सुदूरको स्वास्थ्य हाक्ने गुणराजको निवेदन- मेरो सरुवा दुर्गम दार्चुला गरियोस्
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देश डा. गुणराज अवस्थीले आफ्नो सरुवा दुर्गमको गाउँपालिका मातहतको अस्पतालमा गरिदिन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका छन्।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अस्पताल स्थापना गर्ने कार्य अगाडि बढेकाले उक्त अस्पता आफू जान इच्छुक रहेको भन्दै उनले निवेदन दिएका हुन्।
‘मेरो जन्म घर पनि त्यही हो। जुनसुकै अस्पतालबाट पनि जनताको नै सेवा गर्ने हो,’ उनले भने, ‘अस्पताल सानो ठूलो हुँदैन। सेवाभाव ठूलो कुरा हो।’
ऐन अनुसार गाउँपालिका स्तरको अस्पतालमा एमबिबिएस स्तरको डाक्टर आवश्यक हुने भएकाले आफू दार्चुला जान तयार रहेको उनी बताउँछन्।
‘मैले घर पाइक सरुवा मागेको हुँ। दुर्गममा कोही जान चाहदैनन्। तर, म जान चाहन्छु। दुर्गममा पुगेर सेवा गर्न चाहन्छु। सबैले सुगम रोजे दुर्गमका जनताको सेवा कसले गर्ने?,’ उनी प्रश्न गर्छन्।
पालिका तहको स्वास्थ्य संस्थामा आफू जत्तिको मान्छेले जान खोजे मात्रै नेपालको स्वास्थ्य क्षेत्र अगाडि बढ्ने उनले बताए।
‘काठमाडौंमा मात्रै बस्न चाहने। वीरमा काम गरेर टिचिङमा जान नचाहने, भक्तपुरमा जान नचाहने परिपाटी छ। जुन गलत हो’, उनी भन्छन्।