ज्येष्ठ नागरिकलाई कोरोना खोप : कसले लगाउने ? कसले नलगाउने ?

हेल्थपोस्ट नेपाल

आजदेखि दोस्रो चरणको खोप कार्यक्रम सुरू भएको छ। यो चरणमा सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिँदैछ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ।

दोस्रो चरणकाे पहिलाे प्राथमिकतामा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमका आधारमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ।

खोप जीवनरक्षाका लागि लगाउने गरिन्छ। अधिकांश ज्येष्ठ नागरिकमा दीर्घरोग हुने भएकाले खोपको डर र दुविधा अझै हटेको छैन।

यदि कोरोना महामारीको अर्को लहर सुरु भयो वा सुषुप्त अवस्थामा रहेको कोरोना संक्रमण स¥यो भने जीवनको जोखिम हुने ज्येष्ठ नागरिक र दीर्घ बिरामीलाई हो। तसर्थ खोपका अत्यावश्यक समूह ज्येष्ठ नागरिक हुन्।

खोप लगाएपछि कस्ता सामान्य लक्षण देखिन सक्छन् ?

खोप लगाएपछि रिंगटा लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने, टाउको दुख्ने, जाडो हुने, जोर्नी दुख्ने, सुई लगाएको ठाउँमा दुख्नेलगायत असर देखिन सक्छन्।

खोप विज्ञ डा. श्यामराज उप्रेती जुनसुकै खोप लगाउँदा सामान्य असर देखिन सक्ने बताउँछन्।

‘जुनसुकै खोप लगाउँदा सामान्य असर देखिन सक्छ। तर, केही सामान्य असर देखा पर्दैमा डर मान्नु पर्दैन,’ उनी भन्छन्।

उनका अनुसार पारासिटामोल लगायतका औषधि तथा आरामले यो अवस्था २–४ दिनमा ठिक हुन्छ । लाखौंमा १ जनालाई खोपको रियाक्सन हुनसक्छ। यस्तो घटना

कसलाई हुन्छ भन्ने थाहा हुँदैन।

कस्ता व्यक्तिले खोप लगाउन हुन्छ?

दीर्घ रोग जस्तै मुटु, मस्तिष्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर भएका बिरामीले खोप लगाउन हुन्छ।

त्यसैगरी, पहिला कोरोना संक्रमण भएका व्यक्ति, रोग प्रतिरक्षा शक्ति कमी भएका व्यक्ति, एचआईभी भएका तथा बालबालिकालाई स्तनपान गराइरहेका आमाहरूले पनि खोप लगाउन पर्छ।

कसले खोप लगाउनु हुँदैन ?
विगतमा कुनै खोप, औषधि वा खानाले गम्भीर असर देखिएका व्यक्ति, १८ वर्षभन्दा मुनिका बालबालिका, गर्भवती महिला, कोरोना खोपको पहिलो मात्रापछि गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन।

त्यसैगरी, अहिले ज्वरो, रुघाखोकी, कोरोना संक्रमण वा अन्य कारणले बिसञ्चो भइरहेका व्यक्ति, सिकिस्त बिरामी, कोभिड निमोनिया भएर आईसीयूमा बसेका तथा हालसम्म पनि समस्या भएका व्यक्ति आदिले अहिले नलगाउनु उचित हुन्छ ।

कुन–कुन रोग भएका वा औषधि सेवन गरेका व्यक्तिले खोप लिने?

उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, थाइराइडको समस्या, प्रोस्टेटको समस्या आदि भएर औषधि खाइरहेका व्यक्तिले खोप केन्द्रमा परामर्श गरेर खोप लिन हुन्छ ।
रगत पातलो गराउने एस्पिरिनलगायत औषधि सेवन गरेका व्यक्तिले खोप लगाउन हुन्छ।

रगत पातलो गर्ने तथा दमको औषधि लिइरहेका व्यक्ति, एकपटक हृदयाघात भएका व्यक्ति, मुटुमा स्टेन राखेका, सिकलसेल एनेमिया वा प्लेटलेटको समस्या भएका व्यक्ति आदिले आफ्नो चिकित्सकसँग सम्पर्क गरेर मात्र खोप लिनु राम्रो हुन्छ ।

खोप लगाएपछि के खानु हुँदैन ?

खोप लगाएपछि जाँडरक्सी कम्तिमा पनि २ महिना नखाँदा राम्रो हुन्छ।

रक्सीले शरीरमा पानीको कमी गर्ने तथा इम्युनिटी पावर बढ्ने प्रक्रियामा नकारात्मक भूमिका खेल्न सक्छ।

अन्य खाना सबै खान सकिन्छ। आफूले सेवन गरिरहेका औषधि छोड्नु हुँदैन ।

खोप लगाउँदा वा लगाएपछि के गर्ने ?
खोप केन्द्रमा जाँदा मानसिक रूपमा तयार भएर तथा आत्मबल बढाएर मात्र जानुपर्दछ। डर, चिन्ता, शंका तथा अविश्वास बोकेर जानु हुँदैन।

खोप लगाउन जाँदा खाना तथा पानी प्रशस्त सेवन गरेर जानुपर्दछ। खोप लगाएपछि आधाघण्टा खोप केन्द्रमा आराम गर्नुपर्छ।

खोपको रियाक्सन भएमा तुरुन्त उपचार गर्न सजिलो होस् भनेर आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ।

खोप लगाएपछि २–३ दिन आराम गर्नु उपयुक्त हुन्छ। कारणवश एलर्जी भएमा वा गाह्रो भएमा तुरुन्तै अस्पताल जानुपर्दछ ।

खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको बारेमा सबै तहका स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखिकरण दिइएको छ। गम्भिर प्रकारका असरहरुको तत्काल उपचार व्यवस्थापन गर्न प्रत्येक खोप केन्द्रमा एड्रीनालिन सुई र सिरिञ्ज उपलब्ध रहेको मन्त्रालयले जनाएकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *