कोरोना बिरामीमा ‘रेम्डेसिभिर’ प्रयोग सुरक्षित : अध्ययन
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेकामा रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापीको संयुक्त प्रयोग नेपालमा सुरक्षित र प्रभावकारी देखिएको छ।
मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै दुवै किसिमको प्रयोग प्रभावकारी भएको जनाएको छ।
रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापी प्रभावकारी अध्ययन गर्नको लागि ३० अस्पतालबाट १ हजार ३ सय १५ कोरोना संक्रमित लिइएको परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले बताए।
सो अध्ययनमा रेम्डेसिभिर प्रयोगले मध्यम संक्रमण भएका बिरामीहरूको निको हुने दर ९८.४ प्रतिशत पाइएको देखाएको छ।
‘कन्भालेसेन्ट प्लाज्मा पाएका अधिकांश बिरामीमा बढी गम्भीर र खतरापूर्ण संक्रमण भएको पाइएको थियो,’ ज्ञवालीले भने, ‘यी बिरामीमध्ये कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीको निको हुने दर ३९ प्रतिशत थियो। रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गरिन निको हुने बिरामीको दर ५४ प्रतिशत थियो।’
अध्ययनले ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकुल असर परेको देखाएको छ। जुलाई २०२० देखि अक्टोबरसम्म अध्ययन गरिएको थियो।