सरकारले २० लाख डोज ‘कोभिसिल्ड’ खोप सोझै खरिद गर्ने

हेल्थपोस्ट नेपाल

सरकारले सवै नागरिकलाई निःशुल्क कोरोना खोप दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन्।

‘महामारीको रुपमा विश्वभर फैलिएको कोरोना संक्रमणबाट नेपाली नागरिकको जीवन रक्षा गर्न सवै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने सरकारले गरेको छ,’ गुरुङले भने।

खोप आपूर्ति गर्न तत्काल सहज नरहेकोले भारतबाट अनुदानस्वरुप प्राप्त भएको दश लाख डोज खोपलाई निरन्तरता दिने निर्णय भएको उनले बताए।

साथै उनले थप खोप खरिद गर्न सरकारले प्रक्रिया अगाडी बढाउँदा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार बाधा पर्न आएको समेत बताएका छन्।

खोप उत्पादक कम्पनीले पेश्की जमानत नराखी अग्रीम भुक्तानी भएमा मात्र खोप आपूर्ति गर्न सक्ने शर्त निर्धारण गरेकोले सार्वजनिक खरिद ऐनअनुसार बाधा पुगेको मन्त्री गुरुङले बताए।

‘सार्वजनिक खरिद ऐन २०६३ मा कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरिद गर्ने व्यवस्था नरहेको हुँदा खोप खरिद गर्न बाधा अडकाउ परेको छ,’ उनले भने।

खोप खरिद गर्न बाधा अडकाउ परेकोले सोही ऐनको दाफा ७४ (ख) ले दिएको अधिकार प्रयोग गरेर अहिलेको विशेष परिस्थितिलाई ध्यानमा राखेर एक पटकका लागि कोभिसिल्ड खोप उत्पादक कम्पनीसँग वार्ताद्वारा निर्धारण गरिएको मूल्य र रकम भुक्तानीको शर्तबमोजिम खोप खरिद गरिने उनले बताए।

राष्ट्र बैंकमार्फत भुक्तानी हुने गरी २० लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्ने गरी बाधा अडकाउ फुकाउन आदेश जारी गर्ने र सोको सूचना प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालले अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय सरकारले गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *