स्वास्थ्य हाँक्ने महिला ‘कमान्डर’!

कुनै बेला महिला डाक्टर पाउनै मुस्किल हुन्थ्यो। चिकित्सा क्षेत्रमा पुरुषको बाहुल्य थियो।

स्त्रीरोग विशेषज्ञ पनि पुरुष नै हुन्थे। अहिले स्त्रीरोग विशेषज्ञमा महिला संख्या बढ्दै गइरहेको छ।

त्यतिमात्र होइन। अचेल मुलुकका केही प्रमुख अस्पताल र विश्वविद्यालय पनि महिला स्वास्थ्यकर्मीले हाँकिरहेका छन्।

आममानिसमा महिला स्वास्थ्यकर्मी भन्ने बित्तिकै नर्सको चित्र घुम्छ।

स्वास्थ्य क्षेत्रमा केही यस्ता महिला ‘कमान्डर’ छन्। जसले आफ्नो विशेषज्ञतालाई मात्र कुशलतापूर्वक निर्वाह गरिरहेका छैनन्, सफल रूपमा अस्पताल प्रशासन पनि हाँकिरहेका छन्।

आज १११औं अन्तर्राष्ट्रिय नारी दिवस। हेल्थपोस्टनेपालले नारी दिवसका अवसरमा चिकित्सा क्षेत्रका केही प्रतिनिधि कमान्डरको अरोह–अवरोहको कथा प्रस्तुत गर्छ।

तिनैमध्येका प्रतिनिधि पात्र हुन्, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) हाँकिरहेकी डिन डा. दिव्या सिंह शाह, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालकी कमान्डर डा.संगिता मिश्रा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रूना झा र भक्तपुर अस्पतालकी नेतृत्वकर्ता मेसु डा. सुमित्रा गौतम।

आइओएम हाँकिरहेकी डा. दिव्या

डा. दिव्या सिंह

डा. दिव्या सिंह नेपाली चिकित्सा क्षेत्रकी एक सफल महिला हस्ती हुन्।

मिर्गौला रोगमा विशेषज्ञता हासिल उनी प्रधानमन्त्री केपी शर्मा ओलीकी स्वास्थ्य चिकित्सक पनि हुन्।

त्यतिमात्र नभएर डा. सिंह एक सफल प्रशासक पनि हुन्। आइओएम डिनको जिम्मेवारी पनि उनको काँधमा छ।

महिलालाई नेतृत्व तहमा जान पुरुषसरह सहज नभएको डा. शाह बताउँछिन्।

‘महिला नेतृत्व तहमा पुग्न पुरुषभन्दा चार गुणा योग्य हुनुपर्छ,’ शाहले भनिन्, ‘समाजले महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन।’

महिला नेतृत्वमा पुग्दा क्षमताले नभई दयामायाले पुगेको व्यवहार समाजमा अझै व्याप्त रहेको उनी बताउँछिन्।

उनी महिलाको कामलाई तल्लो दृष्टिकोणबाट हेर्ने बानी अझै रहेको दुखेसो पोख्छिन्।

समाजमा ‘महिलाले काम गर्न सक्छन् र?’ भन्ने दृष्टिकोण कायमै रहेको उनी बताउँछिन्।

महिलालाई सक्षम बनाउने आफ्नो इमान्दारिता र कठोर परिश्रम भएको उनको बुझाइ छ।

अब्बल प्रशासक डा. मिश्रा

डा. संगीता मिश्रा

कोरोना कहरमा चीनको उहान जलिरहेको थियो। युरोप र अमेरिकामा महामारीको आगो सल्किँदै थियो।

नेपालमा परीक्षण त सुरु भएको थियो, तर उपचारको भर थिएन।

प्रदेश १ र २ पहिलो चरणको महामारी चपेटामा थिए। अस्पताल प्रत्येक बिरामीलाई कोरोना संक्रमितका आँखाले हेर्दै गेटबाटै फर्काउँदै थिए। त्यसमा पनि जोखिम क्षेत्रबाट आएका र ज्वरोका बिरामी त उपचार नै नपाएर मर्नुपर्ने अवस्था थियो।

त्यही समयमा स्वास्थ्य मन्त्रालयले कोशी अञ्चल अस्पतालमा कुशल व्यवस्थापन देखाएकी डा. संगीता मिश्रालाई परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालको नेतृत्वमा ल्यायो।

डा. मिश्राले अठोट प्रदर्शन गरिन्, ‘म अस्पतालमा आइपुगेपछि एकजना बिरामी पनि उपचार नपाएर फर्किन दिन्नँ।’

उनको काम गर्ने कुशलण्ताका कारण आज प्रसुती अस्पतालबाट कुनै बिरामी फर्कनुपरेको छैन।

‘काम गर्ने तत्परता पनि भयो भने नतिजा दिन सकिन्छ। अझै महत्वपूर्ण कुरा योग्यता नै हो,’ डा. मिश्रा भन्छिन्।

‘महिला भएर नेतृत्व लिन पक्कै असहज छ। तर, काम गर्ने चाहना, मेहेनत र क्षमता भएपछि केही कुराले फरक पार्दैन,’ डा. मिश्रा भन्छिन्, ‘मलाई कहिल्यै पनि यो काम गर्न सक्दिन कि भन्ने महसुस नै भएन।’

उनका अनुसार अझै पनि सामाजिक दृष्टिकोणबाट हेर्दा एउटा महिलालाई नेतृत्व दिन समाज परिपक्व भएको छैन।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मिश्रा भारतमा जन्मिएकी थिइन्। उनको प्रारम्भिक शिक्षा पनि त्यहीँ भयो। एमबिबिएस राजेन्द्र मेडिकल कलेजबाट सकिन्।

एमबिबिएसपछि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई वर्ष काम गरिन्।

यहीबीच सरकारी सेवामा उनको प्रवेश भयो। त्यसपछि एक वर्ष कान्ति बाल अस्पतालमा काम गरेपछि एमडीका लागि छनोट भयो।

डा. मिश्राको गाइनोकोलोजीमै एमडी गर्ने रुची पनि थियो। त्यो अवसर बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाइन्।

त्यसपछि पहिलो सरकारी जागिरबाट राजीनामा गरेर धरान पढ्न गइन्। धरानमा तीन वर्षको एमडी सकेपछि त्यहीँ काम सुरु गरिन्।

लगत्तै छात्रवृत्तिमा अमेरिकामा जनस्वास्थ्य पढ्न आवेदन दिइन्। पहिलोपटककै आवेदनमा छनोट भइन्। अमेरिकाबाट जनस्वास्थ्य विषयमा मास्टर्स’ गरेर पनि फर्किन्।
फर्किसकेपछि पहिलो अवसर कोशी अस्पताल विकास समितिले दियो। त्यहीबीच लोकसेवा खुल्लाबाट ११औं तहमा नाम निस्कियो।

दोस्रोपटक सरकारी सेवामा नाम निकालिन्। त्यसपछिको पोस्टिङ रोजेरै विराटनगर गइन्। हाल प्रसुतीमा कार्यरत छिन्।

कोरोना कहरकी नेतृ डा. रुना

डा. रुना झा

डा. रुना झा मुलुकको कोभिड–१९ प्रयोगशालाका प्रमुख प्याथलोजिस्ट तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन्।

कोभिड–१९ परीक्षणमा उनको योगदान महत्वपूर्ण छ।

नेपालमा माघ १४ गते कोरोना भाइरस पुष्टि भयो। त्यसपछिका दिन धेरै कष्टकर थिए। तर, चुनौती पार गर्दै महामारीसँग जुध्दै कुशल नेतृत्वको भूमिका डा. झाले खेलिन्।

आफैं नमुना परीक्षणको फ्रन्टलाइनमा समेत खटिन्।

राष्ट्रिय जनस्वास्थ्य स्वास्थ्य प्रयोगशालाले हजारौं नमुना परीक्षण गरिसकेको छ।

नारी दिवसलाई डा. झा अझै पुरुष र महिलामा समानता नभएको प्रष्ट पार्छिन्।

महिलाहरू नेतृत्वमा पुग्न एकदमै गाह्रो हुने र अझै स्वास्थ्य क्षेत्र महिलाका लागि एकदमै चुनौतीपूर्ण रहेको झाको अनुभव छ।

‘एक त महिलालाई नेतृत्व दिन नै चाहँदैनन्। महिलालाई ३३ प्रतिशत समानता दिएरमात्रै हुँदैन,’ उनी भन्छिन्, ‘काम गर्न वातावरण पनि दिन सक्नुपर्दछ। जसका कारण महिलाले राम्रो नेतृत्व लिन सकुन्।’

नेतृत्वदायी भूमिकामा धेरै कम महिला हुने गर्दछन्। जसको प्रमुख कारण कार्यालयभित्रै हुने राजनीति हो। यस्तो राजनीति कार्यालय समयपछि हुने गरेको छ।

‘अफिसको राजनीति डिउटी आवरपछि हुने गर्छ रे। महिला त्यस समयमा बस्न सक्दैनन्,’ उनी भन्छिन्, ‘अफिस छुट्टी हुने बित्तिकै घर जान बित्छ। जसका कारण महिला लिडरसिपमा पछि नै हुन्छन्।’

डा. झाको कार्यकक्षमा केही सेवाग्राहीले निर्देशक खोज्दै जान्छन्।

डा. झाले ‘म नै निर्देशक हो’ भन्दा धेरैले पत्याउँदैनन्।

‘डाक्टर साब कहाँ हुनुहुन्छ भन्दै सेवाग्राही आउने गरेका छन्। म नै हुँ भन्ने जवाफ फर्काउँदा धेरैले पत्याउँदैनन्,’ उनी भन्छिन्, ‘अझै पनि समाजमा महिला तल्लोस्तरमा हुन्छन् भन्ने मानसिकता छ।’

नामै नलिने अस्पतालको मुहार फेर्ने डा. सुमित्रा

डा. सुमित्रा गौतम

एक वर्षअघि मंसिरमा डा. सुमित्रा गौतमले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रूपमा भक्तपुर अस्पतालको ‘कमान्ड’ सम्हाल्दा स्वास्थ्य मन्त्रालयको मूल्यांकनमा ३८ अंक प्राप्त अस्पताल थियो।

जुन अस्पतालको न्युनतम सेवा मापदण्डभन्दा एकदमै कमजोर हो।

सरुवा भएर आएको एक वर्षमै डा. गौतमले अस्पतालको मुहार फेर्न धेरै आरोह–अवरोह पार गरिन्।

चार–पाँच महिना उनलाई अस्पतालको अवस्था बुझ्नै लाग्यो। जताजतै समस्या। बिरामीले सेवा पाउनै सकस।

उनको पहिलो कदम अस्पतालका कमजोरी पत्ता लगाउने थियो।

अस्पताल सुधार गर्न उनले पहिलो काम अस्पतालको देब्रेपट्टि रहेको ‘दिक्दारलाग्दो’ जमिनमा ‘रहरलाग्दो’ पार्क बनाउन लगाइन्। यसले अस्पतालको अनुहारमा थप चमक ल्यायो।

बिरामी बस्ने ठाउँ, परीक्षणका लागि पालो कुर्ने जस्ता सबै कुरालाई व्यवस्थित गर्दै गइन्।

अस्पतालमा भएका अनियमितता र बेथितिलाई सुधार गरिन्। जसका कारण एक वर्षमा अस्पतालको मुहार फरक बन्यो।

पहिला बेथितिको चंगुलका रूपमा रहेको अस्पताल एक वर्षको बीचमा बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्यो।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालले गर्दै आएको सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गर्दै उत्कृष्ट स्थान हासिल गर्‍यो।

महिला नेतृत्व तहमा पुग्न सर्वप्रथम महिलाकै सहयोग आवश्यक पर्ने डा. गौतमको भनाइ छ।

‘परिवारको सहयोगका साथसाथै आँट र अठोट हुनुपर्दछ। कुनै पनि कुरा गर्दा पहिलो कुरा दृढ संकल्प हुनुपर्दछ,’ डा. गौतम भन्छिन्।

महिलाले गरेको हरेक काम प्रमाणित गर्नुपर्ने उनको अनुभवले देखाएको छ।

यस्तो काम गरेर अस्पताल सुधार गर्छु भन्दा कमै मान्छेले मात्र डा. गौतमको विश्वास गरेका थिए।

‘मलाई विश्वास दिलाउन केही समय लागेको थियो। ताकि मेरो ठाउँमा कोही पुरुष हुन्थ्यो भने त्यो समय खर्चनुपर्ने थिएन,’ उनी भन्छिन्, ‘अझै पनि महिलाले गर्ने कामप्रति समाजको विश्वास न्यून नै छ।’

भक्तपुर अस्पतालमा सबै कर्मचारीले काम गर्दैनन् भन्ने सुन्दा–सुन्दा उनी वाक्क भएकी थिइन्।

डा. गौतमका अनुसार अस्पताल परिवर्तन हुनुमा संघियता पनि एक कारण हो।

अस्पतालको मुहार फेरिनुमा सबै कर्मचारीको साथ सहयोग अनि विकास समितिबाट आफूले राम्रो सहयोग पाएको डा. गौतम बताउँछिन्।

नवलपरासी सुनवलमा मध्यमवर्गीय परिवारमा डा. गौतम जन्मिएकी थिइन्।

त्यहीँको ज्ञानोदय माविबाट एसएलसी गरेपछि विज्ञानमा १२ कक्षा उत्तीर्ण भइन्। अनि उनलाई डाक्टरी पढ्न रहर लाग्यो। अर्धछात्रवृत्तिमा नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएस गरिन्।

नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) बाट एमडी गरिन्।

त्यसपछि उनले आफ्नो सरकारी सेवा सिरहा मिर्चैयास्थित अस्पतालबाट सुरु गरिन्। र, त्यसपछि उनी निरन्तर स्वास्थ्य सेवामा तल्लिन छिन्।

 

2 thoughts on “स्वास्थ्य हाँक्ने महिला ‘कमान्डर’!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय