निजी क्लिनिकको चरम लापरबाही : रेबिजको ठाउँमा टिटानस खोप, फागुनमा मात्रै तीनको मृत्यु

कागेश्वरी मनहरा नगरपालिकाका ३८ वर्षीय खिलानाथ गौतम फागुन ७ गते सहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भए। रेबिजका संक्रमित उनी अन्तिम अवस्थामा अस्पताल भर्ना भएका थिए।

अस्पताल भर्ना भएको छैठौं दिनमा उपचारको क्रममा फागुन १३ गते उनले देहलिला त्याग गरे।

यस्तै, खोटाङ हलेसीका ६२ वर्षीय धनबहादुर मगर पनि अन्तिम अवस्थामा अस्पताल भर्ना भए। फागुन १५ गते अस्पताल भर्ना भएका उनको १७ गते मृत्यु भयो।

अघिल्लो आर्थिक वर्षमा दुई महिला र ६ पुरुषले रेबिजबाट ज्यान गुमाएका थिए। तर, यस वर्ष कोरोनाका कारण कोही अस्पताल आउन सकेका थिएनन्।

अवस्था सामान्य बन्दै गएपछि फागुनमा तीन गम्भीर प्रकृतिका बिरामी अस्पताल भर्ना भए। दुईले अस्पतालमै ज्यान गुमाए भने एकजनाका आफन्तले बिरामीलाई घर लगेको अस्पतालले जनाएको छ।

पछिल्ला दिनमा रेबिजप्रति लापरवाही गर्ने प्रवृत्ति बढ्दो छ।

विभिन्न निजी क्लिनिकमा टिटानसको सुई प्रयोग गरी ढुक्क भएर बस्दा रेबिजबाट मृत्यु हुने दर बढ्दो क्रममा रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्।

अस्पतालको तथ्यांक अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन करिब ४ सय ५० भन्दा बढी मानिस आउने गरेका छन्।

पछिल्ला दिनमा रेबिजविरुद्धको खोप लगाउने संख्यामा निकै वृद्धि भएको अस्पताल प्रशासनको तथ्यांकले देखाएको छ।

संक्रमितको संख्या बढ्दै जाँदा सरकारको सन् २०३० सम्म मुलुकबाट रेबिज उन्मुलन गर्ने लक्ष्य पूरा हुने सम्भावना न्यून बन्दै गएको छ।

सरकारी लक्ष्यअनुसार रेबिज संक्रमित बिरामीको संख्या क्रमशः घट्नुपर्ने हो। तर, संक्रमितको संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाउँछ।

रेबिज खोप लगाउने संख्या बढ्दो

अस्पतालको तथ्यांक अनुसार गत चैतयता मात्रै १३ हजार २ सय ४४ जनाले रेबिजविरुद्धको सुई लगाएका छन्।

जसमध्ये कात्तिकमा १ हजार ४७ जनाले रेबिजको सुई लगाएका थिए। मंसिरमा १ हजार ५ सय ५४, पुसमा २ हजार ७४ र माघमा २ हजार ८ सय ३६ जनाले रेबिजको खोप लगाएका अस्पतालको तथ्यांकमा उल्लेख छ।

उपत्यकामा मात्रै कुकुरको संख्या ३२ हजार छ।

सरकारले करिब ११ हजार कुकुरलाई मात्र रेबिजविरुद्धको खोप लगाएको छ । उपत्यकाबाहिर भएका कुकुरको तथ्यांक सरकारसँग छैन ।

अस्पताल प्रशासनका अनुसार पछिल्लो वर्षमा क्रमशः रेबिजका बिरामीको संख्या बढ्दै गएको छ।

टेकु अस्पतालमा वार्षिक औसत १० जना रेबिजका कारण भर्ना हुने गरेको डा. राजभण्डारी बताउँछन्।

अस्पताल भर्ना हुने बिरामी गम्भीर प्रकारका हुनेभएकाले उपचारको क्रममा सबैको मृत्यु हुने गरेको उनले बताए।

‘पछिल्ला महिनामा रेबिजका कारण मानिसहरू भर्ना भएका थिएनन्,’ डा. राजभण्डारीले भने, ‘तर, यो महिनामा मात्रै तीनजनाको रेबिजका कारण मृत्यु भयो।’

सरकारले एन्टिरेबिज खोप निःशुल्क वितरण गर्दै आएको छ । तर, अधिकांश बिरामीलाई रेबिजविरुद्धको खोप निःशुल्क पाइन्छ भन्ने जानकारीसमेत नरहेको डा. राजभण्डारी बताउँछन्।

सरकारी लक्ष्यलाई चुनौती दिँदै रेबिजका बिरामी देखिने क्रम बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

राजभण्डारीका अनुसार अहिले अस्पतालमा रेबिजको सुई लगाउन आएका मानिसको सोधखोज गर्दा धेरैजसोलाई घरमै पालेको कुकुरले टोक्ने गरेको पाइएको छ।

‘अधिकांश मानिस कुकुरले टोकेपछि निजी क्लिनकमा टिटानसको सुई लगाएर म ढुक्क छु भन्ने गरेका छन्,’ उनले भने, ‘तर त्यस्ता व्यक्तिमा दुई÷तीन महिनापछि रेबिजका लक्षण देखिएका छन्।’

उनका अनुसार रेबिजबाट मृत्यु हुनुको प्रमुख कारण स्वास्थ्यकर्मीले राम्रोसँग बुझाउन नसक्नु हो।

‘यो सेवा धेरै अस्पतालमा छैन। निजी अस्पतालमा रकम मात्रै खोज्छ। तर, राम्रो काउन्सिल गर्दैन,’ उनी भन्छन्, ‘जनावरले टोकेको मानिसलाई राम्रो सल्लाह दिएको भए यो अवस्था आउने थिएन। जनावरले टोक्दा अनिवार्य रुपमा खोप लागाउनै पर्ने हुन्छ।’

त्यसैले उनी टिटानसको सुई लगाएर म ढुक्क भए भनेर कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्छन्।

‘कुकुर घरमा बस्छ, त्यसैले खोप आवश्यक छैन भन्ने गलत सोच पनि मानिसमा पाइन्छ’, उनी भन्छन्, ‘घाउ सानो छ। घरमै पालेको कुकुरले टोकेको हो भनेर भ्रममा नपर्नुहोला।’

घाउ निको भइसक्यो, खोप थप चाहिँदैन भन्ने धारणा पनि पाइने भएकाले उनी सबैलाई गम्भीर बन्न आग्रह गर्छन्।

के हो रेबिज?

रेबिज शतप्रतिशत प्राणघातक रोग हो।

त्यसैले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ।

यो रोग भाइरस (ह्र्याब्दो परिवारको लिसा भाइरस) बाट हुन्छ। सुरूमा जनावरका र्‍याल रहेका भाइरस जनावारको टोकाइबाट घाऊमा पुग्छ। यो भाइरस रगत र लिम्फबाट नभइ छाला मुनिको भित्रि तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिद्दीसम्म पुग्छ।

गिद्दीमा संक्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन्।

अन्त्यमा गिद्दीका मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगमा पुग्छ।

र, यस्ता संक्रमित जनावारले टोक्दा र्‍याल ग्रन्थिमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ।

रेबिजविरुद्धको खोप नेपाल सरकारले निःशुल्क प्रदान गरे पनि त्यसप्रतिको बेवास्ताका कारण रेबिजले नेपालीको ज्यान लिइरहेको डा. राजभण्डारी बताउँछन्।
जनावरले टोकेको करिब १ देखि ३ महिनाभित्र रेबिजरोगको लक्षण देखापर्छ।

लक्षण
– हावा र पानीदेखि बिरामी डराउनु रेबिजरोग लागेको सबैभन्दा पहिलो लक्षण हो।
– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुनु।
– झमझम गर्नु।
– पानी पिउन असहज महसुस गर्नु।
– उत्तेजित हुनु।

रेबिज लागेपछि मुटु तथा कलेजो रोगजस्तो यसको उपचार सम्भव छैन।

रेबिज लागेर गम्भीर अवस्थामा पुगिसकेपछि मृत्युबाहेक विकल्प छैन।

सबैभन्दा पहिले त मानिसलाई रोगबारे चेतना हुनु आवश्यक छ। जनावरले टोकेको थाहा पाउनासाथ जतिसक्दो छिटो रेबिजको सुई लगाउन आवश्यक छ।

घरपालुवा कुकुर तथा रेबिजको सुई लगाइएका कुकुरले टोकेमा पनि सुई लगाउन आवश्यक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय