अस्पतालहरू पुरानै लयमा फर्किए

कोरोना महामारीले ठप्प अस्पतालका सेवा केही दिनयता पूर्णरूपमा चल्न थालेका छन्।

मुलुकमा कोरोना संक्रमण कारण चैत ११ देखि ‘लकडाउन’ भयो।

त्यसपछि अस्पतालका अधिकांश ओपिडी तथा ओटी सेवा बन्द भए।

कोरोनाका कारण बन्द सेवा अहिले पूर्णरूपमा सुचारु भएका हुन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै सेवा सञ्चालनमा आएको छ।

कोरोना सुरु हुनुअघि पाटनमा १ हजार ५ सयहाराहारी ओपिडी टिकट बिक्री हुन्थ्यो।

अहिले १ हजारभन्दा बढी बिक्री हुने गरेको अस्पतालका निर्देशक डा. रवि शाक्य बताउँछन्।

पाटनले केही महिनाअघि तीन सयभन्दा बढी कोरोनाका बिरामीलाई उपचार गर्दै आएको थियो।

उक्त संख्या अहिले ३० मा पुगेको छ।

‘अहिले नन् कोभिड बिरामीका वार्ड भरिभाउ छन्,’ शाक्यले भने, ‘बिरामीले बेड पाउनै मुस्किल छ।’

कोरोना संक्रमित चाप कम भएसँगै अस्पतालले बेड पनि घटाउँदै लगेको छ।

‘कोरोनामा संलग्न जनशक्ति तथा पूर्वाधार अन्य बिरामीतर्फ परिचालन गरेका छौं,’ डा. शाक्यले भने।

कोरोनाको उच्च संक्रमणका बेला पनि अस्पताले सेवा बन्द गरेको थिए। तर, त्यसबेला बिरामी नै कोरोनाका कारण अस्पताल आउन डाराउने गरेको उनले बताए।

त्यसैगरी, सिभिल अस्पतालले पनि सेवा पूर्णसञ्चालनमा ल्याएको छ।

ओपिडी तथा ओटी सेवा पूर्णसञ्चालनमा आएको अस्पतालका निर्देशक दीर्घराज आरसी बताउँछन्।

‘हाल ८ सयदेखि १ हजारजनाले ओपिडी सेवा लिन्छन्,’ आरसीले भने, ‘पहिलाकै सेवामा हामी फर्किसकेका छैनौं।’

अस्पतालले दैनिक पाँचदेखि आठवटा ओटी सेवा दिने गरेको छ।

त्यसैगरी, कोरोना बिरामीको मात्रै उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना पहिलाका सेवा सुचारु गरिसकेको छ।

अस्पतालले रेबिज, एचआइभी सेवा कोरोना महामारीमा रोकेको थिएन।

टेकु अस्पतालले माघ ४ देखि जनरल ओपिडी सेवा सञ्चालन गरेको छ।

अस्पतालमा हाल दैनिक कोभिड निको भएका बिरामी २० देखि ३० जना फलोअपका लागि आउने गरेका छन्।

नन् कोभिडका बिरामीको भर्ना हुने दर बढिरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।

‘एचआइभी संक्रमित, रेबिजका बिरामी बढ्दै गएका छन्,’ डा. राजभण्डारीले भने, ‘कोभिडका बिरामी बिस्तारै घट्न थालेका छन्।’

कोरोना महामारीभन्दा पहिला टेकुमा दैनिक करिब ४ सयले ओपिडी सेवा लिने गरेका थिए।

अस्पतालका अनुसार हाल ३ सयभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्।

टेकुले केही महिना अघिसम्म ५५ बेडबाट कोरोनाका बिरामीलाई उपचार गर्दै आएको थियो।

तर, अहिले बेड संख्या घटाएर २७ बनाइएको छ।

त्रिवि शिक्षण अस्पतालले पनि आफ्ना सेवा पुरानो स्थितिमा फर्काउन कोसिस गरिरहेको छ।

बन्द भएका अधिकांश सेवा सुचारु भएको अस्पतालका उपनिर्देशक डा. सुभाष आचार्यले बताए।

‘इएनटी, अर्थोपेडिक्स सेवा अझै सुुचारु गर्न सकिएको छैन,’ डा. आचार्यले भने, ‘हामी अर्को हप्ताबाट सबै व्यवस्थापन गरी सेवा सञ्चालन गर्छौं।’

टिचिङ अस्पताल कोरोनाका बिरामीको उपचार गर्ने प्रमुखमध्ये एक हो।

देशकै सबैभन्दा जेठो वीर अस्पतालले पनि पछिल्ला केही दिनमा नन् कोभिड बिरामीको चाप बढ्दै गएको जनाएको छ।

कोरोना बिरामीको उपचारका लागि तोकिएका अन्य अस्पतालमा पनि नन् कोभिड सेवा विस्तार गरिँदै लगिएको छ। कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरू पुरानै लयमा फर्किन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय