म्याग्नसले उत्पादन गरेको फंगल्सको औषधि न्युन गुणस्तरको, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

हेल्थपोस्ट नेपाल

चर्चित नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्माले उत्पादन गरेको फंगल्स समस्यामा प्रयोग हुने इरोगोनोल–२०० ब्राण्ड नामको औषधि इट्राकोनाजोल न्युन गुणस्तरको भेटिएको छ।

औषधि व्यवस्था विभागले बजारबा नमूना संकलन गरेर परीक्षण गर्दा ब्याच नम्बर जेवाइ १९००२ को औषधिमा तोकिएअनुसारको मात्रा र गुणस्तरसमेत नपुगेको पाइएको हो।

‘बिरामीले खाएपछि प्रभावकारी हुनका लागि घुलनसील हुनुपर्छ, त्यसमा पनि समस्या छ,’ विभाग स्रोतले भन्यो, ‘तोकिएअनुसारको मात्रा पनि छैन।’

कम्पनीले तोकिएको औषधि नराखी प्रिजरभेटिभ्स हालेर परिमाण पु-याएको पाइएको छ। अन्य गम्भीर रोगका समेत औषधि उत्पादन गर्दै आएको म्याग्नससहित अन्य ८ कम्पनीका औषधिमा समस्या देखिएसँग विभागले तत्काल फिर्ता गर्न पत्राचार गरेको छ।

सामान्यतः विभागले मानव स्वास्थ्यमा प्रयोग हुने यस्ता औषधिको गुणस्तरमा समस्या देखिँदा रिकलका लागि निर्देशन दिएर औपचारिकता मात्रै निर्वाह गर्छ। कम्पनीहरूले पनि बजारबाट फिर्ता गरेकोजस्तो मात्रै गरेर मानव स्वास्थ्यमा खेलबाड गर्दै आएका छन्।

औषधिमा आत्मनिर्भर रहेको भन्दै आयातमा प्रतिवन्धको माग गर्दै आएका नेपाली औषधि कम्पनीहरूका उत्पादनमा निरन्तर समस्या देखिन थालेको छ।

खासगरी कम्पनीले औषधि उत्पादनका लागि केमिकल नै कमसल ल्याउँने हुनाले औषधिमा पटक-पटक समस्या आउने गरेको अधिकारीहरू बताउँछन्।

विभागले सात कम्पनीका ८ ब्रान्डका औषधी बिक्री वितरणमा रोक लगाएको छ। त्यसैगरी प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेनाडिन, भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको एटोरभिस्टाटिन पनि कम गुणस्तरको भेटिएको छ ।

एमटेक मेड काठमाडौंको उत्पादन आइनक्स ब्रान्ड नामको दुई वटा ब्याचको इट्राकोनाजोलमा समेत समस्या देखिएपछि बिक्री वितरणमा रोक लगाइएको छ।

बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान–२०० को बिक्रीमा पनि रोक लगाइएको विभागले जनाएको छ।



One thought on “म्याग्नसले उत्पादन गरेको फंगल्सको औषधि न्युन गुणस्तरको, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

  1. Why quality is down? Is any one looking for the remedy? Are they doing WT (weakness and threat) analysis?
    No one cares.

Leave a Reply

Your email address will not be published. Required fields are marked *