खाने गरेको सुनिएको छ।

हास्यकलाकार होस् वा अन्य जो कोही, गाँजा खानु हुँदैन। पेट्रोल हालेर आगो निभ्दैन। झन्–झन् दन्किन्छ।

अथर्व बेदले महान पाँच विरुवामध्ये औषधीका रूपमा गाँजालाई एक भनेको छ। त्यसमा नियन्त्रण नहुने भएकाले गाँजा सेवन नशाका रूपमा प्रयोग हुन्छ।

गाँजा सेवन गर्दा भ्रम पैदा हुन्छ। मानसिक समस्या हुन्छ। मानिस भुल्ने हुन्छ। यसमा सिएससी र सिबिबी भन्ने तत्व हुन्छन्। त्यसले अलिअलि आनन्द दिएजस्तो गर्ने हो। त्यो आनन्द तुच्छ हुन्छ। तर, ध्यानबाट प्राप्त हुने आनन्द सास्वत आनन्द हो।

यसको सेवनले अर्थ नास गर्छ। शारीरिक र मानसिक दृष्टिकोणबाट क्षति गर्छ। स्वासका रोगी, दमका रोगी, गर्भवती महिलाले यसको सेवन गर्नु नै हुँदैन।

गाँजा सेवन गर्दा नशा लाग्यो भने बेलपत्रको सेवन गर्न सकिन्छ। गाँजा छुटिरहेको छैन भने मजाले प्राणायाम गरेर मोही खानुपर्छ।

कोलम्बिया युनिभर्सिटीमा भएको एक अध्ययनले गाँजाको फाइदा फेला पार्‍यो। र, त्योभन्दा बढी बेफाइदा फेला पार्‍यो। त्यसैले म त भन्छु– गाँजाको सेवन गर्नु नै हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय