भक्तपुरको एकै वडामा दुई सय बढी कुकुर, छैन २७ लाई भ्याक्सिन

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ फागुन २४ गते ११:५८

भक्तपुर नगरपालिका–७ मा कुकुरको तथ्यांक संकलन सकिएको छ। माघ २१ देखि सो वडामा कुकुरको तथ्यांक लिन थालिएको थियोे।तथ्यांकमा ७ नं वडामा मात्र २ सय २३ कुकुर पालिएको जनाइएको छ। जसमा १ सय ९६ कुकुरलाई मात्र रेविजको भ्याक्सिन लगाइएको छ। बाँकी २७ वटालाई भ्याक्सिन लगाइएको छैन।

वडामा भाले कुकुर १ सय १९, पोथी १ सय ४ रहेका छन्। बन्ध्याकरण गरिएका पाँच छन्। वडामा भ्याक्सिन लगाइएका १ सय ५३ र आफैं लगाएकोमा ४३ रहेका तथ्यांकमा उल्लेख छ।

तथ्यांक संकलनमा संलग्न डाक्टर पंकज खनालले सो वडामा १० प्रजातीका कुकुर पालिएको बताए। सबै वडामा तथ्यांक संकलन सकिएपछि भुस्याहा कुकुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाइने उनले बताए।

उनले केही वर्षदेखि सडकमा भएका कुकुरहरुलाई रेविजको सुई लगाउने काम भइरहेको बताए। उनले सडकमा छोडिने कुकुरहरु घरमा पालेर पछि मन नलागेपछि वा अशक्त भएपछि छाड्ने गरिएको बताए। त्यसैले यसवर्ष घरमा पालेका कुकुरहरुको तथ्यांक संकलन गर्ने र ट्याग लगाइदिने कार्य सुरु गरेको उनले बताए। त्यस्तै अर्को चरणमा भक्तपुर नगरपालिका–९ मा तथ्यांक संकलन गर्ने योजना रहेको उनले सुनाए।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले कुकुरको रेकर्ड राख्न अभियान सुरु गरिएको बताए। त्यसका लागि ६/६ जनाको दुई समूह बनाइएको छ।

भक्तपुरका १० वटै वडामा तथ्यांक संकलन गर्ने योजना भएको कवांले बताए। उनले भने, ‘यसपछि कुकुरलाई कसरी पाल्ने, कुकुरको फोहर कसरी व्यवस्थापन गर्ने विषयमा तालिम पनि दिने योजना छ।’

कुकुर समय र पैसा दुवै नभएका व्यक्तिले पाल्न नसक्ने उनी बताउँछन्। सूर्यविनायकस्थित भेट फर एयर पेट क्लिनिकको सहकार्यमा काम भइरहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय