चितवनमा उत्पादित तरकारीमा ९८.७७ प्रतिशतसम्म विषादी

वसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ फागुन १८ गते १०:४९

चितवनमा उत्पादित तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको पाइएको छ। उत्पादन बढाउन र सूचीकृत नभएका बीउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषादीको प्रयोग हुने गरेको हो।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार, यहाँ गोलभेडा, भेडेखुर्सानी, ब्रोकाउलीमा बिषादीको प्रयोग अत्याधिक भएको छ।

‘भरतपुरको बिषादी अवशेष द्रुत विशलेषण प्रयोगशालामा तरकारीको नमुना परीक्षण गर्दा पूर्वि चितवनको गोलभेडा, पाख्रिबासको भेडेखुर्सीनिमा अर्गानो फस्फेट ४५ प्रतिशत भन्दा बढी र ब्रोकाउलीमा ४० प्रतिशत देखिएको छ’, कृषि ज्ञान केन्द्र चितवनकी बालि संरक्षण अधिकृत पुर्णिमा क्षेत्रीले भनिन्, ‘यो मात्रा खान अयोग्य बिषादी हो।’ चितवनको गोलभेडामा पटक पटक बिषादीको बढी प्रयोग भएको देखिएको छ। यस अघि पनि जिल्लामा ५ क्रेट गोलभेडा नष्ट गरिएको थियो।’

उनका अनुसार तरकारीमा अर्गानो फस्फेट ३५ प्रतिशत भन्दा माथि देखिएमा तरकारी प्रयोग गर्न मिल्दैन। तर, ३५ देखि ४५ प्रतिशतसम्म देखिएको तरकारीलाई केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम देखिएमा खान मिल्ने क्षेत्रीले जानकारी दिइन्।

प्रदेश सरकारको सहयोगमा भरतपुर महानगर फलफुल तथा तरकारी थोक बजारमा बिषादी अवशेष द्रुत बिषलेषण प्रयोगशाला राखिएको छ। यहाँ नियमित ५ वटा नमुना परीक्षण हुने गर्छ। २०७६ पौष महिनादेखि यता केरा, गोलभेडा, भेडेखुर्सानी लगायतका तरकारीमा बिषादी बढी देखिएपछि नष्ट गरिएको छ। प्रयोगशालाबाट अर्गानो फोस्फेट र कार्बोमेट परीक्षण गरिन्छ।

परीक्षणको क्रममा तरकारी र फलफुलमा बढी बिषादी देखिने गरेको भरतपुर महानगर बजार व्यवस्थापन समितिका प्रबन्धक थीर प्रसाद धितालले जानकारी दिए। ‘केरा र टमाटरमा त बिषादी बढी देखिएर नष्ट नै गरेका थियौं’, उनले भने, ‘बिषादी देखिएर होल्डमा राख्नुपर्ने तरकारी त थुप्रै हुन्छन्।’ बिषादी प्रयोग गरेको छोटो समयमै तरकारी बजारमा ल्याउँदा बिषादीको मात्र बढी देखिएको उनले बताए।

चितवनको तरकारीमा बढी बिषादी पाइएपछि कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समिति काठमाडौंले कृषि ज्ञान केन्द्र चितवनलाई पत्र समेत लेखेको छ।

कालीमाटी प्रयोगशालाका अनुसार भरतपुर नगरपालिका २४ धुर्व नगरका कृषकले लगाएको फर्सिमा ९८.७७ प्रतिशत अर्गानो फस्फेट देखिएको छ। जुन ४५ प्रतिशत भन्दा माथि अर्गानो फस्फेट देखिएमा सो वस्तु खान अयोग्य मानिन्छ।

‘बढी मात्रामा तरकारीमा विषादी प्रयोग हुने र त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु-याउने गरेको बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उपनिर्देशक डाक्टर कृष्णसागर पौडेलले बताए। बिषादी हालेको तरकारी सेवन गर्दा छाला, आन्द्रा र रक्त क्यान्सर हुन्छ। यस्ता बिरामी दिनप्रतिदिन बढ्दै छन्’, उनले भने, ‘अहिले तरकारी बढी उत्पादन हुने काभ्रे, धादिङ, चितवन लगायतका मान्छेमा छाला, आन्द्रा र रक्तक्यान्सर बढी देखिएको छ।’ सुरक्षा सावधानि नअपनाई बिषादी छर्दा छालाको क्यान्सर हुने र बढी बिषादी प्रयोग गरेको तरकारी खादा आन्द्रा र रक्त क्यान्सर हुने उनले बताए।

‘जिल्लामा बढेको विषादी प्रयोगलाई न्यूनीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र चितवनले सचेतनाका कार्यक्रम गर्दै आएको छ। हामीले बिषादी रहित सप्ताह मनाएर किसानहरुलाई बिषादी न्यूनिकरण गर्नका लागि प्रयास गरेका छौं। कहिले जनचेतना मुलक सुचनाहरु सञ्चार माध्यमबाट प्रसारण गर्ने गर्दछौं’, कार्यालय प्रमुख राजन ढकालले भने, ‘बिषादी न्यूनिकरणमा किसानहरु आफै लाग्न पनि जरुरी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय