प्रचण्ड छाडेर ओलीतिर लागेका प्रसाईंको कलेजलाई कानुन छलेर सम्बन्धन

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ र गठित चिकित्सा शिक्षा आयाेगको क्षेत्राधिकार मिचेर काठमाडौं विश्व विद्यालयल‌े झापाको बिवादित बिएन्डसी मेडिकल कलेज सम्बन्धन दिने निर्णय गरेको छ।

अघिल्ला उपकुलपतिहरूले विश्वविद्यालयको क्षमता नभएको भन्दै टारिरहेको अवस्थामा नवनियुक्त उपकुलपति भोला थापाले सम्बन्धित संकायका डिनको सहमति विपरित शिक्षा मन्त्रीको आदेशअनुसार भन्दै सम्बन्धन दिने‌ निर्णय गराएका छन्।

बिएन्डवीका सञ्चालक दुर्गा प्रसाईं हुन्। नेकपा एकिकरण हुनेबेला केपी शर्मा ओली र प्रचण्डलाई घरमै बोलाएर मिटिङ गराएका प्रसाईं अहिले ओली तिर लागेका छन्।

त्यतिबेला अध्यक्षद्वयले मार्सी चामलको भात खाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

ओलीले प्रसाईं नै सञ्चालक रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको यही १८ गते उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रम उद्घाटन गर्न जानुअघि ओलीले आफ्नो विश्वासपात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमार्फत दवाव दिन लगाएर सम्बन्धनको निर्णय गराएका हुन्।

नियमनअनुसार मेडिकलले कलेजको सम्बन्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिन्छ। तर, केयुले आयोगको सिफारिसविनै सम्बन्धन दिने निर्णय गरेको हो।

चिकित्सा शिक्षा ऐनमा प्रस्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ।

ऐनमा उपत्यकाबाहिरको र पूर्वाधार पुगेको कलेजलाई सम्बन्धन दिन लचक हुने प्राब्धान भएपनि ऐनअनुसार दिएको पहिलो सम्बन्धनमै ऐन मिचिएको हो ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत अहिले नै झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेकोमा नयाँ मेडिकल कलेजका लागि अनुमति दिनसक्ने अधिकार छैन।

केयुको सिनेट बैठकमा स्कुल अफ मेडिकलका डिन डा. राजेन्द्र कोजुले भने यो विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै नोटअफ डिसेन्ट लेखेका थिए।

तर, उपकुलपति थापाले जसरी पनि निर्णय गर्नुपर्ने भन्दै जवरजस्ती प्रक्रिया अगाडि बढाएका थिए।

मेडिकल कलेजले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत केयुमा एमबिबिएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिकका लागि निवेदन पेश गरेको थियाे ।

‘सहकुलपति एवं शिक्षा मन्त्रीबाट निर्देशन भए अनुरुप त्यस बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको सम्बन्धनको विषयबारे बैठकमा छलफल हुँदा उक्त संस्थाको संस्थाको सम्बन्धन प्रक्रिया अगाडिबढाउने निर्णय भयो’ बैठकको माइनुटमा उल्लेख छ।

केयुले नियमविपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खबर बाहिरिए लगत्तै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएका थिए।

केसीले विज्ञप्ति जारी गर्दासम्म विश्व विद्यालयले प्रक्रिया मात्रै अगाडि बढाउन खोजेको सूचना बाहिरिएको थियो।

तर, थापाले दवावै दिएर निर्णय नै गराएका छन्। स्रोतका अनुसार उपकुलपति हुनेबेला नै थापाले प्रधानमन्त्री निकटका व्यक्तिलाई रिझाउन प्रसाईंको प्रयोग गरेका थिए।

यो प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको केयुका पदाधिकारीहरूको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय