किन सुरक्षित छैनन् नेपाली डाक्टर?

घटना १ :

नेपाल मेडिकल कलेज (जोरपाटी) मा जेठ १४ गते ६४ वर्षीया महिलाको उपचार गर्दागर्दै मृत्यु भयो।

दम रोगी ती महिलाको शरीरमा अक्सिजनको मात्रा कम भएकाले ज्यान गएको चिकित्सक आफन्तालाई बताए।

चिकित्सकले कोरोना भाइरस संक्रमण शंका गरेर मृतकका आफन्तसँग ‘ट्राभल हिस्ट्री’ बुझ्न थाले।

त्यत्तिकैमा ‘बचाउन सकिनस्,  कोरोना लागेको भन्दै पन्छिन खोज्छस्’ भन्दै मृतकका छोराले डाक्टरमाथि मुक्का प्रहार गरे।

अस्पतालमा दुरी कायम गर्न स्टिल बार लगाइएको थियो। त्यही स्टिल बार उचालेर प्रहार गर्न थालेपछि डाक्टर ज्यान जोगाउन बाहिर भागे।

बाहिर निस्कने क्रममा मृतकका आफन्तबाट लात्तीसमेत खानुपरेको थियो। हातपात हुँदा त्यहाँ सुरक्षाकर्मी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो। तर, डाक्टरले लात्ती सहिरहे, सुरक्षाकर्मी मुकदर्शक भए।

घटना २ :

रौतहट गढीमाई नगरपालिकामा जेठ १६ गते स्थानीयद्वारा तीन स्वास्थ्यकर्मीमाथि कुटपिट भयो। भारतबाट फर्किएर क्वारेन्टिन बसेकालाई छुटाउन जाँदा स्थानीयले हातहतियारसहित स्वास्थ्यकर्मीमाथि आक्रमण गरे।

चिकित्सकले दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रहरीमा उजुरी दर्ता गराए।

रौतहटको एउटा मदरसामा रहेको क्वारेन्टिनमा रहेका ३ सय ६० जनाको स्वास्थ्य परीक्षणपछि खाना खाँदै गर्दा हतियार, खुर्सानीको धुलोसहित आएका स्थानीयले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।

इशानाथ नगरपालिका–७ मा रहेको अनावारुल हक मदरसा मोहिजंग जोहहामा सञ्चालित क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीमाथि कुटपिट भएकोे थियो। तनाव व्यवस्थापन गर्न सुरक्षाकर्मीले १५ राउन्डभन्दा बढी हवाई फायर गरेको थियो।

घटना ३ :

उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तले काठमाडौं कीर्तिपुरमा पुस १८ गते अस्पताल तोडफोड गरे।

चन्द्रागिरि घर भएकी सविना सुवेदी थापा डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन्।

उनले जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले विरोध गर्दै अस्पताल तोडफोड गरेका थिए।

उक्त विषयले केही दिन अस्पताल पूरै  तनावग्रस्त बनेको थियो।

घटना ४ :

प्युठानमा फागुन १६ गते स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भयो।

प्युठान अस्पतालका स्वास्थ्यकर्मीले झिमरुक गाउँपालिका–७ की २४ वर्षीया अनिसा एमजीको उपचारपछि बुटवल रेफर गरिएको अवस्थामा बाटैमा ज्यान गएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेका थिए।

सफल डेलिभरी गरिएकी उनको दुई दिनपछि स्वास्थ्यमा समस्या आएको थियो। दोस्रोपटक अप्रेसन गर्दा उनको अवस्था थप जटिल बन्यो।

रेफरपछि बुटवल ल्याउँदै गर्दा उनको बाटैमा ज्यान गयो। र, आफन्तले चिकित्सकहरूलाई माफी माग्न लगाए।

माथिका यी घटना चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका दुव्र्यवहारका प्रतिनिधि उदाहरणमात्र हुन्।

आज चिकित्सकहरूको उत्सव। अर्थात, ‘चिकित्सक दिवस’। देशभरका चिकित्सकले उत्सव मनाइरहेका छन्। तर, खुसीबिनाको।

कोरोना भाइरस महामारीसँग लडेका चिकित्सकका मुहार अझै खुलेका छैनन्।

कोरोनासँगको लडाइँको अग्रमोर्चाका सैनिक बने उनीहरू। अहिले पनि त्यो लडाइँ जारी नै छ।

तर, सरकारले उचित रूपमा स्वास्थ्यकर्मीको संरक्षण गर्न सकेन। उनीहरूका मनोबल बढ्ने खालका प्रभावकारी कार्यक्रम पनि ल्याउन सकेन। जोखिम भत्ता दिनसमेत सरकारले हात कमाइरहेको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की स्वास्थ्यकर्मीका लागि यस्तो अवस्था आउनु दुखद् भएको बताउँछन्।

आफ्नै ज्यानको सुरक्षा नहुने भएपछि धेरै चिकित्सकमा चिकित्सा सेवाप्रति नै वितृष्णा बढिरहेको उनको अनुभव छ।

‘पहिला ठूलो मान्छे भएर के बन्छस् भन्दा डाक्टर बन्छु भन्ने चलन थियो। तर, अब नयाँ पिढीले डाक्टर बन्न रुचाउँदैनन्। किनकि, यसमा भौतिक, आर्थिक र अन्य सुुरक्षा नै छैन,’ उनी भन्छन्।

प्रजातन्त्र स्थापनासँगै नेपाली चिकित्सक संगठित भएका हुन्। २००७ साल फागुन २० मा संघ स्थापना गरेरै उनीहरू स्वास्थ्यकर्मीका हकहितमा काम गरिरहेका छन्।

२००७ सालदेखि चिकित्सकहरूका कतिपय साझा समस्या अझै उस्तै छन्। र, संघका अध्यक्ष कार्की भन्छन्, ‘हाम्रा समस्यामा सरकार गम्भीर नै बन्दैन। समस्या नै समस्याले जेलिएको जीवनबाट कसरी स्वास्थ्यकर्मीले खुसी भएर सेवा दिन सकुन्?’

यसपालि ७१औं चिकित्सक दिवसको नारा ‘सुरक्षित चिकित्सक, सुरक्षित जीवन’ छ।

लोकतन्त्रमा सुरक्षित जीवनका लागि लड्नु लज्जाको विषय भएको उनीहरूलाई लागिरहेको छ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०७६ र नियमावली २०६९ परिमार्जन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई बिनाधरौटी हिरासतमा राख्ने प्रावधानसहित मन्त्रिपरिषदमा विचाराधीन संशोधन ऐन पारित हुन सकेको छैन,’ कार्कीले भने, ‘जसले गर्दा चिकित्सक सुरक्षित हुन सकेका छैनन्। दिनहुँ चिकित्सकमाथि दुव्र्यवहार भइरहेका छन्।’

सेवाअनुसार तलब छैन

एउटा योग्य डाक्टर बन्न लाखौं रुपैयाँ खर्च लाग्छ।

तर, जब ती डाक्टर जागिरे हुन्छन् अनि सरकारले तोकिदिएको तलब भने निकै कम छ।

डा. कार्कीका अनुसार डाक्टरहरू ‘दुःखी’ हुनुको एउटा मुख्य कारण सम्मानजनक तलब नहुनु पनि एक हो।

‘सरकारीमा दरबन्दी संख्या एकदमै कम छ। निजीमा पारिश्रमिक थोरै छ,’ डा. कार्की भन्छन्। यही कारण स्वास्थ्य सेवाप्रति चिकित्सकको आकर्षण निकै कम भइरहेको उनको भनाइ छ।

‘एउटा डाक्टर ४२ हजार रुपैयाँ मासिक तलबले कसरी टिक्न सक्छ?,’ कार्की भन्छन्, ‘निजामतीको सहसचिवलाई गाडी सुविधा हुन्छ, त्यही तहका सरकारी डाक्टरलाई सेवा–सुविधा केही हुन्न।’

अस्पतालमा ‘असुरक्षित’ महसुस गरिरहेका डाक्टरहरूले स्वास्थ्य उपचारमा संलग्न चिकित्सकमाथि हातपात गर्ने जोसुकैलाई पनि बिनाजमानत जेल, अर्थात ‘जेल विदाउट बेल’ को माग गरिरहेका छन्।

‘बिरामीको उपचार पनि डराइ–डराइ गर्नुपर्ने अवस्था छ,’ डा.कार्की बाध्यता सुनाउँछन्।

नेपालमा एकजना डाक्टरले कति बिरामी जाँच गर्नुपर्ने हो? भन्नेबारे स्पष्ट मापदण्ड अहिलेसम्म बनेको छैन।

तर, विश्व स्वास्थ्य संगठनले भने १० हजार नागरिकका लागि पाँच चिकित्सकको आवश्यकता तोकेको छ। संगठनको यही मापदण्ड अन्तर्राष्ट्रियरूपमा स्थापित छ।

तर, नेपालमा चिकित्सक र जनसंख्या हेर्ने हो भने १० हजारभन्दा बढी नागरिकलाई एउटै  चिकित्सकले सम्हाल्नुपर्ने बाध्यता छ।

कार्की चिकित्सकलाई सुरक्षित राख्न सकेमात्रै सबै नेपालीको जीवन सुरक्षित हुने बताउँछन्।

नेपालमा चिकित्सक कति छन्?

सन् २०२० सम्म नेपाल मेडिकल काउन्सिलले जारी गरेको तथ्यांकअनुसार नेपालमा ३६ हजार ७ सय ७८ चिकित्सक छन्।

जसमा एमबिबिएसतर्फ २४ हजार ८ सय १४ छन्। तीमध्ये पुरुष १६ हजार ५ सय ५९ र महिला ८ हजार २ सय ५५ छन्।  बिडिएसतर्फ ३ हजार ६ सय ३६ छन्। तिनमा पुरुष १ हजार ४ सय ३६ र महिला २ हजार २ सय २७ छन्।

त्यसैगरी, एमडि–एमएसतर्फ पुरुष ५ हजार ५ सय ६८ र महिला २ हजार १ सय १७ छन्। एमडिएसतर्फ भने पुरुष ३ सय ३८ र महिला २ सय ७८ छन्।

२७ वर्षदेखि उही दरबन्दी

सरकारले २०५० सालमा निर्धारण गरेको दरबन्दी संख्या अहिले पनि त्यति नै छ। २७ वर्षअघि १ हजार ४ सयहाराहारी रहेका सरकारी चिकित्सक संख्या अहिलेसम्म थपिएको छैन।

‘२७ वर्षअघिको दरबन्दीले स्वास्थ्य सेवा दिनुपर्ने अवस्था छ,’ संघ अध्यक्ष डा. कार्कीले भने, ‘यस्तो अवस्थामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कसरी कायम राख्न सकिन्छ?’

अधिकांश चिकित्सक निजी क्षेत्रतर्फ र सहर केन्द्रित नै छन्। जिल्लामा हेर्ने हो भने चिकित्सक संख्या नगण्य छ।

‘केही डाक्टर जम्मा भएर ‘खुसी’ साट्नेमात्रै यो दिवसको अवधारणा होइन,’ कार्की भन्छन्, ‘चिकित्सा क्षेत्र इज्जतिलो र आत्मसम्मानको पेसा हो तर, राज्यले नै चिकित्सकलाई बुझ्न सकेको छैन। यो विडम्बना हो।’

One thought on “किन सुरक्षित छैनन् नेपाली डाक्टर?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय