१० लाख ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्यो
१० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल आइपुगेको छ।
सरकारले खरिद गरेको २० लाख डोज मध्ये पहिलो चरणको १० लाख खोप आउने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अनुसार एयर इन्डियाको विमानमार्फत दिल्लीबाट १:३० बजे काठमाडौं आइपुगेको हो।
स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीको अनुसार प्रति एक डोजको मुल्य ४ डलरमा खरिद गरिएको हो।
‘अन्य मुलुकमा खोपको हाराहार भइरहेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘ तर, हामीले विभिन्न सम्बन्धले गर्दा खोप संसारको सस्तो मूल्यमा खरिद गर्यौँ।’
नेपाल सरकारले सेरम इन्स्टिच्यूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो।
सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो।
सरकारले फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो।
दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समुहलाई खोप लगाइने बताइएको छ।