भक्तपुरका सर्वसाधारणलाई पनि अब कोरोना खोप
भक्तपुरका सर्वसाधारणलाई पनि कोरोना खोप दिइने भएको छ। फागुन २३ गतेदेखि पहिलो चरणमा सर्वसाधारणलाई खोप दिइने भएको हो। पहिलो चरणमा ६० वर्षभन्दा माथिकालाई खोप दिइने छ।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले बिहीबार पत्रकारसँगको अन्तरक्रियामा कार्यालय प्रमुख कृष्ण मिजारले दोश्रो चरणको खोप सुरु भइरहेको जानकारी गराए।
उनले दोश्रो चरणमा पत्रकारलाई पनि खोप दिइने कार्यक्रम चलिरहेको बताए।
उनकाअनुसार पहिलो चरणमा जिल्लामा दुई हजार चार सय ७४ जनाले खोप लाइसकेका छन्। दोश्रो चरणअन्तर्गत हालसम्म एक हजार एक सय ६४ जनाले खोप लगाइसकेका छन्।
जिल्लामा भक्तपुर अस्पताल दुधपाटी र मध्यपुर थिमिस्थित कोरिया मैत्री अस्पतालमा खोप दिइने छ। जिल्लामा हालसम्म ९ हजार ५ सय ५२ जनामा कोरोना पुष्टि भएको छ। ती मध्ये ९ हजार ३ सय ८३ जनाले कोरोना जितिसकेका छन्।