४५ वर्ष बिनापैसा जाँचेका ‘डाक्टर बा’
जीवन यात्रा हो। जो समय चक्रसँगै निरन्तर बगिरहन्छ।
अन्तिम गन्तव्यमा नपुगुन्जेल खहरे खोला, नदी हुँदै सागरमा बिलिन हुन पुगे झैं।
जीवनको अन्तिम गन्तव्य परमात्मामा लिन हुनु हो।
जीउँदो हुँदा मानिसमा थुप्रै चाहना हुन्छन्। थुप्रै सपना हुन्छन्। सपना भनेको जीवन यात्राको नक्सा हो।
मान्छे त्यही बाटो पछ्याउँदै अगाडि बढिरहेको हुन्छ।
आज सुन्दा सामान्य लाग्ने, तर मुलुकका लागि ठूलो सपना बोकेर सेवा गरेका कर्मठ डाक्टर गुमाएको छ– ८८ वर्षीय डा. शंकरप्रसाद उप्रेती। जो स्त्री तथा प्रसुती रोग विशेषज्ञ थिए।
उनै उप्रेती शनिबार राति ११ बजे देहलिला त्याग गर्दै परमात्मामा लिन भए।
डा. उप्रेतीको १९९१ सालमा तेह्रथुममा जन्मिएका थिए।
उनी पढाइमा निकै लगनशिल थिए। २०१७ सालमा भारतबाट एमबिबिएस गरे। नेपाल आए। आयोग लडे। सरकारी सेवामा नाम निकाले। पाँच वर्ष सेवा पनि गरे। उनले धनगढी र भोजपुरमा सरकारी सेवामा हुँदा काम गरे।
काम गर्दागर्दै उनको सोच फेरियो। सरकारी जागिर गर्न मन लागेन। बाटो मोडियो। र, छाडिदिए सरकारी जागिर।
उनको जीवनको एक सपना थियो– दुर्गममा सेवा गर्ने। बिपीको भनाइबाट प्रेरित भएका डा. उप्रेतीले सरकारी सेवा छाडेर झापाको दुर्गम क्षेत्र शनिश्चरेमा बसेर बिरामीलाई निःशुल्क सेवा दिन थाले।
…
उनलाई नजिकबाट चिन्ने वरिष्ठ साहित्यकार कृष्ण धरावासी डा. उप्रेती सादा जीवन उच्च विचार भएका व्यक्ति रहेको सम्झिन्छन्।
उप्रेतीको समयमा नेपालमा विशेषज्ञ डाक्टरको संख्या असाध्यै नगण्य थियो।
चाहेको भए उप्रेती सरकारी सेवामा राम्रै तह र ओहदामा बस्न सक्थे।
‘उहाँमा कसैको दबाबमा बसेर काम गर्ने स्वभाव थिएन। सरकारी सेवामा काम गर्दा अरूले भनेको मान्नुपर्ने। कतिपय ठाउँमा मनले नचिताएको काम पनि गर्नुपर्ने हुन्छ,’ साहित्यकार धरावासी भन्छन्, ‘डा. उप्रेति त्यस्तो स्वभावको हुनुहुन्थेन। त्यसैले उहाँले सरकारी जागिर खानुभएन।’
डा. उप्रेतीले ४५ वर्ष झापा बसेर निःशुल्क स्वास्थ्य सेवा गरे। ‘उहाँ बिरामी जाँचेको पैसा लिनुहुन्थेन। औषधीको पनि परेको मूल्यमात्रै लिनुहुन्थ्यो। अस्पतालको कुनै बोर्ड टागिएको थिएन,’ धरावासी भन्छन्।
अस्पतालको बोर्ड थिएन। तर, बिरामीहरू उनको अस्पताल खोजीखोजी आउँथे। सुत्केरी गराउनुपरे उनकै खोजी हुन्थ्यो। धारावासीले आफूसँग कुरा गर्दै डा. उप्रेतीले ३८ हजारको सफल सुत्केरी गराएको रेकर्ड देखाएको स्मरण गरे।
‘३८ हजारको सफल डेलिभरी गराएर उहाँले ३८ हजार मानिसलाई संसार देखाउनुभयो,’ उनी भन्छन्।
…
डा. उप्रेती सफल डाक्टर मात्रै होइनन्, उनी प्रजातान्तिक आन्दोलनका कर्मठ योद्धा पनि हुन्। उनी ४२ सालको सत्याग्रह होस् वा ४६ सालको आन्दोलन, थुपै पटक जेल परेका थिए।
नेपाली कांग्रेसबाट उनी ६ वर्षसम्म राष्ट्रियसभा सदस्य पनि भए।
धरावासीका अनुसार डा. उप्रेती अत्यन्त दयालु र दानी व्यक्ति थिए। उनमा लोभ थिएन।
डा. उप्रेती पैसा नहुने विपन्न व्यक्तिको उपचारमात्रै निःशुल्क गर्थेनन्। औषधी पनि निःशुल्क नै दिन्थे।
३८ हजार महिलालई सुत्केरी गराउँदा उनले दुई सयको पोषयुक्त औषधी पनि किनेर दिएको धरावासी स्मरण गर्छन्। त्यसैले उनलाई झापामा सबैले ‘आदर्श डाक्टर बा’ भनेर सम्बोधन गर्थे।
उनले जीवनमा ५० वर्ष चिकित्सा सेवा गर्ने संकल्प लिएका थिए। सोहीअनुसार उनले सेवा गरे। र, सेवा गरेको ५० वर्ष पुगेको दिन उनले कामबाट सन्यास लिएका थिए। १०–१२ वर्षदेखि उनी काठमाडौंमा जीवन विताइरहेका थिए।
उनका एक छोरा छन्। उनका छोरा सञ्जीव उप्रेती पनि नागरिक अभियन्ता हुन्।
उप्रेतीले आत्मसंस्मरणको कृति ‘जीवन एक सपना’ मा लेखेका छन्। जसमा उनले आफ्नो संघर्षमयी जीवन यात्राबारे उल्लेख गरेका छन्।
डा. उप्रेतीको आइतबार बिहान साढे ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।