कमिसनको चंगुलमा वीर : उपकरण मर्मतमा ध्यान छैन, नयाँ किन्ने हतारो

बारम्बार रिंगटा लाग्ने समस्या देखिएपछि नुवाकोटकी सबिता दाहाल आइतबार जँचाउन वीर अस्पताल आइपुगिन्। चिकित्सकले उनलाई एमआरआइको सिफारिस गरे।

उनी पालो लिन रेडियोलोजी विभाग गइन्। एमआरआइका लागि उनको पालो चैत १२ चैत पर्‍यो। रोग बोकेर घर फर्किनु कि निजीमा गएर परीक्षण गर्नु? उनी अलमलमा छिन्।

सुलभ र बहुविशेषज्ञ सेवा भएको प्रमुख सरकारी अस्पतालमा रेडियोलोजी विभागमात्रै होइन, अन्य विभागमा आउने बिरामीको पनि अवस्था उस्तै छ।

‘टाउको दुखेर खपिनसक्नु भएको छ। एमआरआइ गर्न एक महिनापछिहखे समय दिएका छन्,’ उनी भन्छिन्, ‘बरु निजी अस्पतालमा जान पाएको भए चाँडै उपचार हुन्थ्यो कि!’

निजीमा निकै महँगो पर्ने सिटिस्क्यान, एमआरआइदेखि अन्य थुप्रै रेडियोलोजिकल परीक्षणका लागि सास्ती भोग्नु वीर आउने अधिकांश बिरामीका साझा समस्या हुन्।

सरकारले प्रत्येक वर्ष महँगा उपकरण खरिदका लागि करोडौं खर्चिए पनि सर्वसाधारण बिरामीका लागि परीक्षण सहज बन्न सकेको छैन।

धेरै महँगा र महत्वपूर्ण परीक्षणमा कि उपकरण बिग्रिएको बहाना बनाइन्छ, कि किनेका उपकरण पनि छिट्टै बिगारिन्छ र बनाउन कुनै तदारुकता देखाइन्नँ।

सिटिस्क्यान बिग्रिएको दुई वर्ष भयो, बनाउने सुरसार छैन

रेडियोलोजी विभागको सिटिस्क्यान मेसिन बिग्रिएको दुई वर्ष पुगिसकेको छ। तर, अस्पताल प्रशासनको ध्यान मर्मतमा भन्दा नयाँ खरिदमा छ।

पुरानो सिटिस्क्यानको ट्युब बिग्रिएकाले मर्मत गर्न धेरै खर्च लाग्ने भएकाले अर्को मेसिन खरिद गरेको अस्पताल प्रशासनको तर्क छ।

बिग्रिएको सिटिस्क्यान स्वास्थ्य सेवा विभागले दिएको हो। निजीमा वर्षौं चल्ने करोडौंको उपकरण वीरमा चार वर्षमात्रै चलेपछि ट््युब बिग्रिएको थियो। त्यसपछि झन् बिगारिएको हुन सक्ने आशंका कर्मचारीहरूकै छ।

उपकरण मर्मत खर्च बढी लाग्ने देखिएको वीरका निर्देशक डा. केदार सेन्चुरीको भनाइ छ।

‘सिटिस्क्यान मर्मतभन्दा किन्न सस्तो पर्ने देखिएको छ। ट्युब बिग्रिएको छ। मर्मत गर्नै एक करोडभन्दा बढी लाग्छ,’ उनले भने, ‘विभागबाट नयाँ किन्न नै उपयुक्त हुन्छ भनेर सिफारिस आएको छ। बिग्रिएको मेसिन बनाएपछि कति समयसम्म चल्छ भन्ने ठेगान नभएकाले नै नयाँ किन्न लागिएको हो।’

सामान्य मर्मत नगर्दा इन्डोस्कोपीको उही हाल

अस्पतालमा इन्डोस्कोपी मेसिन बिग्रिएपछि सेवा ठप्प छ।

दुई सातादेखि इन्डोस्कोपीको सेवा लिन आउने बिरामी अन्य अस्पताल जान बाध्य भइरहेको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख कन्सल्टेन्ट डा. विधाननिधि पौडेल बताउँछन्।

‘धेरै समयदेखि एउटा मात्रै मेसिन चलेको थियो। त्यो पनि दुई हप्तादेखि सञ्चालन गर्न सकिएन,’ डा. पौडेलले भने, ‘अस्पताल प्रशासनलाई बारम्बार जानकारी गराएका छौं। तर, मेसिन बनाउने ध्यान नै दिइँदैन।’

धेरै लामो समयसम्म पेट दुखिरहने, बान्ता हुने, क्यान्सरको शंका लागेका व्यक्ति, बान्तामा रगत देखिने, खाना निल्न गाह्रो हुने, दिसा कालो हुनेलगायत पेटसँग सम्बन्धित समस्याका बिरामीको इन्डोस्कोपी गर्नुपर्छ।

‘दैनिक ५० जनाभन्दा बढीको इन्डोस्कोपी गर्दै आएका थियौं। इन्डोस्कोपी मेसिन बिग्रिएपछि बिरामीलाई अन्तै पठाउनुपर्ने बाध्यता छ,’ पौडेलले भने।

चार वर्षअघि वीर अस्पतालमा पाँचवटा इन्डोस्कोपी मेसिन सञ्चालनमा थियो। तर, अहिले एउटामात्र मेसिन रहेकोमा त्यो पनि दुईसाता अघि बिग्रिएपछि वीर अस्पताल इन्डोस्कोपी सेवाविहीन बनेको हो।

‘एउटा इन्डोस्कोपी खरिद गर्न ३० लाखसम्म पर्न आउँछ। खरिद मूल्यभन्दा मर्मत खर्च बढी भएको भन्दै अस्पताल प्रशासनले मर्मत गरेको छैन,’ पौडेलले भने, ‘न हालसम्म मेसिन नै खरिद गरिएको छ।’

वीरका निर्देशक डा. सेञ्चुरीलाई भने अस्पतालमा कति उपकरण बिग्रिएका छन् भन्ने पनि थाहा छैन।

‘अस्पतालमा कति उपकरण बिग्रिएका छन्। ठ्याक्कै भन्न सक्दिनँ,’ उनले भने, ‘तर, बिग्रिएका उपकरणलाई बनाउने प्रक्रियामा अगाडि बढेका छौं।’

उनका अनुसार बिरामीलाई सहज सेवा दिन कम्तिमा पनि १० वटा इन्डोस्कोपी मेसिन आवश्यक छ।

वीरमा १ हजार शुल्क तिरेर इन्डोस्कोपी गर्न पाइने भए पनि निजीमा यो सेवा लिँदा ३ हजारहाराहारी तिर्नुपर्ने बाध्यता छ।

‘सि आम’ तथा मेमोग्राम बिग्रियो

अस्पतालमा रहेको दुईमध्ये एउटा ‘सि आम’ मेसिन बिग्रिएको छ। १ करोडहाराहारी मूल्य पर्ने यो मेसिनको सहयोगले अंग हेरेर शल्यक्रिया गर्न मिल्छ।

‘बिग्रिएको मेसिन बनाउन संस्थाले चाहने हो भने ठूलो कुरा होइन,’ डा. पौडेलले भने, ‘तर, खै किन बन्दैन? सेवा बन्द हुँदा जनताले दुःख पाइरहेका छन्।’
राम्रो अवस्था नहुँदा नहुँदै पनि हामीले सेवा दिइरहेका छौं।

‘हामीले सयौंचोटि लिखित जानकारी गराएका छौं। डा. सेन्चुरीको इन्टेन्सन नै बुझ्न गाह्रो छ,’ पौडेल भन्छन्।

डा. सेञ्चुरी भने इन्डोस्कोपी मेसिन मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको दाबी गर्छन्।

‘मेसिनहरू धेरै बनाउनुपर्ने छन्। लागत नै ८–१० लाख लाग्ने छन्,’ डा. सेञ्चुरीले भने, ‘मेसिन सप्लाइ गर्ने कम्पनीलाई बनाइदिनू भनेर सम्पर्क गरेका छौं।’

यसरी नै मर्मत गर्दा बन्ने हुँदाहुँदै थन्किएको अर्को मेसिन हो मेमोग्राम। स्तन क्यान्सर पत्ता लगाउन परीक्षण गर्ने मेसिन हो यो। यो पनि थन्किएको एक वर्ष पुगिसक्यो।

उपकरण खरिदका लागि अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयबाट पैसा ल्याउने छ। तर, त्यस्तो रकम अन्यत्रै खर्च गरिरहेको चिकित्सकको आरोप छ।

अघिल्लो वर्ष उपकरण खरिदका लागि १५ करोड ल्याइएको थियो। अस्पताल प्रशासनले उक्त रकम पुरानो खर्चमा सकिएको जानकारी दिनुभयो,’ एक चिकित्सकले भने, ‘पछि ल्याएको सात करोड पनि फ्रिज भयो।’

एक महिनादेखि छैन ‘लेजर’

लेजर प्रविधिलाई पत्थरी फुटाउन प्रयोग गरिन्छ। वीरमा ३० र १२० वाटका लेजर मेसिन थिए।

तर, बिग्रिएको एक महिना भइसक्दा पनि अस्पताल प्रशासनले चासो नदिएको चिकित्सकको गुनासो छ।

१२० वाटको लेजरका लागि भारतबाट थप सामान ल्याएर बनाउनुपर्ने देखिएको छ।

‘हामी भन्दाभन्दै थाकिसकेका छौं,’ डा. पारस श्रेष्ठले भने, ‘हतियार नै नभई हामीले बिरामीलाई कसरी सेवा दिने?’

एक्सरे थन्कियो

वीरका एक्सरेलगायत मेसिन पनि बिग्रिएर थन्किएका छन्। सामान्य खर्च लगाएर बन्ने मेसिन पनि अस्पताल प्रशासनले बनाउन कुनै चासो दिएको छैन।

तीनमध्ये दुइटा एक्स–रे मेसिन बिग्रिएर थन्किएका छन्। बिरामीलाई औषधी खुवाएर गरिने स्पेसल एक्सरे मेसिन तीन वर्षदेखि बिग्रिएर थन्किएको छ।

यो एक्सरेबाट दैनिक २०–२५ जनाको एक्सरे हुन्थ्यो। एकजनाको १ हजार ५ सयहाराहारीमा एक्सरे हुने भए पनि निजीमा जाँदा ५–६ हजार शुल्क तिर्नुपर्छ। साधारण एक्सरे गरेर रोग पहिचान नभए यस किसिमको एक्सरे गरिन्छ।

ओटीका १० भेन्टिलेटर पनि बिग्रिए

अप्रेसन थिएटरका करिब १० वटा भेन्टिलेटर बिग्रिएका छन्।

आइसियुमा आवश्यक भेन्टिलेटर पनि बिग्रिएको छ। तर, कोरोनाका कारण मर्मत सामग्री नपाएकाले धेरै उपकरण बनाउन समस्या भएको डा. सेञ्चुरीको भनाइ छ।

‘जुन कम्पनीसँग सामान किनेको हो। त्यही कम्पनीको पार्ट्स लाग्छ। कोभिडका कारण तेस्रो देशबाट आउने सामानको अभाव छ। सामान नपाएका कारण केही मेसिन बनाउन सकेका छैनौं,’ डा. सेञ्चुरीले भने।

एक वर्षदेखि प्लान्ट बिग्रिएको छ, बनाउन छाडेर करोडौंको अक्सिजन खरिद गर्दै

गत वर्ष चैतमा बिग्रिएको वीरको अक्सिजन प्लान्ट हालसम्म बनाइएको छैन।

डा. सेञ्चुरीका अनुसार उक्त अक्सिजन प्लान्ट नै बन्ने प्रक्रियामा छ।

तर, अक्सिजन खरिदको कमिसन खान अक्सिजन प्लान्ट मेसिन बिगारिएको अस्पताल कर्मचारीहरूको आरोप छ।

उक्त मेसिन ३५ लाखमा बन्छ। तर, अस्पतालले अक्सिजन प्लान्ट मर्मत नगर्दा अक्सिजनका सिलिन्डर खरिदमा करोडौं खर्च गरिरहेको छ।

२०७४ वैशाखमा २ करोड ६६ लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्ट २०७६ चैतमा बिग्रिएको थियो।

दैनिक १ सय ५१ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने उक्त प्लान्ट अहिले अस्पताल परिसरमा अलपत्र छ।

‘लकडाउनका कारण सामान ल्याउन सकेका थिएनौं। अहिले सामान आएको छ,’ डा. सेञ्चुरीले भने, ‘हामी बनाउने प्रक्रियामा छौं। अक्सिजन प्लान्ट छिट्टै सञ्चालन गर्छौं।’

प्रतिसिलिन्डर १ सय ७५ रुपैयाँ पर्ने अक्सिजन वीरले ४ सयमा किन्दै आएको छ। वीरमा प्रतिदिन ९० देखि १ सय सिलिन्डर खपत हुने गरेको प्रशासनको तथ्यांक छ।

अस्पताल प्रशासनका अनुसार मेसिनले वार्षिक १ करोड रुपैयाँबराबरको अक्सिजन उत्पादन गर्दै आएको थियो।

कमिसनको चक्कर

अस्पताल प्रशासनले उपकरण महँगोमा किन्ने गरेको र त्यसमा कमिसन खाने गरेको चिकित्सकको आरोप छ।

‘नयाँ मेसिन किन्न प्रशासन तयार भइरहेको हुन्छ। तर, बिग्रिएको मेसिन बनाउन चाहिँ वास्तै गर्दैनन्,’ एक चिकित्सकले भने, ‘अस्पताल प्रशासन नै कमिसनको खेलमा लागेपछि जनताले कसरी सेवा पाउँछन्?’

ती चिकित्सकका अनुसार धेरै उपकरण मर्मत नभएर थन्किएका छन्।

‘वारेन्टी लिएर ल्याएका उपकरण धेरै बनेका छैनन्। नयाँ किन्न पाए कमिसन आउने भएकाले पुरानो सामानको मर्मत किन गर्छन र?,’ उनले भने।

समयमै मर्मत नभएकाले धेरै चिकित्सक निराशाको वातावरणमा काम गर्न बाध्य भएको ती चिकित्सकको भनाइ छ।

तर, डा. सेञ्चुरीले उपकरण खरिदमा कमिसनको कुनै खेल नभएको दाबी गरे।

‘यो कुरा गलत हो। सकेसम्म मर्मत गर्न कोसिस गरिहेका हुन्छौं। मर्मत गर्नुभन्दा किन्न सस्तो हुन्छ। अवश्य पनि किन्नै ठिक होला, होइन र?,’ डा. सेञ्चुरीले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय