चितवनमा ६६ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइने

चितवनमा ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले ६५ वर्ष उमेर पुगेका झण्डै ६६ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाउने तयारी गरेको हो।

जिल्लाका ७६ केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि उक्त उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। खोप लगाउनका लागि ४ सय ७९ जना स्वास्थ्यकर्मी र स्वयंसेवक खटिने कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले जानकारी दिए।

उनका अनुसार, जिल्लामा प्रत्येक स्वास्थ्यकर्मी र स्वयंसेवक सबैलाई तालिम प्रदान गरिएको छ। जिल्लामा भरतपुर महानगरपालिकामा २६, इच्छाकामना गाउँपालिकामा ९, खैरहनी नगरपालिकामा ५, राप्ती नगरपालिकामा १४, माडी नगरपालिकामा १०, कालिका नगरपालिकामा ४ र रत्ननगर नगरपालिकामा ८ वटा केन्द्र मार्फत खोप लगाइने छ।

खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि छुट्टै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ। ज्येष्ठ नागरिकको सुविधालाई ध्यानमा राखि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था मार्फत खोप लगाइने उनले जानकारी दिए। खोप लगाउन जाँदा आफ्नो परिचय पत्रको साथमा लैजानु पर्ने छ।

रगत जम्ने समस्या भएका मानिस र गर्भवती महिलाहरुले कोरोना विरुद्धको खोप लगाउन नहुने उनले जानकारी दिए। क्यान्सर, मुटु, मिर्गौला, प्रेसर, थाइराईडका विरामीलाई कुनै असर नगर्ने उनको भनाई छ।

दोस्रो प्राथमिकतामा परेका ६५ वर्ष पुगेका व्यक्तिलाई लगाएपछि दोस्रो चरणमा ५५ बर्ष माथिका व्यक्तिलाई खोप उपलब्धताको आधारमा लगाइने तिवारीले जानकारी दिए। हाल जिल्लामा २७ हजार डोज भ्याक्सिन प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

जिल्लामा पहिलो प्राथमिकतामा परेका (अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारीलगायत) १३ हजार ५ सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। तीमध्ये ७ हजार ७ सय ९० पुरुष र ५ हजार ७ सय ५५ महिला थिए। लगाएका मध्ये सामान्य समस्या बाहेक जटिल समस्या नदेखिएको तिवारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय