तार्केश्वरमा फेरि बर्ड फ्लु भेटियो
काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ। तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा बिहीबार एकैदिन साढे १२ हजारबढी कुखुरा नष्ट गरिएको छ।
विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ। यस्तै फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४ सय ५० किलो दाना पनि नष्ट गरिएको छ।
यस्तै सरिता शाहको फार्ममा रहेका २ हजार ९ सय ६० ब्रोइलर चल्ला पनि मारिएको छ। यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा नष्ट गरिएको छ।
शान्ता खनालले पालेको एकसय लोकल कुखुरा र दुईवटा टर्की पनि नष्ट गरिएको छ। तारकेश्वरमा यसअघि १४ सयभन्दा धेरै हाँस नष्ट गरिएको थियो।