कोरोना खोप : यस्ता समस्या हुनेले लगाउन हुँदैन दोस्रो ‘डोज’

नेपालमा कोरोनाविरुद्ध खोपको पहिलो चरणको अभियान सकिएको छ।

माघ १४ बाट सुरू भएको पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्।

यो संख्या लक्ष्यको ८५ दशमलव ६५ प्रतिशत हो।

कोरोना खोपको डोज पुरा गर्न दोस्रो खोप पनि अनिवार्य हुन्छ।

३ महिनापछि दोस्रो डोज लगाएमा खोपको प्रभावकारिता अझै बढ्दै जाने अन्य देशको अनुसन्धानले देखाएको छ।

नेपाल सरकारले पनि पहिलो डोज लिएको ८ हप्तापछि दोस्रो डोज लिन आग्रह गरेको छ।

केही मानिसमा पहिलो खोप लिँदा केही असर देखिएका कारण दोस्रो खोप लगाउने कि नलगाउने भन्नेमा आशंका पैदा भएको पाइन्छ।

खोप लगाएपछि सामान्यता १५ देखि २० प्रतिशत मानिसमा ज्वरो, वाकवाकी र टाउको दुख्नेजस्ता समस्या देखिएको पाइएको छ।

तर, नेपालमा भने हालसम्म खोपको कारणले मृत्यु भएको घटना भएको छैन।

दोस्रो डोज लगाउँदा पनि पहिलाको जस्तै असर देखिन्छ?

पहिलो डोज खोप लगाउँदा देखिएका असरहरू दोस्रो डोज लिँदा भने केही कम हुँदै गएको विभिन्न अध्ययनले देखाएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन्।

बेलायतको किंग्स कलेजअन्तर्गतको एक अनुसन्धान टोलीले दोस्रो डोज खोप लगाएका १० हजार जनामा गरेको अध्ययनमा पहिलो डोजपछि ३७ प्रतिशतमा सामान्य असर देखिएको पाइएको थियो ।

त्यस्तै, दोस्रो डोज खोप लिएपछि २२ प्रतिशतलाई सामान्य ज्वरो, खोप लगाएको ठाउँ सुन्निनेजस्ता लक्षण देखिएको थियो ।

‘पहिलो डोज लगाएका मानिसले दोस्रो डोज लिन पनि अनिवार्य हुन्छ,’ डा. बाँस्तोला भने, ‘ पहिलो डोजको तुलनामा दोस्रो डोजको असर घटेको देखिएको छ।’

कस्ता असर देखिएका मानिसले दोस्रो डोज लिन हुँदैन?

डा. बाँस्तोलाका अनुसार गम्भीर खालका समस्या देखिएका मानिसले दोस्रो डोज लगाउन हुँदैन।

‘श्वासप्रश्वासमा गाह्रो भएको, बेहोस भएको, मूर्छा परेको, ब्लड प्रेसरमा समस्या भएको जस्ता मानिसले दोस्रो डोज लगाउन हुँदैन,’ डा. बास्तोलाले भने, ‘अन्य साधारण समस्या जस्तै ज्वरो, टाउको, वाकवाकी लाग्ने जस्ता समस्या भएकाले लगाउँदा केही हुँदैन।’

किन देखिन्छ खोपको असर ?

मानिसको शरीरमा भएको रोग प्रतिक्रिया प्रणालीले कुनै पनि नयाँ कुरा प्रवेश हुनासाथ तत्कालै त्यसको प्रभाव देखाउँछ, जसलाई ‘अक्वायर्ड रियाक्सन’ भनिन्छ। यसरी देखिने प्रतिक्रिया मानिसको शारीरिक संरचनाअनुसार फरक–फरक हुन्छ ।

खोपमा कोभिड–१९ भाइरसको भाइरल प्रोटिन (सानो टुक्रा) शरीरभित्र छिराउने गरिन्छ।

यो अति सूक्ष्म हुन्छ। यसले कोरोना भाइरसको प्रोटिनलाई सुरक्षितरुपमा सिरिन्जको माध्यमबाट मानिसको शरीरमा रहेको सेलभित्र पु¥याउन मद्दत गर्ने भाइरोलोजिष्ट डा. बासुदेव पाण्डे बताउँछन्।

‘खोप लगाएपछि सेलभित्र लिपिडको घेराबन्दी तोडेर भाइरसको टुक्रा सेलको साइटोप्लाज्मामा देखापर्छ,’ डा. पाण्डेले भने, ‘यसपछि मानव शरीरभित्रको इम्युन सिस्टममा फैलिन्छ र शरीरभित्र घुलमिल हुने क्रममा शरीरभित्रका तत्वहरू सक्रिय हुँदा कुनै व्यक्तिमा ज्वरो आउने र शरीर दुख्नेजस्ता लक्षण देखिन्छ।’

त्यसैगरी, शरीरको रोग प्रतिरोधात्मक शक्तिले एन्टिजेनसँग रेस्पोन्स गरेको खण्डमा ज्वरो आउने डा. बाँस्तोला बताउँछन्।

‘कुनै व्यक्तिमा खोप लगाइसकेपछि अन्य ब्याक्टेरिया शरीरमा छिरेको अवस्थामा पनि ज्वरो आउँछ,’ डा. बाँस्तोला भन्छन्, ‘कुनै व्यक्तिमा खोप लगाएपछि ज्वरो ल्याउने तत्व हुन्छ। त्यसका कारणले पनि सामान्य समस्या देखिन सक्छ।’

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि सामान्य ज्वरो आउनु, बान्ता आउन खोज्नु, रिँगटा लाग्नु, निद्रा लागेजस्तो हुनु, खोप लगाएको ठाउँमा सुन्निनु, जिउ दुख्नुजस्ता लक्षण सामान्य हुन् ।

यस्ता असरहरू बढीमा चार दिनसम्म देखिनसक्छन्।

के पहिलो डोज र दोस्रो डोजले गर्ने कामको भिन्नता छ?

सामान्यतः कुनै पनि भाइरसविरुद्ध पूर्ण रूपमा काम गर्न खोपका आवश्यक सबै डोज लगाउनैपर्छ।

पूर्ण रूपमा संक्रमणबाट बँच्नका लागि भ्याक्सिनको एक डोजले मात्रै काम नगर्ने भाइरोलोजिष्ट डा. पाण्डे बताउँछन्।

‘कोरोना संक्रमणबाट बँच्न दुई डोज अनिवार्य लगाउनुपर्ने हुन्छ,’ डा. पाण्डे भन्छन्, ‘खोप पूर्ण रूपमा प्राप्त नगरेका व्यक्तिमा पुनः संक्रमण हुने जोखिम रहन्छ।’

भ्याक्सिन आधा डोजमात्रै दिँदा शरीरमा इम्युनिटीले पर्याप्त रूपमा काम नगर्ने उनको भनाइ छ।

कोरोना खोपका दुई डोजले फरक—फरक काम गर्दछन्।

डा. पाण्डेका अनुसार पहिलो डोजले थोरै मात्रामा एन्टीबडी बनाउन मद्दत गर्दछ।

‘पहिलो खोप लगाउँदा केही समयसम्म मात्रै एन्टीबडी रहन्छ। त्यो बिस्तारै घट्दै जान्छ,’ डा. पाण्डेले भने, ‘एन्टीबडी बढाउन दोस्रो डोज खोप अनिवार्य लगाउनुपर्छ।’

शरीरमा भ्याक्सिन लगाइसकेपछि प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण दुईवटा सेता रक्तकोष सक्रिय हुने डा. पाण्डे बताउँछन्।

‘भ्याक्सिन लगाएपछि शरीरमा प्लाज्मा बी सेल र प्लाज्मा टी सेल सक्रिय हुन्छन्, उनले भने, ‘प्लाज्मा बी सेलहरू शरीरमा एन्टिबडी बनाउन केन्द्रित हुन्छन। तर, बी सेल शरीरमा एकदमै छोटो समय मात्रै रहन्छन।’

दोस्रो डोज दिँदा केही समय बी सेलले काम गरे पनि केही हप्तामै गिरावट आउने हुन्छ।

यस्तै, टी सेलले भाइरस पहिचान गर्ने र मार्ने काम गर्छ। टी सेल भने शरीरमा लामो समयसम्म रहिरहने उनको भनाइ छ।

अर्थात्, एकपटक भ्याक्सिन लगाइसकेपछि भ्याक्सिनले जीवनभरि पनि काम गर्नसक्छ। खोपको एउटा डोज भाइरसविरुद्ध लड्न पर्याप्त नहुने डा. पाण्डे बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय