सिन्धुपाल्चोक जिल्ला अस्पतालमा टेकुले विशेषज्ञ सेवा दिने
शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालले सिन्धुपाल्चोक जिल्ला अस्पतालमा फागुन महिनादेखि विशेषज्ञ सेवा दिने भएको छ।
सो सेवा सरकारको नियमित कार्यक्रम अन्तर्गतको हो।
जिल्लामा उपलब्ध नभएका जटिल खालका विभिन्न सेवाहरु टेकु अस्पतालका विशेषज्ञ चिकित्सकले दिने भएका हुन्।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार सरूवा रोग, हाडर्जोनी, छाला रोग, इन्टनल मेडिसिनका सेवाहरू दिइने छ।
सो सेवा महिनाको पहिलो बुधबार र तेस्रो बुधबार जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत प्रदान गरिने डा. राजभण्डारीले बताए।
उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्थामा कमी होस् भनेर अस्पतालले यस्तो सेवा सुरु गर्न लागेको हो ।
दुई अस्पतालबीच भएको सहमति अनुसार अहिले टेकुका चिकित्सकले लागि महिनाको दुईदिन सिन्धुपाल्चोकमा गएर सेवा दिनेछन्।
सो सेवा यस आर्थिक वर्षसम्म दिने अस्पताल प्रशासनले जनाएको छ।
सिन्धुपाल्चोकको अन्य स्थानीय सरकारले अस्पताल सँग सम्झौता गरेको खण्डमा सेवा दिने योजनामा रहेको डा. राजभण्डारीले बताए।
‘सिन्धुपाल्चोकको मेलम्ची र बाहविसेमा पनि सेवा दिनका लागि हामी इच्छुक छौं,’ डा. राजभण्डारीले भने, ‘त्यसको लागि स्थानीय सरकारका प्रतिनिधिले हामीसँग सम्झौता गर्नुपर्दछ।’
टेकु अस्पतालको दिने सबै सेवाहरू निशुल्क हुनेछ।