ओलीले भन्दैमा बिएण्डसीले सम्बन्धन पाउँदैन : गोविन्द केसी

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध दिइने सार्वजनिक अभिव्यक्ति दिएपछि डा. गोविन्द केसी आक्रोसित बनेका छन्।

झापा बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनपछि सम्बोधन गर्दै ओलीले बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिने बताएका थिए।

काठमाडौं विश्वविद्यालयको सिनेट बैठकले केही दिनअघि बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको थियो। डा. केसीले उक्त निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्।

प्रसाईंले नै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएपछि डा. केसी थप आक्रोसित बनेका हुन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति चिकित्सा शिक्षा ऐनविपरीत भएको बताए।

‘आयोगको सिफारिसमा मात्रै विश्वविद्यालयबाट सम्बन्धन दिन पाइन्छ। त्यसका लागि थुप्रै प्रक्रिया छन्,’ डा. केसीले भने, ‘विश्वविद्यालयको सिनेट बैठकले निर्णय गर्दैमा यो हुने कुरा होइन।’

डा. केसीले प्रधानमन्त्री ओली ‘जनताको रक्षक नभई भक्षक बनिरहेको’ आरोप लगाए।

‘उनले जनताको मत कुल्चिरहेका छन्। के ठीक के बेठीक भन्ने कुराको ओलीलाई हेक्का नै छैन। ओलीले आफूलाई संविधानभन्दा माथि ठान्छन्,’ डा. केसीले भने।

उनले ओली ‘तानाशाह शासक’ भएको बताए। तानाशाहले कानुनको वास्ता नगर्ने भन्दै डा. केसीले ओली संवेदनाहीन भएको उल्लेख गरे।

ओलीले भनेर केही नहुने भन्दै डा. केसीले नियममा भएका कुरामात्रै लागू हुने दाबी गरे। उनले आफू सुशासनका लागि लडिरहेको बताउँदै ओलीको कुशासनविरुद्ध सधैं लडिरहने चेतावनी दिए।

उनले प्रधानमन्त्री ओली ‘मार्सीजस्ता माफियाको नाइके भएको’ आरोप बताए।

‘कसैले सम्बन्धन चाहन्छन् भने सम्बन्धन दिनुपर्छ। तर, त्यो विधि र प्रक्रियाअनुसार हुनुपर्छ। म सम्बन्धनको विरोधी होइन। विधि र प्रक्रियाको पक्षपोषक हुँ,’ डा. केसीले भने।

दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा पुगोस्, सबैले सुलभरूपमा चिकित्सा शिक्षा पढ्न पाउन् भन्ने नै आफ्नो लडाइँ भएको उनले बताए। उनले प्रदेश–प्रदेशमा मेडिकल कलेज खोलिनुपर्ने बताए।

पहिलाका सरकारले गरेका सम्झौता पनि ओलीले लुकाउने गरेको डा. केसीको आरोप छ। ओलीले जनताको मतमाथि कुठाराघात गरिरहेको बताए।

ओलीको उपचारका लागि जनताले करोडौं कर बुझाइरहेको भए पनि ओली जनतालाई सिटामोल दिन पनि जिम्मेवार नभएको आरोप डा. केसीले लगाए।

केसीले पहिलेका सरकारबाट सकारात्मक पहल भए पनि ओलीका पालामा ६ पटक अनसन बस्दा एउटा पनि उपलब्धि नभएको बताए। उनले आफूसँगका सम्झौता रोकेर बिचौलिया र डनको नाइकेगिरी गरेको भन्दै ओलीको आलोचना गरे।

‘प्रसाईंले पैसा ख्वाएर ओलीलाई कार्यक्रममा लगेका हुन्,’ डा. केसीले आरोप लगाए, ‘शिक्षामन्त्री कृष्णगोल श्रेष्ठलगायत प्रधानमन्त्रीका सबै मन्त्री पनि उनीजस्तै भ्रष्ट छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय