नेता जोशीको उपचारमा संलग्न चिकित्सक भन्छन्–अवस्था नाजुक छ, केही भन्न सकिन्न

मस्तिष्काघात भएर नर्भिक अस्पतालमा भर्ना भएका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ।

बिहीबार राति शरीरको देब्रे भागमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट बिहान नर्भिक अस्पताल लगिएको हो।

अस्पतालका उपनिर्देशक डा‌‌ विप्लब सापकोटाका अनुसार जोशीको अवस्था अत्यन्तै नाजुक छ।

‘उहाँलाई मस्तिष्कघात भएको हो। मस्तिष्कमा भएको रगत झिकेका छौं,’ सापकोटाले भने, ‘रगत पास भइरहेको छ। भेन्टिलेटरमा उपचार भइरहेको छ।’

मस्तिष्कघात भएको ४८ घन्टासम्म बिरामीको होस फर्किने आसा हुने उनले बताए। उनको उपचार न्यूरो विशेषज्ञ डा. राजीव झाको टिमले गरिरहेको छ।

डा. झाका अनुसार जोशीको शल्यक्रिया शुक्रबार बिहान १० बजे गरिसकिएको छ। ‘उहाँको अवस्था एकदमै नाजुक छ। कोमामै हुनुहुन्छ।’ उनले भने, ‘अहिले केही भन्न सकिन्न।’

उनले शल्यक्रिया गरेर जोशीको मस्तिष्कमा रहेको पानी १३० मिलिलिटरसम्म झिकिएको बताए। रगत र पानी नजमोस् भन्नका लागि पाइप लगाइएको उनले बताए।

‘यो जटिल अवस्था हो, विश्वमा करिब ७० प्रतिशत यस्ता मानिसको मृत्यु हुन सक्छ,’ उनले भने।

डा. झाले जोशीको रक्तचाप एकदमै घटेकाले अहिले बढाउने औषधि दिइएको जानकारी दिए।

‘खोक्दा झड्का परेर मस्तिष्कमा असर गर्ने र रगत बग्ने सम्भावना भएकाले नखोक्ने गरी सुरक्षित रुपमा भेन्टिलेटरमा राखेका छौं,’ उनले भने।

One thought on “नेता जोशीको उपचारमा संलग्न चिकित्सक भन्छन्–अवस्था नाजुक छ, केही भन्न सकिन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय