बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंको प्रचण्डलाई चेतावनी- विचार गर्नुहोला!

झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केपी ओलीसँग मिल्न आग्रह गरेका छन्। पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईंले दुई नेता मिल्नुको विकल्प नरहेको दावी गरे।

फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी अडान भएका प्रधानमन्त्री ओलीसँग प्रचण्डले सहकार्य गर्नुपर्ने प्रसाईंले बताए। ‘यसका लागि अझै पनि संविधानसभा अध्यक्ष र मजस्ता शुभचिन्तक निरन्तर लागिपरेका छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले फराकिलो छाती बनाएकै कारण नेपालमा दुई तिहाईको सरकार बनेको उल्लेख गर्दै प्रसाईंले भने, ‘गणतन्त्रमा तपाईंले नै प्रमुख भूमिका खेलेको हो। त्यसैले तपाईंहरु दुई मिल्नुको कुनै विकल्प छैन। तपाईंहरुको मिलन भयो भने नेपाली जनताको विकास र समृद्धिको उद्देश्यलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन।’

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठका कारण पार्टी फुटेको इंगित गर्दै प्रसाईंले काजीहरुको चंगुलबाट प्रचण्ड बाहिरिनुपर्ने तर्क गरे।

‘जनयुद्ध पनि नभोगेका र जनयुद्ध नदेखेका काजी सापहरुको पछि लाग्नु हुन्छ भने ती काजीहरुले तपाईं (प्रचण्ड) लाई जनताको मन मस्तिष्कमा होइन माइतीघर मण्डलाबाट धेरै पर हुत्याएर घर न घाटको बनाउनेछ’ प्रसाईंले भने।

‘काजीहरुको संगत नछाडे तपाईं (प्रचण्ड) एकदिन पक्कै पनि पछुताउने हुनेछ,’ प्रसाईंले भने, ‘जतिबेला ऐतिहासिक संघर्षको नेतृत्व तपाईंले गरिरहनुभएको थियो। त्यतिबेला काजीसापहरुले बदनाम गराउन न्वारानदेखिको बल लगाएर हिँडेको बिर्सिनुभयो?’

प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको लिगेसीमा काजी सापहरुले राज्य सत्ताको दुरुपयोग गरेको नेपाली जनताहरुले नरुचाएका बताउँदै प्रसाईंले चेतावनीस्वरुप प्रचण्डलाई विचार गर्न आग्रह गरेका छन्।

‘राजनीतिमा कुनै विचार नभएका काजीसापहरु तपाईंको नजिक भए। हामीजस्ता लाखौं शुभचिन्तकहरु तपाईंबाट आउट हुन बाध्य भए। अहिले पाखा लागेका छौं,’ उनले भने, ‘म फेरि पनि भन्छु। मजस्ता तपाईका लाखौं शुभचिन्तकहरुको आवाज पनि हो। तपाईंले कति विचार गर्नुभएको छ। मलाई थाहा छैन। परिस्थित यस्तो भएको छ।’

‘पार्टीमा काजीसापहरु इन भएपछि बाबुरामहरु आउट भएका छन्। पार्टीमा काजीहरु इन भएपछि जीवनभर तपाईंका राजनीतिक गुरु मोहन वैद्यहरु आउट भएका छन्। पार्टीमा सिन्को योगदान नभएका काजीहरुको हालीमुहाली भएपछि तपाईलाईं सहायक कमाण्डर भएर साथ दिने बादल, टोपबहादुर, प्रभु मणि थपाहरु आउट भएका छन्’, उनले भने।

‘पार्टीमा काजीहरुको रबैयाले हद नाघेपछि जुझारु विप्लवहरु आउट भएका छन्। तसर्थ अलिकति निधार खुम्च्याएर सोच्नुहुन्छ भने तपाईंले ती लोभीपापी काजीहरुको चंगुलबाट बाहिर निस्किने हिम्मत गर्नैपर्छ। र, फराकिलो छात्ती भएका राष्ट्रवादी नेता केपी शर्मा ओलीसँग तपाईले सहकार्य गर्नैपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय