आयुर्वेदिक औषधीमा ‘लिड’ को खतरा

केही महिनाअघि ३८ वर्षीय एक पुरुषको स्वास्थ्यमा जटिल समस्या आएपछि अस्पताल भर्ना भए।

एक महिनासम्म पेट दुखिरहँदा सामान्य होला, वा ग्यास्ट्रिकको समस्याका कारण हुन सक्ने भन्दै सहेर घरमै बसिरहे।

दुई दिनपछि कब्जियत र कालो दिसा हुने, खान मन नलाग्ने तथा थकान र वाकवाकी लाग्न थालेपछि अस्पताल भर्ना भए।

अस्पतालमा उनको सबै परीक्षण गरिए पनि समस्या पत्ता लगाउन सकिएन।

उनको रगत परीक्षण गराउँदा ‘ब्लड लिड लेभल’ (रगतमा सिसाको मात्रा) ८२.३ माइक्रोग्राम परडेसिलिटर देखियो।

विश्व स्वास्थ्य संगठनका अनुसार १० माइक्रोग्राम लिड (सिसा) युवा शरीरलाई सामान्य रूपमा लिइन्छ भने ८० भन्दा बढी लिडको मात्रा भए शरीरमा विभिन्न समस्या उत्पन्न भई अस्पताल भर्ना हुपर्ने आवश्यकता रहन्छ।

युवकको शरीरमा अत्यधिक मात्रामा लिड कसरी भयो भन्ने अनुसन्धान गर्दा आयुर्वेदिक औषधी सेवनका कारण भएको पत्ता लाग्यो।

आफ्नो सुक्राणु कम भएका कारण आयुर्वेद चिकित्सकसँग सल्लाह माग्दा उनलाई सातथरी औषधी दैनिक खान सुझाइएको थियो।

विवेक पन्त, केयुर गौतम, डेभिस प्याकुरेल, आभा श्रेष्ठ, सन्तोष प्रदान र निरज जाशीले गरेको अध्ययनअनुसार आयुर्वेद चिकित्सकले सुझाएका ती सात औषधीमा लिडको मात्रा अत्यधिक मात्रामा रहेका कारण उक्त पुरुषको स्वास्थ्यमा हानी पुगेको हो।

आयुर्वेद औषधी ‘भंगा भस्मा’ मा सबैभन्दा बढी लिडको परिमाण भेटिएको थियो भने ती पुरुषले सेवन गरिरहेको ‘शतावरी ग्रान्युल्स’ मा कम मात्रामा लिड रहेको अध्ययनले पत्ता लगाएको छ।

अध्ययनअनुसार सात औषधीमध्ये ६ वटामा अत्यधिक सिसा मिसाइएको पाइएको हो।

‘भंगा भस्मा’ मा २०९.७० माइक्रोग्राम, ‘सिद्ध मकारा ध्वाजा गुटी’ मा १०२.५३, ‘वनारी’ मा १३.७४, ‘चंक्रशेखर रास’ मा १२.८९, ‘मुसली पाक (लाघु)’ मा ११.५४, ‘प्रवाल पिष्ट’ मा ११.१८, ‘शतावरी ग्रान्युलस’ मा ४.५३ माइक्रोग्राम सिसा भेटिएको हो।

जब १० माइक्रोग्राम नै स्वास्थ्यको लागि हानी हुने भनेर विश्व स्वास्थ्य संगठनले भनिरहँदा २ सयभन्दा बढी माइक्रोग्राम सिसा रहेको औषधी दैनिक सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने बताउँछन् जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाह।

शरीरमा सिसाको मात्रा १ सय ५० भन्दा बढी भए मानिसको मृत्युसम्म हुनसक्ने उनी बताउँछन्। यसको असर सबैभन्दा बढी बालबालिकामा हुने गरेको उनको भनाइ छ।

‘बालबालिकालाई १० माइक्रोग्राम हुँदा पनि विभिन्न असर देखिँदै जान्छ। कम सुन्ने, आइक्यु स्तर कम हुने, शरीर विकासमा ह्रास पुग्ने, नशाको कार्यमा गडबडी हुनेलगायत समस्या देखिँदै जान्छन्,’ उनले भने।

त्यस्तै लिडको मात्रा १० भन्दा बढ्दै जाँदा भिटामिन डी मेटाबोलिज्मको कमी तथा वृद्धि, हाइपरटेन्सन बृद्धि, एनिमिया तथा न्युरोसम्बन्धी समस्या देखापर्न थाल्दछ।

‘लिड शरीरमा चाहिने धातु होइन। तर, औषधीकै रूपमा यसलाई प्रयोग गर्दा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्दै गएको छ,’ शाहले भने।
थोरै मात्रामा भएको लिड हरेक दिन प्रयोग गरी उपभोग भइरह्यो भने पछि निक्कै असर गर्ने उनी बताउँछन्।

ती पुरुष जो आफ्नो शुक्राणु संख्या बढाउन औषधी खाइरहेका थिए, उनलाई तीन महिनामै निकै असर देखिएका कारण पनि लिड निकै प्राणघातक धातु रहेको प्रष्ट हुन्छ।

अझ आयुर्वेदिक औषधीहरूमा यसको प्रयोग प्रचुर मात्रामा पाउने गरेको छ।

नेपालमा अझै पनि विस्तृत अध्ययन तथा अनुसन्धान कमीले कयौं मानिस लिडकै कारण बिरामी भइरहेको तथ्यांक आउन सकेको छैन।

औषधीमा धातुहरूको प्रयोग भए पनि कुन–कुन धातु कति प्रयोग भइरहेको भन्ने जाँच नहुँदा यस्तो समस्या आएको आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदिप केसी बताउँछन्।

उनले लिड शरीरलाई नचाहिने धातु रहेको भन्ने अनुसन्धानमा भनिए पनि त्यो सत्य नभएको दाबी गरे।

‘अनुसन्धानमा उल्लेख भएजस्तो आयुर्वेदमा प्रयोग हुने लिड शरीरमा नचाहिने धातु होइन। यस धातु विषेशगरी शुक्रकिट बनाउन चाहिन्छ र यसको प्रयोग औषधीमा हुन्छ,’ उनले भने।

तर, नियामक निकायले कुन धातु कति मात्रामा प्रयोग गरिएको छ भनेर परीक्षण नगरिदिँदा यस्तो समस्या आएको सरोकारवाला बताउँछन्।
यस्ता धातु आयुर्वेदिक औषधीहरूमा कमै मात्रामा प्रयोग गर्ने गरिएको उनको भनाइ छ।

विश्वमै आयुर्वेदिक औषधीहरूमा भएको सिसाको विषाक्तताका कारण लाखौं बिरामी पर्ने गरेका छन्। विशेषगरी युवा सिकिस्त अवस्थामा अल्पताल पुगेको अध्ययनले जनाएको छ।

अध्ययनअनुसार लिडका कारण बिरामी परेकालाई निको हुन केही सातादेखि वर्र्षौं पनि लाग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय