मिर्गौला प्रत्यारोपण गरेकालाई कोरोना खोप कति जोखिम?
करिब एक हप्ताअघि सहकारी अभियन्ता भनेर चिनिने मित्र सेन दाहालको मृत्यु भयो। उनको कोरोना खोप लगाएको केही दिनपछि मृत्यु भएको थियो।
उनी मिर्गौला प्रत्यारोपण गर्नुका साथै कोरोना जितेका व्यक्ति हुन्।
कोरोना खोप लगाएको केही दिनमै उनको मृत्यु भएपछि धेरैको मनमा खोपले असर गरेको होकी भन्ने चिसो पस्यो। मिर्गौला प्रत्यारोपण गरेका धेरै व्यक्ति खोपप्रति ससंकित हुन थाले।
मिर्गौला पीडितको यही जिज्ञासालाई हेल्थपोस्ट नेपालले मिर्गौला रोग विशेषाज्ञ डा. ऋषि कुमार काफ्लेसामू राखेको थियो। काफ्लेका अनुसार कोरोना खोप लगाउनु मिर्गौला पीडितका लागि कुनै जोखिम छैन।
‘खोप कै कारणले हो कि होइन भन्नको लागि अध्ययन गर्नुपर्ला,’ उनले भने, ‘तर, मिर्गौलाका बिरामीसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। त्यसैले उनीहरूले अनिवार्य खोप लगाउनुपर्छ।’
उनका अनुसार अन्य देशमा मिर्गौला फेल भएर प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, मिर्गौलाका समस्या भएकाहरूले खोप लगाउँदा राम्रो नतिजा आएको छ। कोरोना खोपले यस्ता बिरामीलाई बचाउन थप मद्दत गर्ने उनको भनाई छ।
डा. काफ्ले नेपालमा हेपटाइसिस बीको प्रयोगको उदाहरण दिँदै भने, ‘नेपालमा मिर्गौलाको डाइयलासिस सुरूवात गरेदेखि हेपाटाइसिस बी को खोप लगाउन थालिएको थियो। डाइयलासिसि गरेर बसेका मानिसमा हेपाटाइसिस समस्या एकदमै कम मात्रामा छ।’
‘अन्य देशमा हेर्दा रोग सँग लड्ने क्षमता कम भएका क्यान्सर, मिर्गौला, मुटुका बिरामीको खोपको पहिलो प्राथमिकतामा परेका छन्,’ उनी भन्छन्, ‘तर, हाम्रो सरकारले उनीहरूलाई प्राथमिकतमा राख्न सकेन।’
‘धेरै मिर्गौलाका बिरामीले खोप लिने विषयमा सोधिरहेका हुन्छन्। अहिलेसम्म कुनै अप्रिय घटना नदेखिएकाले खोप प्रभावकारी नै छ,’ उनी भन्छन्।