एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तराष्ट्रिय साहसी महिला अवार्ड

एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकाले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला ९आईडब्ल्यूओसी० पुरस्कार प्रदान गर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन्।

एसिड आक्रमण अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बीच सो पुरस्कार खातुनलाई प्रदान गर्नेछन्।

आईडब्ल्यूओसीले ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई सम्मान प्रदान गर्ने गर्छ।

यसका अघिल्ला विजेताहरूमध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजाई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता पनि हुन्।

मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले एसिड हमलाविरुद्ध कडा कानुन र सजायको लागि आवाज उठाएकी थिइन्।

उनले प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरिन् जसले एसिड हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे।

यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण रहेको ठहर आईडब्ल्यूओसीले गरेको छ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उनीमाथि वीरगन्जमा एसिड आक्रमण भएको थियो। उनको अनुहार, छाति र हातमा गहिरो चोट लागेको थियो। उनको स्वास्थ्यलाभको त्यो क्षण पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय