अझै खोपको प्राथमिकतामा परेनन् शिक्षक

फागुन २३ गतेबाट शिक्षकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने यस अघिको निर्णयबाट सरकार पछि हटेको छ।

खोप अपुग भएको भन्दै शिक्षकहरूको पालो सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिए।

बालबालिकाको प्रत्यक्ष सम्पर्कमा रहने शिक्षकलाई प्राथमिकथामा राखेर खोप लगाउनुपर्ने आवाज उठिरहे पनि सरकारले फेरी पनि शिक्षकलाई छुटाएको छ।

श्रीवास्तवले शिक्षकलाई मात्र नभई ५५ वर्ष माथिका व्यक्तिहरूलाई खोप लगाउने भनिएको भए पनि त्यसमा हेरफेर गरेर ६५ वर्ष माथिकालाई मात्र लगाउने निर्णय गरेको बताए।

‘हाल हामीसँग थोरै मात्र खोपको स्टक बाँकी छ। अहिले लगाएका व्यक्तिहरूलाई दोस्रो डोज पनि दिनुपर्ने भएकोले अपुग हुने देखिएकाले सारेको हो,’ उनले भने। विदेशबाट अन्य खोप नेपाल आउने निश्चित भएपछि मात्र अन्य व्यक्तिलाई खोप दिइने उनले बताए।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपालका अध्ययक्ष रितुराज साप्कोटाले, शिक्षक पहिलो प्राथमिकतामा राख्नुपर्ने वर्ग भए पनि सरकारले प्राथमिकता नदिएको गुनासो गरे।

उनले निजामति कर्मचारीहरू र बैंकका कर्मचारीहरूलाई खोप दिइए पनि शिक्षकलाई पछाडि सार्दै लैजानु दुखद् भएको बताए।

‘शिक्षक बालबालिकाहरूसँग सिधै घुलमिल भएर काम गर्नुपर्छ। उनीहरूसँग दूरी कायम गर्ने सकिन्न। बैंकका कर्मचारीले त ग्राहकसँग दूरी बढाएर काम त गर्नसक्छन् नि,’ उनले भने। बालबालिकामा संक्रमणको जोखिम कम हुने भए पनि उनीहरू विद्यालय र समुदायमा फैलाउने माध्ययम हुन सक्ने उनको चिन्ता छ।

देशभर एक लाख ५३ हजार दरबन्दीका शिक्षकहरू छन् भने नीजि विद्यालयमा एक लाख ५० हजार जति शिक्षक छन्। शिक्षक तथा कर्मचारी सबै गरेर साँढे चार लाख जति संख्या हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वैकुण्ठ अर्यालले बताए।

सरकारले यस अघि महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक र ५५ बर्ष माथिका नागरिकलाई खोप दिने निर्णय गरेको थियो।

सरकारसँग अहिले १५ लाख डोज मात्रै खोप भण्डारण छ। कोभ्याक्स अन्र्तगत सहुलियत सहयोगमा प्राप्त हुने खोप समेत गरेर सरकारसँग तत्काल ३५ लाख डोज खोप मात्रै हुने भएको छ। जब की ५५ बर्ष माथिको जनसंख्या मात्रै ३८ लाख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय