टिचिङका आवासीय चिकित्सकका गुनासा : एक वर्ष कोरोनासँग जुध्यौँ, भत्ता पाएनौँ
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले जोखिम भत्ता नपाएको भन्दै गुनासो गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै माग सुनुवाई नभए यस्तो आन्दोलन गर्ने चेतावनी दिएका छन ।
कोभिड—१९ विरुद्ध अग्रपंक्तिमा खटिएका आवासीय चिकित्सकलाई उचित मुल्यांकन गर्दै नियमअनुसार जोखिम भत्ता उपलब्ध गराउन उनीहरुले माग गरेका छन।
‘एक वर्षसम्म कोरोनासँग जुध्यौँ, भत्ता अहिलेसम्म पाएनौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘ हाम्रो माग छिटो सुनुवाई नभएमा कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं।’
कोभिड—१९ विरुद्ध सुरुदेखि नै आफूहरु अग्रपंक्तिमा रहेर सेवा दिइरहेको उनीहरूले बताएका छन्।
‘व्यक्तिगत सुरक्षा सामाग्री, क्वारेन्टाइनलगायत विविध अभावै अभावको सामना गर्दै, व्यक्तिगत तथा परिवारको स्वास्थ्यलाई जोखिममा राखेर पटक—पटक सामाजिक अवहेलना सहेर पनि सेवा दियौँ,’ विज्ञप्तीमा भनिएको छ,’ एक वर्ष हुँदासम्म जोखिम भत्ताबाट बन्चित हुनु एकदम खेदपूर्ण छ।’
आवासीय चिकित्सकहरुले मौखिक ध्यानाकर्षण गराउँदा पटक—पटक आश्वासन मात्रै पाएको उनीहरूले जनाएका छन्।
अब पनि समयमा माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चिकित्सकको चेतावनी छ।