‘भक्तपुर अस्पतालमा कायापलट गरेका छौं’

हेल्थपोस्ट नेपाल

भक्तपुर अस्पताल वीरपछिको दोस्रो पुरानो अस्पताल हो। तर, यो अस्पतालले भौतिक पूर्वाधार र मेडिकल सुविधाको सास्ती खेप्दै आएको छ। त्यति हुँदाहुँदै भक्तपुर बागमती प्रदेशकै उत्कृष्ट बन्यो। विभिन्न चुनौतिबीच भक्तपुर कसरी उत्कृष्ट बन्यो? यसै सेरोफेरोमा केन्द्रित रहेर अस्पताल विकास समिति अध्यक्ष मिलन सुवालसँग हेल्थपोस्टनेपालका लागि रेणु त्वानाबासुले गरेको कुराकानी :

थुप्रै समस्या झेलिरहेको भक्तपुर अस्पताल यस वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न कसरी सफल भयो?

समस्या र चुनौतिलाई चुनौतिका रूपमा मात्रै लिनु हुँदैन। चुनौतिलाई समाधान गर्ने दायित्व हाम्रै हो। हामीलाई यो सफलता सेवाग्राहीलाई सुन्तष्टि दिन सकेर प्राप्त भएको हो।

अर्को कारण भनेको अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीको मिहिनेत हो। उनीहरूको सहयोगबिना हामीलाई यो सफलता सम्भव थिएन। यसका साथै अस्पताल चलाउन चाहिने तीन तत्वमा हामीले ध्यान दिएका थियौं।

भौतिक पूर्वाधार, जनशक्ति, इक्विपमेन्ट (प्राविधिक सामान) यी तीन कुरा मिलाएर अघि बढ्दा हामीले राम्रो सेवा दिनसक्यौं। र, उत्कृष्ट उपाधि पाउन सक्यौं।

तपाईं आउँदा सेवा दिन नसक्ने अस्पतालका रूपमा आलोचित थियो, अहिले अस्पतालको अवस्था कस्तो छ?

पहिले र अहिले अस्पताललाई हेर्ने दृष्टिकोण फेरिएको छ। पहिला अस्पताल भूतघर जस्तो थियो। अस्पताल मसान घरजस्तो लाग्थ्यो। सबैले भक्तपुर अस्पतालमा बिरामी लैजानुको कुनै अर्थ छैन भन्थे। यस्तो हुनुको कारण समन्वयको अभाव थियो। पहिला मेसु र अध्यक्षको सरसल्लाह हुँदैन थियो। माथिल्लो तहका व्यक्तिले नै नियम पालना गर्थेनन्। अहिले त्यो अवस्थाको अन्त्य भएको छ।

अस्पतालमा भौतिक र प्राविधिक सुविधा नहुँदा बिरामी रिफर गर्नुपर्ने अवस्था थियो। जसले गर्दा भक्तपुर अस्पतालका लागि बिरामी रिफर गर्नु रहर नभई बाध्यता बनेको थियो।

म आफैं भक्तपुरको स्थानीयमात्र नभई अस्पतालको सेवाग्राहीसमेत हुँ। र, यसको दुरावस्थाबारे जानकार छु। म अध्यक्ष भएपछि भक्तपुर अस्पतालमा आएका बिरामीलाई सकभर रिफर गर्न नपरोस् भन्ने चाहन्थे। त्यसका लागि हामीले प्रभावकारी योजना बनायौं।

एक शताब्दी लामो इतिहास बोकेको अस्पतालमा हामीले बल्ल सघन उपचार कक्ष (आइसियु) सञ्चालनको पूर्णतयारी गरेका छौं। निःशुल्क उपचारलाई लक्षित वर्गसम्म पुर्‍याएका छौं। विशेषज्ञ सेवामा जोड दिएका छौं। अस्पतालको आफ्नै फार्मेसीबाट सहुलियतमा औषधी बिक्रीवितरणको व्यवस्था मिलाएका छौं। बिमाको औषधी फार्मेसीमा उपलब्ध गराएका छौं। अस्पतालको भौतिक संरचनालाई किटाणुरहित र आधुनिक गराउने कुरामा जोड दिएका छौं। पहिले माथिल्लो तहका व्यक्तिहरू अस्पतालमा हाजिर गरेर जाने गरेको गुनासो सुनिन्थ्यो। अहिले त्यो परिपाटीको अन्त्य भएको छ।

अहिले कसरी व्यवस्थापन गरिरहनुभएको छ?

पहिला चिकित्सकहरूले यहाँका बिरामीलाई आफ्नो क्लिनिकमा रिफर गर्नेजस्ता कार्य हुन्थे। अहिले त्यस्तो छैन। अस्पतालमा आएका बिरामीलाई रिफर गर्न पाइँदैन। रिफर गर्नैपरे कारण देखाउनुपर्छ।

अहिले दिनहुँ अस्पताल कर्मचारी, चिकित्सक, नर्सहरूसँग मेसुसहितको टिमले छलफल गर्छ। छलफलका क्रममा कुनै समस्या भए समाधानका लागि पहल गरिन्छ। जसले गर्दा हामी सबैलाई मिलेर अगाडि बढ्न सहज भइरहेको छ।

अस्पताललाई थप व्यवस्थित बनाउन के–के काम गरिरहनुभएको छ?

अस्पतालको भवन रेट्रोफिटिङ र सुविधासम्पन्न नयाँ भवन निर्माण कार्यमा लागिरहेका छौं। जिल्लाले विश्वास गरेर दिएको कोभिड–१९ परीक्षणको काम गरिरहेका छौं। छुट्टै अस्थायी कोभिड–१९ उपचार कक्ष तयार पारेका छौं। महामारीकै बीच ओपिडीलगायत नियमित सेवा सुचारु गरेका थियौं। भक्तपुर अस्पतालले जनताको अस्पतालका रूपमा सबैको विश्वास जित्दै गएको हाम्रो विश्वास छ।

अहिले अस्पतालबाट दिनहुँ ६ सयको हाराहारिमा उपचार लिइरहेका हुन्छन्। साथै प्रदेश सरकारले २ सय बेडको अस्पताल बनाउन सहयोग गर्ने भएको छ। यसका लागि बेड थप्ने काम भइरहेको छ।

भक्तपुर अस्पतालाई आइसियु सेवा दिन किन यति वर्ष लाग्यो?

भक्तपुर अस्तपाल वीर अस्पतालपछिको दोस्रो जेठो अस्पताल हो। यसको लामो इतिहास भए पनि उपचारमा फड्को मार्न सकेन। जुन तीतो सत्यलाई हामीले नकार्न मिल्दैन। यत्तिका वर्षसम्म एउटा आइसियु सेवा पनि सञ्चालन गर्न नसक्नु दुखद इतिहास हो। अस्पताल व्यवस्थापन र प्रशासनको तालमेल नमिल्दा यो समस्या भएको हो। कुनै पनि संस्था विकासको मुख्य आधार जनशक्ति र इच्छाशक्ति नै हो।

हामीलाई बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले आइसियु सञ्चालनमा सहयोग गर्ने वचन दिनुभएको थियो। उहाँकै पहलमा सामाजिक विकास मन्त्रालयमार्फत हामीलाई १ करोड रुपैयाँ प्राप्त भएको छ। प्राविधिक जनशक्तिसमेत प्रदेश मन्त्रालयले उपलब्ध गराउने उहाँले जिम्मा लिनुभएको थियो।

उहाँले नयाँ वर्ष २०७७ वैशाखमा आइसियु सञ्चालन हुनुपर्छ भन्नुभएको थियो। लकडाउनका कारण हामीले वैशाखमा सेवा सुचारु गर्न त सकेनौं। लकडाउनपछि हामीले भेन्टिलेटरसहित ६ बेड क्षमताको आइसियु कक्ष सञ्चालन गर्दै आएका छौं। साथै दुरबिन प्रविधिबाट शल्यक्रिया पनि भइरहेको छ।

दुरबिन प्रविधि शल्यक्रिया भनेको के हो?

चिरेर अप्रेसन गर्दा घाउ ठूलो हुने, दुखाइ बढी हुने, धेरै दिनसम्म अस्पतालमा भर्ना भएर बस्नुपर्ने, घाउमा इन्फेक्सन, हर्नियाजस्ता समस्या दुरबिन प्रविधिबाट शल्यक्रिया गर्दा न्यून हुने तथा चाँडै बिरामी निको हुने हुन्छ। साथै कुनै रोग निदान गर्न नसकिएको स्थितिमा पनि पेटमा सानो प्वालबाट दुरबिनले भित्र हेरेर रोग पत्ता लगाएर सोहीअनुसार शल्यक्रिया अगाडि बढाउन मद्दत गर्दछ।

भक्तपुर अस्पतालले कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लामै प्रमुख भूमिका पाएको छ। कसरी काम गरिरहेको छ?

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा भक्तपुर अस्पतालले पाएको जिम्मेवारी हाम्रा लागि अवसर र चुनौति दुवै हो। कतिपय निजी अस्पतालले सम्पूर्ण सेवा नै रोकेको समाचार बाहिर आइरहँदा हामीले सीमित साधनस्रोतबीच सम्पूर्ण सेवालाई निरन्तरता दिइरहेका थियौं। छुट्टै आइसोलेसन वार्ड बनाएर कोरोना परीक्षण पनि अघि बढाइरहेका थियौं। अस्पतालले नेपालमा पहिलो क्वारेन्टिनका रूपमा सञ्चालन गरेको खरिपाटीको क्वारेन्टिन अस्पतालको नेतृत्व गरेको थियो।

विगतमा भक्तपुर अस्पतालमा कर्मचारीबीच मनमुटाव र आपसी कलहका कारण कार्यसम्पादनमा समस्या हुनेगरेका घटना बाहिरिन्थे। अहिले आन्तरिक कलहलाई कसरी व्यवस्थापन गर्नुभएको छ?

मानिसमा हुने स्वाभाविक स्वार्थ, उत्तेजना र चिन्तनको उपज नै कलहका कारण हुन्। कुशल व्यवस्थापनले त्यसलाई निस्तेज गर्न सकियो भने मात्र संस्थाको उन्नति हुन्छ। कसैलाई काखा र कसैलाई पाखा गर्ने व्यवहारले संस्थाको भलो हुँदैन। हामीले व्यक्तिगत स्वार्थबाट माथि उठ्न र संस्थागत स्वार्थलाई सर्वोच्च ठान्न आग्रह गर्दै आएको छौं। हामीले कर्मचारीलाई काउन्सिलिङ पनि गर्छौं। आफ्नै स्वार्थ वरिपरि घुमिरहने कार्य स्वीकार्य हुँदैन। व्यवस्थापन त्यसमा कठोर बन्छ भन्ने चेतावनी पनि दिएका छौं। महत्वपूर्ण कुरा के भने हामीले संस्थाको भलाइ हुने विषयमा सबैको सहमतिबाट निर्णय गर्ने गरेका छौं। अहिले हाम्रो मुख्य चुनौति आन्तरिक कलह होइन। हामी त्यसको व्यवस्थापन गर्न सक्षम छौं।

तपाईंको सक्रियताले अझै धेरै विकास सम्भव हुने थियो भन्ने गुनासो पनि सुनिन्छ नि?

आइसियुका लागि सामाजिक विकासमन्त्री युवराज दुलाललाई यहीँ बोलाएर प्रतिबद्धता प्राप्त भएको हो। भक्तपुर अस्पतालमा आइसियु आउन १ सय १६ वर्ष लाग्यो। प्रदेश सरकार र मन्त्री दुलालप्रति आभारी छौं। जसले काम गर्छ, मानिसले उसैसँग अपेक्षा बढी गर्छ। यसर्थ, मप्रति गुनासो गर्नेप्रति पनि म अन्यथा ठान्दिनँ। मलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेर ठूलो मान्छे भएको आभाष फिटिक्कै छैन। म यहीँको धुलोमाटोमा खेलेर हुर्किएको हुँ, म अध्यक्ष नरहे पनि अस्पतालको भलो हुने काम गरिरहने छु।

अस्पताललाई भ्रष्टाचारमुक्त राख्न कस्ता योजना छन्?

बिल काट्ने बेलादेखि नै अस्पतालमा अनियमितता हुँदोरहेछ। हामीले बेलाबेला छड्के अनुगमन गरेर अनियमितता रोकेका छौं। म कमिसनको पछि लाग्ने व्यक्ति होइन। यसर्थ खरिद प्रक्रिया पारदर्शी गराएका छौं। र, राम्रो औषधी उपकरणलगायत खरिद गर्नुपर्ने कुरामा कुनै कम्प्रोमाइज गरिएको छैन। कमिसनको चक्करमा रोकिएको नयाँ भवन निर्माणलाई मैले सुरु गराएको छु। आफूले समस्या समाधान गर्न नसके मैले विभागीय मन्त्रीलाई नै बोलाएर भ्रष्टाचारप्रति शून्य सहनशील रहने दृढतासाथ गलत मनसायका साथ गरिएका वा गर्न खोजिएका काम रोक्ने गरेको छु।

भक्तपुर अस्पतालमा कहीँ कतै अनियमितता भएको थाहा पाए कारबाही गर्न हामी प्रतिबद्ध छौं। यस्तो सूचना भएमा जानकारी गराउनसमेत तपाईंको सञ्चारमाध्यममार्फत म समस्त भक्तपुर अस्पतालका शुभचिन्तकलाई अनुरोध गर्दछु।

भक्तपुरका धेरैजसो स्थानीय अझै पनि भक्तपुर अस्पतालमा उपचार गर्न आइरहेको देखिँदैन। यो हुनुको कारण के हो? यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ?

विगतमा विविध कारण भक्तपुर अस्पताल बदनाम रह्यो। भक्तपुर अस्पताल लैजानु भनेको घाटमा लैजानुजस्तो हो भनेर यसको बदनाम गराइयो। यसर्थ, हुनेखाने वर्ग यस अस्पतालप्रति अझै आश्वस्त हुन नसकेको हुनसक्छ। अर्को कुरा, यो अस्पताल जनरल अस्पताल हो, रोग विशेषज्ञका लागि विशेष अस्पतालमा लैजानु अन्यथा होइन तर यहाँ नै उपचार सम्भव हुँदाहुँदै काठमाडौ जानु उहाँहरू र हाम्रा लागि समेत दुखद अवस्था हो।

के–के नयाँ सेवा सञ्चालनमा आएका छन् त?

अहिले भक्तपु्र अस्पतालमा सघन कक्ष, नवजात शिशु सघन कक्ष, दुरबिन प्रविधिबाट शल्यक्रिया, पिसिआर जाँच, उत्तरआधुनिक प्रयोगशाला र जाँचजस्ता सेवा विस्तार गरेका छन्। साथै अस्पतालमा मनोरोग तथा अन्य मानसिक समस्यालाई लक्षित गरेर मानसिक रोग विभाग सञ्चालन गरेका छौं।

अन्त्यमा, के सन्देश दिन चाहनुहुन्छ?

भक्तपुर अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धतासहित यहाँहरू सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु।

कोभिडले गर्दा पछिल्लो समय मन्दिरमा ताला लागेका छन्। अस्पतालहरू मन्दिर र स्वास्थ्यकर्मी भगवान सावित भएका छन्। हामी सबैले यस कुरालाई मनन गरी स्वास्थ्यकर्मीप्रति सम्मान र अस्पताललाई माया गरौं। कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आफूले सकेको सहयोग गरौं भन्न चाहन्छु।



Leave a Reply

Your email address will not be published. Required fields are marked *