डाक्टरलाई चिडियाघरमा हेर्नुपर्ने दिन नआओस् : लोचन कार्की

आज फागुन २०, नेपाल चिकित्सक दिवस। बिहीबार देशभरका चिकित्सकहरुले यो दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाइरहेका छन्। नेपालमा प्रजातन्त्रको स्थापनासँगै २००७ साल फागुन २० गते नेपाली चिकित्सकहरु पनि संगठित भएर नेपाल चिकित्सक संघको स्थापना गरेका थिए। यही दिनको सम्झनामा नेपालमा पनि चिकित्सक दिवस मनाइन्छ। यो दिनलाई चिकित्सकहरुको ‘एकता’ दिवसका रुपमा पनि लिन्छन्।

यसपालि ७१ औं चिकित्सक दिवसको नारा ‘सुरक्षित चिकित्सक, सुरक्षित जीवन’ भन्ने छ। दिवस मनाइरहँदा चिकित्सकहरु कति खुसी छन्? समस्या के–के छन्? यिनै विषयमा केन्द्रित भएर हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसँग गरेको कुराकानीः

चिकित्सक दिवस मनाइरहँदा नेपाली डाक्टर आफ्नो कामप्रति कति खुसी छन्?

संसारमा हेर्ने हो भने न चिकित्सक खुसी छन्, न त सेवा लिने बिरामी नै । अध्ययन, अनुसन्धानले यही नै देखाइरहेको छ। नेपालमा हामी यसपटक ‘चिकित्सक जोगाऔं, जीवन बचाऔं’ भन्ने नारा लिएर अगाडि बढेका छौं।

यो नारा ल्याउनुको उद्धेश्य आज हामी चिकित्सक सुरक्षित छैनौं। जुन तरिकाले चिकित्सकले अहोरात्र काम गरेर कोभिड महामारीमा आफूलाई प्रमाणित गरे। यस्ता काम गर्दा पनि चिकित्सकमाथि दुव्र्यवहार हुन छोडेको छैन।

डाक्टरहरू सुरक्षित छैनन्, भौतिक तथा आर्थिक हिसाबले।

२०७१ सालदेखि ओपिडी शुल्क बढेको छैन। २०७७ सालमा आएर ओपिडी शुल्क बढाउँदा सरकारले धम्कीपूर्ण रूपमा २०७१ सालकै शुल्क कायम गर्नु भनिरहेको छ।

जब कि दुई–दुई वर्षमा सरकारले शुल्क बढाउनुपर्नेमा सात बर्ष बितिसक्दा पनि कानमा तेल हालेर बसेको छ।

हामी चिकित्सक सामाजिक, आर्थिक, भौतिक सबै हिसाब सुरक्षित नभएकाले ‘डाक्टरलाई जोगाऔं जीवन जोगाऔं’ भन्ने हिसाबले अगाडि बढेका छौं।

चिकित्सकलाई जोगाउन थुप्रै तत्वको भूमिका हुन्छ। एक त डाक्टर र बिरामीबीच सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने हो। दुई पक्षबीच भएको खाडल पुर्न आवश्यक छ।

सम्पूर्ण डाक्टरका साझा समस्या के–के छन्?

पहिला ठूलो मान्छे भएर के बन्छन् भन्दा डाक्टर बन्छु भन्ने चलन थियो। तर, अब नयाँ पीँढीले डाक्टर बन्न रुचाउँदैनन्। किनभने यसमा भौतिक, आर्थिक सुरक्षा नै छैन।

डाक्टर बन्नका लागि धेरै मिहिनेत, लगानी गरेर पढ्नु पर्छ। तर, पनि यसको आउटपुट राम्रो नभएकाले नेपालमा भएका डाक्टर पनि बाहिर देश जाने प्रवृत्ति बढ्दो छ।

भोलिका दिनमा डाक्टरी पेशा रोज्नुको सट्टा अन्य पेशा रोज्ने दिन आउँछ। नेपालमा यसै त डाक्टर कम छन्, त्यसै पनि झन् डाक्टरको संख्या कम हुने हो कि भन्ने डर पैदा भएको छ।

अहिले एमबीबीएस गरेपछि एमडी गर्न गाहो छ। एकातिर वर्षमा एमबीबीएस दुई हजार छन्। एमडीमा एक हजारको भन्दा सिट छैन। त्यसकारण वार्षिक रूपमा एक हजार एमबीबीएसहरु एमडी पढ्नबाट वञ्चित छन्।

हरेक वर्ष एक–एक हजार थपिँदै जाँदा संख्या पनि धेरै हुँदै गएको छ। एमबीबीएस र एमडीको बीचमा भएको खाडललाई पुर्नुपर्ने प्रमुख समस्या हो।

अहिले एमबीबीएस गरेको डाक्टरले निजी स्वास्थ्य संस्थामा ४० हजार रुपैयाँ पारिश्रमिक पनि नपाउने अवस्था छ। एक डाक्टर दुई–तीन वटा अस्पताल नचहारिकन जीवन धान्न नसक्ने स्थिति छ। जसले गर्दा आज डाक्टरको आयू पनि घटेर गएको छ। डाक्टरको र अन्य व्यक्तिमध्ये औसतमा डाक्टरको आयू कम हुन्छ।

कामको बोझले डाक्टरमा डिप्रेशन धेरै देखिएको छ।

नेपालमा चिकित्सा शिक्षा पनि एकदमै महंगो छ। चिकित्सकमा अवसर र चुनौती के–के छन्?

नेपालमा अवसरभन्दा पनि चुनौती धेरै छन्। अवसरको रूपमा हेर्दा डाक्टरी यस्तो पेसा हो। यो पेसाको माध्यमबाट बिरामीको मनमा हाँसो ल्याउन सक्ने, अरूलाई जीवन दिन सक्ने, सामाजिक प्रतिष्ठा हुने भएकाले एक अवसर हो।

तर, यो अवसर लिनका लागि धेरै त्याग गनुपर्छ।

डाक्टर पढ्न महंगो छ। एमबीबीएस पढ्नका लागि सबैभन्दा पहिला अब्बल विद्यार्थी हुनुपर्दछ। प्लस टुदेखि राम्रो अंक ल्याएको हुनुपर्छ। नाम निकालेर मात्रै हुँदैन। पढ्न पनि धेरै पैसा लाग्छ।

आइएस्सी गरेको एक व्यक्तिले डिएम गर्दा ११ देखि १७ वर्ष लाग्छ। त्यसपछि काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ।

रेजिडेन्ट हुँदा दिन–रात नभनी काम गर्दा कतिपयको पारिवारिक जीवनमा असर पुग्छ । सम्बन्धविच्छेदसम्म हुन्छ, किनभने समयमा घर जान पाइदैँन। यति हुँदा पनि डाक्टरले तन, मन, धन लगाएर काम गर्छ। आफूले बिरामीलाई राम्रो गर्छु भनेर गर्दा पनि हातपात हुन्छ कि भन्ने डर मनमा भइरहेको हुन्छ।

डाक्टरहरू भगवान होइनन्। एक पेसा हो। वकिलले सबै मुद्दा जिताउन सक्दैन, शिक्षकले सबै विद्यार्थी पास गराउन सक्दैन। तर पनि, अहिले नराम्रो खालको प्रवृत्ति बसेको छ। जसले गर्दा डाक्टरलाई ठूलो चुनौती छ। अवसरको रूपमा हेर्दा आफ्नो खुसीलाई त्याग गरेर बिरामीलाई खुसी, हाँसो दिन सकिन्छ।

एमबीबीएसको तुलनामा विशेषज्ञ पढ्ने कोटा कम छ। यसरी सिट संख्या कम हुँदै जाँदा डाक्टरहरू बेरोजगार हुँदै जाने भए नि? यो विषयमा सरकारले किन चासो नदेखाएको हो?

विशेषज्ञ पढ्ने सिट नै कम छ। यसपटक हामीले धेरै पहल गरेपछि ४० प्रतिशत जति एमडीमा सिट बढेको छ। चाहेको खण्डमा अहिले नै सिट बढाउन सक्ने अवस्था छ।

जसरी बेलायततिर फेलोसिप भन्छन्, नेपालमा निजी अस्पतालमा एमडी गर्न राम्रो शिक्षक छ भने उमातहत विद्यार्थीलाई ३ वर्ष पाठ्यक्रम दिएर पढ्ने तालिम गर्न सकियो भने एमडी सुरूवात गर्न सकिन्छ।

न्याम्सलाई फैलाएर कोसी, मेची अञ्चल अस्पतालमा पढ्ने वातावरण बनाउन सकिन्छ। यसो हुँदा अस्पतालको सेवा पनि वृद्धि हुन्छ। एमडी पढ्नका लागि चाहिने भनेको बिरामी नै हो। बिरामी त हरेक अञ्चल अस्पतालमा छन् नै। एमडीको सिट बढाउने थुप्रै अवसर छन्। त्यसका लागि नीतिगतरूपमा काम हुनुपर्छ।

सरकारी दरबन्दी पनि धेरै पहिलादेखि बढ्न सकेको छैन। निजीमा पनि डाक्टरहरू कम पारिश्रमिकमा काम गरिहेका छन्। जसले गर्दा डाक्टरहरू बाहिर जाने प्रवृत्ति बढेको हो?

निश्चय पनि हो। नेपालमा १ करोड जनसंख्या हुँदा जति दरबन्दी थियो, आज ३ करोड हुँदा त्यति नै दरबन्दी छ। जसबाट बुझ्न सकिन्छ कि डाक्टरलाई कति कामको लोड छ।

यसपटकको कोभिड महामारीले छर्लंग देखायो–हाम्रो स्वास्थ्य प्रणाली कहाँ छ भनेर। हाम्रो जस्तो विकासोन्मुख देशमा एकमात्रै सरूवा रोग अस्पताल रहेछ। त्यसको पनि हालत के रहेछ भनेर देखायो।

सतहमा हेर्दा पठाइएको ठाउँमा डाक्टर पुगेनन्, त्यहाँ बसेनन् भन्ने गुनासो सुनिन्छ। तर नेपाल सरकारले ५–६ हजार डाक्टरको दरबन्दी पनि सिर्जना सक्दैन। यसपटक कोभिडको बेला अवसर थियो। यो चुनौतीको बेलामा दरबन्दी सिर्जना गरेर डाक्टर लिनुपर्ने थियो।

संसारभर पढाइ एउटै भए पनि एशियाली मूलका डाक्टरहरु मिहिनेती हुन्छन्। उनीहरूले जोखिम पनि लिन सक्ने भएकाले युरोप, अमेरिकातिर सजिलै बिक्ने हुन्छन्। नेपालभन्दा धेरै गुणा सेवा–सुविधा हुने हुँदा बाहिर जान खोजिरहेका हुन्छन्।

चिकित्सकहरु यहाँ कम तलब भएका कारण बाहिर गएका हुन् कि काम गर्ने वातावरण नभएको हो?

दुवै । यहाँ काम गर्ने वातावरण पनि छैन र पारिश्रमिक पनि छैन। नेपाली डाक्टरले सरकारी अस्पतालमा आठौँ तहमा ४२ हजार तलव खान्छन्। निजीमा त त्यो भन्दा कम छ। १ करोड लगानी गरेर ११ वर्ष समय खर्चेर न्युन पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ। तर, पनि काम गरिरहेका छन्। लोकसेवामा खुल्दैन। अवसर पनि छैन र पारिश्रमिक पनि छैन।

उसो भए, तलवले मात्रै चिकित्सकलाई काममा प्रेरित गर्न सकिन्छ त?

विभिन्न तत्वमध्ये एउटा बलियो आधार पारिश्रमिक पनि हो। आज एउटा डाक्टर ३ ठाउँमा काम गर्न जानु परेको छ। म अहिले ५ बजेपछि निजी अस्पतालमा काम गर्छु। ५ बजेपछि घरमा गएर बस्न सक्थे नि।

मलाई पनि घरमा बस्न मन लाग्छ। तर, काम गर्नुपर्ने बाध्यता छ। अहिले अर्को अस्पतालमा काम गरिएन भने घरमा भएका समस्या परिपूर्ति गर्न सक्दिनँ।

अन्य मूलकमा कुनै पनि डाक्टरले ८ घन्टाभन्दा बढी काम गर्न पाउँदैन। किनभने ८ घन्टाभन्दा बढी काम गर्दा जति दिमाग लगाउन सक्थ्यो त्यति गर्न सक्दैन। त्यसकारण जति बिहान ताजा दिमाग हुन्छ, त्यति ११ बजे हुँदैन। सरकारले डाक्टरलाई पुग्ने पारिश्रमिक दिएको खण्डमा एउटै अस्पतालमा काम गरेर बिरामीलाई पर्याप्त सेवा दिन सक्छ नि।

तर, बिडम्बना, पारिश्रमिकको कारणले डाक्टरले धेरै अस्पताल चहार्नुपरेको छ।

दोस्रो कुरा डाक्टरले तन,मन दिएर काम गरिरहँदा पनि सुरक्षित भएको महसूस गरेको हुँदैन। बिरामीलाई तलमाथि भएको खण्डमा हातपात हुन्छ कि भन्ने डर भइरहन्छ। राति सुतेको बेला फोन आउँदा पनि मन ढुकढुक भइरहेको हुन्छ।

जसरी वकिलले कालो कोट लगाएर निर्धक्कका साथ आफ्नो फैसला सुनाउँन सक्छ। त्यसैगरी, हामीले पनि सेतो कोट लगाएर निर्धक्कका साथ काम गर्न सक्ने वातावरण भएको छैन।

कोभिडको महामारीमा हेर्दा पनि सरकारले आफै जोखिम भत्ता दिन्छु भनेर घोषणा गरेको थियो। तर, वचनमात्र दियो, काम गरेन।

हामीले सरकारले ढाडस दियोस भन्ने चाहेका थियौं। उपचारमा खटिँदै गर्दा केही भएको खण्डमा बिरामीलाई हेर्ने जिम्मेवारी सरकारले लिन्छ, बिरामी भएमा उपचार गर्छ भन्ने प्रोत्साहन गर्नुपर्ने थियो। तर, त्यो अनुसारको काम सरकारले गर्न सकेन।

नेपालको स्वास्थ्य प्रणालीमा डाक्टरको भूमिकालाई सरकारले कसरी हेरिरहेको छ?

कोरोना महामारी, भुकम्पमा आफ्नो कामले प्रमाणित गरेका थियौं। हामीलाई आशा थियो, सरकारले सकारात्मक रूपले हेर्छ भन्ने। तर, जुन तरिकाले सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने हो, त्यो तरिकाले प्रोत्साहन गरेको देखिएन।

यत्रो, महामारीमा खटेर काम गर्दा हाम्रो मुद्दामा ध्यान दिएको छैन। डाक्टर अन्य व्यक्तिजस्तो आक्रामक हुन पनि सक्दैन। स्वास्थ्य सेवा बन्द गर्दा कसैको जीवन जान्छ।

डाक्टरले मात्र स्वास्थ्य संस्थामा सेवा दिन नसक्लान्। अन्य जनशक्ति पनि आवश्यक पर्ला। तपाईंहरू डाक्टरको समस्या मात्रै पोखिरहनु भएको छ। अन्य जनशक्ति विकासमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्दैन ?

मैले भनेको हरेक डाक्टर शब्दसँग डाक्टर र स्वास्थ्यकर्मी थपेर बुझे हुन्छ। किनभने डाक्टरले टिममा काम गर्छ। एउटा अप्रशेन गर्नुपर्‍यो भने पनि अन्य जनशक्तिको आवश्यकता पर्छ।

डाक्टर सायद टिम लिडर भएर होला। कुनै बिरामीको मृत्यु भएमा डाक्टरको मात्रै गल्ती हुँदैन। यो कुराचाहिँ हामीले बुझ्दैनौ। कहिँलेकाही औषधि दिने मानिसको गल्ती हुन्छ, कहिले व्यवस्थापनको कमीले गर्दा हुन्छ। तर, सारा दोषचाहिँ डाक्टरलाई लगाइरहेका हुन्छन्।

डाक्टर फ्रन्टलाइनमा आउने भएकाले गर्दा डाक्टरको पीडा धेरै होलान्। सम्रग स्वास्थ्य प्रणालीलाई अगाडि बढाउन डाक्टर मात्रै भएर हुँदैन। त्यसकालागि सबै जनशक्तिका साथ–साथै भौतिक पूर्वाधार पनि चाहिन्छ।

म जतिसुकै राम्रो सर्जन भए पनि गाउँमा गएर त्यहाँ राम्रो अप्रशेन थिएटर, अस्पतालको संरचना भएन भने केही पनि गर्न सकिदैन। त्यसकारण, एकार्तिर भौतिक पूर्वाधार र अर्कोतिर गुणस्तरीय जनशक्ति चाहिन्छ।

तपाईंले नेपाल चिकित्सक अध्यक्षका लागि लडिरहँदा डाक्टरका धेरै समस्याको मुद्दालाई लिएर उठ्नु भएको थियो। आजको दिनसम्म आइपुग्दा के–के कुरा पूरा गर्न सक्नुभयो? के अधुरा छन्?

मैले सपथ लिएको २० नपुँग्दै नेपालमा लकडाउन सुरू भयो। यसबीचमा कोभिडलाई परास्त गर्न व्यस्त नै भए। चुनावमा उठेका मुद्दाहरूलाई भन्दा अलि धेरै समय कोभिडमा जनताप्रति उत्तरदायी र चिकित्सकको सुरक्षाप्रति ध्यान दिनुपरेको थियो। जनतालाई सेवा दिनका लागि हामीले टेलिफोनबाट विभिन्न सूचना दिनतर्फ लागियो। चिकित्सा शिक्षा आयोगमा आवाज उठाएर एमडीको सिट बढाउन सफल भएँ।

दोस्रो कुरा डाक्टरको परामर्श शुल्कको विषयमा सरकारसँग पटक–पटक वार्ता–सहमति हुँदा पनि सरकारले नगरेपछि ओपिडी शुल्क बढाउने निर्णय गर्‍यौं। अहिले विभिन्न अस्पतालमा नयाँ शुल्क लागू हुन थालिसकेको छ।

नेपाल चिकित्सक संघको सदस्य बन्न काठमाडौं तथा अन्य शाखामा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था थियो। तर, अहिले अनलाइनबाट सदस्य हुनसक्ने व्यवस्था गरेका छौ।

मैले चिकित्सक संघलाई डिजिटल बनाउने भनेको थिएँ। अहिले त्यो काम हुँदै गएको छ। डाक्टरको बिमाको काम भइरहेको छ।
कतिपय विषय पूरा भएका छन्। कतिपय अझै अधुरा छन्।

डाक्टरले नेपालमै बसेर खुसी साथ काम गर्नका लागि सरकारले कस्तो वातावरण बनाउनु जरूरी छ?

डाक्टरलाई सुरक्षित राख्नुहोस, जीवन सुरक्षित राख्नुहोस्। डाक्टरलाई सुरक्षित राख्नका लागि भौतिक, सामाजिक, आर्थिक हेरक रूपले सुरक्षित राख्नुपर्दछ। त्यसो हुन सके बिरामीको जीवन पनि सुरक्षित हुन्छ। होइन भने डाक्टरहरू बाहिर जाने क्रम बढ्न थाल्छ। नयाँ डाक्टर बन्ने क्रम घट्न थाल्छ।

यदि बाघलाई चिडियाघरमा राखेर हेरेको जस्तो डाक्टर पनि यस्ता हुन्छन् भनेर हेर्नुपर्ने दिन नआओस्। त्यसकारण, डाक्टरलाई सुरक्षित राख्ने खालको नीति तथा कानुन बनोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय