विशाल भवन पाए पनि दुर्दशै छ वीरको

वीरको मुख्य भवन छेउमा टलक्क टल्किने विशाल भवन छ।

त्यो वीरको नवनिर्मित सर्जिकल भवन हो।

तीन वर्ष लगाएर बनेको भवन यही फागुन ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी थियो।

तर, भवन उद्घाटन हुन सकेन।

गरिब जनताको पहुँचका हिसाबले ‘नामी’ तथा देशको पुरानो अस्पतालले समयमै स्रोत–साधन जुटाउन नसक्दा पुरानो भवनमा सेवा दिन बाध्य छ।

२ अर्ब २६ करोडको लागतमा भवन निर्माण कार्य सम्पन्न गरेको छ।

तर, जनशक्ति तथा उपकरण जोहो हुन नसक्दा भवनबाट सेवा सञ्चालन गर्न सकिएको छैन।

जनशक्ति परिपूर्तिमा समस्या

सर्जरी भवन सञ्चालन गर्न ८ सयहाराहारी जनशक्ति चाहिने आँकलन गरिएको छ।

तर, जनशक्ति कहाँबाट व्यवस्थापन गर्ने भन्ने अन्योल छ।

जनशक्ति व्यवस्थापनमा अस्पताल प्रशासनले धेरै पहिलेदेखि पहल गरेको थियो।

त्यहीअनुसार, ५ सय १० बेड सञ्चालन गर्न अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्वेक्षण गरी अस्पतालले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो।

तर, प्रस्ताव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रोकेको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल सञ्चालित छ।

प्रतिष्ठानको ऐन, नियमअनुसार नै अस्पतालले काम गर्नुपर्ने हुन्छ।

प्रतिष्ठानको ऐनले जनशक्ति व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

‘प्रतिष्ठानको ऐनअन्तर्गत नै रहेर काम गर्नू भन्दै सामान्य प्रशासन मन्त्रालयले जनशक्ति प्रस्ताव गरेको छ,’ डा. सेञ्चुरीले भने, ‘प्रतिष्ठानअन्तर्गत राखेर कर्मचारी नियुक्ति गर्दा कर्मचारीलाई तलब खुवाउने अवस्था छैन।’

जनशक्ति नियुक्त गर्न पनि कार्यकारी परिषद निर्णय प्रतिष्ठानको सभा (सिनेट) बाट पास गराएर अनुमति लिनुपर्ने हुन्छ।

प्रतिष्ठानबाट अनुमति लिएर कर्मचारी नियुक्त गरेपछि अस्पतालको आम्दानीबाट तलब खुवाउनुपर्ने हुन्छ।

तर, अहिलेको अवस्थामा प्रतिष्ठानले कर्मचारी नियुक्त गरेर तलब खुवाउन नसक्ने अवस्था रहेको सेञ्चुरीको भनाइ छ।

‘कोरोना महामारीले सेवा अवरुद्ध हुँदा भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिएको छैन,’ उनी भन्छन्, ‘अहिले भएका जनशक्तिलाई सेवा–सुविधा दिन नसक्दा आन्दोलनको अवस्था आयो।’

विकल्प के?

प्रतिष्ठान ऐनमा जनशक्ति आफैं व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

तर, अहिलेको अवस्थामा सयौं जनशक्ति थपेर तलब दिन नसक्ने अवस्थामा प्रतिष्ठान रहेको सेञ्चुरी बताउँछन्।

‘कि त ऐन परिमार्जन गर्नुपर्छ, कि स्वास्थ्य मन्त्रालयले अस्थायी दरबन्दी सिर्जना गरेर थप जनशक्ति व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन्।

उपकरण तथा फर्निचर किन्न थप २ अर्ब आवश्यक

नयाँ सर्जरी भवनमा थप उपकरण तथा फनिर्चर खरिद गर्न थप २ अर्ब रुपैयाँ चाहिने अस्पताल प्रशासनले जनाएको छ।

अहिले सर्जरीमा भएका केही उपकरण काम लाग्छन्। तर, सर्जरीको ठूलो सेवा दिन थप उपकरण आवश्यक पर्ने सेञ्चुरी बताउँछन्।

‘अहिले चलेका केही उपकरण काम गर्छन्,’ उनी भन्छन्, ‘तर, यति उपकरणले हामीलाई पुग्दैन।’

हाल वीरको पुरानो भवनमा पाँचवटा अप्रेसन थिएटर (ओटी) छन्। नयाँ भवनबाट एकैसाथ १५ वटा ओटी सञ्चालन गर्ने तयारी छ।

थप सेवा विस्तार गर्न धेरै उपकरण चाहिने सेञ्चुरी बताउँछन्।

कहिले सञ्चालन गर्न सकिन्छ?

स्वास्थ्य मन्त्रालयले उपकरणका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको थियो। तर, कोरोना महामारीले काममा ढिलाइ भएको डा. सेञ्चुरीको भनाइ छ।

‘अहिले हामीलाई जनशक्ति व्यवस्थापन तथा उपकरणको समस्या हो,’ उनले भने, ‘सर्जरी भवनबाट पूर्णरूपमा सेवा सञ्चालन गर्न तीन–चार महिना लाग्छ।’
तर, सामान्य उद्घाटन गरेर केही वार्डमात्र सञ्चालन गर्न दुई हप्ताजति लाग्ने अस्पतालले जनाएको छ।

सेञ्चुरीका अनुसार यही मितिमा ठ्याकै सञ्चालन गर्न सकिने भनेर यकिन गर्न सकिँदैन।

कुन–कुन सेवा उपलब्ध हुन्छन्?

यो भवनमा जमिनमुनि दुई तला र माथि सात तला छन्। भवनबाट सर्जरी सेवामात्र उपलब्ध हुनेछ।

‘जनरल, न्युरो, युरो, हाडजोर्नी तथा ग्यास्ट्रोलगायत सर्जरी नयाँ भवनमा हुने छ,’ डा. सेञ्चुरीले भने, ‘अन्य सेवा भने हामी पुरानो भवनबाट दिनेछौं।’

अस्पताल प्रशासनका अनुसार नयाँ भवनमा १५ वटा मेजर ओटी कक्ष राखिनेछन्। २० वटा सर्जिकल आइसियु, ३० वटा पोस्टअप वार्ड रहनेछन्।

त्यसैगरी, अरू सिंगल तथा डबल क्याबिन र जनरल कक्ष राखिनेछन्। सोही ब्लकमा सिटिस्क्यान, पेटस्क्यान, एमआरआईजस्ता अत्याधुनिक मेसिन राखिनेछन्।

अस्पताल प्रशासनका अनुसार भवनको छैठौं तलामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यालय राखिने छ।

तेस्रो तलाको एउटा कुनामा वाणिज्य बैंकको काउन्टर तथा फार्मेसी रहने छ। उक्त भवन १७ रोपनी क्षेत्रफलमा बनेको हो।

भवन निर्माणमा सरकारको लगानी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय