वीरमा बेथिती : दुई महिनादेखि मेडिकल वार्ड बन्द
गरिब विपन्न वर्गले सेवा लिन देशकै पुरानो अस्पताल वीरलाई रोज्नेगर्छन्।
तर, अस्पतालको सेवा चुस्त हुन नसक्दा धेरै बिरामीले सेवा लिनबाट बञ्चित हुनुपरेको छ।
दुई महिनादेखि वीरको मेडिकल वार्ड बन्द छ।
तर, अस्पताल प्रशासनले भने जनशक्ति अभावका कारण वार्ड सञ्चालन गर्न नसकिएको बताएको छ।
यसरी, सेवा पूर्णरुपमा बन्द हुँदा हजारौं बिरामी मर्कामा परेका छन्।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जनशक्ति अभावका कारण मेडिकल वार्ड बन्द गर्नुपरेको बताए।
मेडिकल वार्ड (सेकेन्ड) मा ३० बेड छन्। जुन वार्ड बन्द हुँदा बिरामीहरूले सेवा नै नपाई अन्य अस्पताल धानुपरेको छ।
कोभिडको बेला केही स्टाफले जागिर छोडेका कारण वार्ड बन्द गर्नुपर्ने अवस्था आएको डा. सेञ्चुरीको भनाई छ।
‘कोभिडको समयमा २० भन्दा बढी कर्मचारीले जागिर छोडे,’ डा. सेञ्चुरीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘जनशक्ति नभएका कारण हामीले मेडिकल वार्डबाट सेवा दिन सकेनौं।’
डा. सेञ्चुरीका अनुसार सेवा सञ्चालन गर्नको लागि आन्तरिक हिसाबबाट जनशक्तिको व्यवस्थापनको तयारी भइरहेको छ।
‘अन्य वार्डबाट जनशक्ति तानतुन गरेर मेडिकल वार्ड सञ्चालन गर्न तयारीमा रहेका छौं,’ डा. सेञ्चुरीले भने, ‘सम्भवत अर्को हप्ताबाट सेवा सञ्चालन हुन्छ।’
कोरोना महामारीले अस्पतालको आर्थिक आम्दानी घटेका कारण थप जनशक्ति राख्न नसकिएको उनको भनाई छ।
‘केही स्टाफले जागरि छोडेर गए। कोरोनाका कारण आर्थिक आम्दानी पनि घट्यो,’ उनले भने, ‘पछि जनशक्ति परिपूर्ति गर्न सकिएन।’
अस्पतालको सेवा पूर्णरुपमा सञ्चालन गर्न जनशक्ति अभाव भइरहेको उनको भनाई छ।
जनशक्ति थप बारे मन्त्रालयमा कुरा भइरहेको उनले बताए। हाल वीरमा १ हजार ४ सयभन्दा बढी जनशक्ति छ।