विवाहकाे भोलिपल्टै विष सेवन, ६६ दिनपछि प्रेमीको मृत्यु

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले यतिबेला निक्कै चर्चा बटुलेको छ। कारण काठमाडौँमा विवाह गरेर अनिशा आफ्नै घर फर्किएपछि कञ्चनले विष पिएर आत्महत्याको प्रयास गरेका थिए।

कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम सम्बन्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अलग गराइ दिएपछि कञ्चनले २ महिनाअघि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विष सेवन गरेको ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको उपचारका क्रममा भरतपुर अस्पतालमा (आज) मृत्यु भएको छ। कञ्चनको मृत्यु भएपछि मृतकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरेका छन्।

जसका कारण उक्त स्थान तनावग्रस्त बनेको छ। अनिशाको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ। स्थिति तनावग्रस्त भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर समेत गरेको छ।

स्थानीयवासीका अनुसार मृतक कञ्चनको शव पोष्टमार्टमपछि काजकिरिया गर्न भन्दै केटीको परिवारलाई बुझाउन खोज्दा अनिशालाई लुकाएपछि तनावग्रस्त बनेको हो।

स्कुल पढ्न गएकी अनिशालाई स्कुलबाट परिवारले लुकाएको आरोप लगाउँदै मृतकका आफनतले विरोधको क्रममा परालको टौवामा आगो लगाएको प्रहरीले जनाएको छ।

अहिले पनि उक्त ठाउँमा व्यापक प्रहरी परिचालन भएको छ।

घटना के थियो?

गत पुस २० गते उनीहरुले खुसीसाथ भागेर विवाह गरेका थिए। सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समयसम्म टिक्न सकेन।

चितवनवाट काठमाडौं आएर कञ्चनको आमाको अगाडि विवाह गरेको भोलिपल्टै अनिशाको परिवारले स्वीकार्ने सर्तसहित उनीहरुलाई बोलाए।

अनिशाको घर पुगेलगत्तै कञ्चनलाई यातना दिन थालियो। उनलाई प्रहरी कार्यालय लगियो। प्रेमिकाबाट अलग गराइयो। परिवारको दबाबमा अनिशाले कञ्चनलाई आफूले प्रेम नगरेको प्रहरीसमक्ष बयान दिइन्।

त्यसपछि कञ्चनलाई त्यत्तिकै छाडियो। त्यो सबै अवस्था कञ्चनले सहन सकेनन्। कोठामा फर्किएर विष खाए।

लामो समयसम्म उनको आइसियुमा राखेर उपचार भयो। लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेन्।

तर, जति नै उपचार गरे पनि अन्त्यमा उनले संसार छाडे ।

फेसबुकबाट भएको थियो चिनजान

अनिशाको र कञ्चनको चिनजान फेसबुकमार्फत् भएको थियो। विस्तारै उनीहरु फेसबुकमार्फत् नै मायाप्रेमको सम्बन्धमा जोडिएका थिए।

सहमतिमै उनीहरुले बिहे गरेको खुल्न आएको प्रहरीले जनाएको छ। फेसबुक म्यासेन्जरमा उनीहरुले बिहे गर्न लागेको कुराकानी गरेका थिए।

उनीहरुले विवाह गरेको भिडियोदेखि फोटोहरु सबै सार्वजनिक भइसकेको छ।

तर कञ्चनले काठमाडौँ लगेर जबर्जस्ती सिन्दुर लगाइदिएको आरोप लगाएकी थिइन्। कञ्चनले जबर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्‍याइदिने भनेपछि आफूले त्यसो गरेको अनिशाले भनेकी थिइन्।

त्यसपछि घटनाले अर्कै मोड लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय