डाक्टरको शुल्क वृद्धिप्रति स्वास्थ्य मन्त्रालयको आपत्ति, प्रवक्ता भन्छन्– हामीसँग छलफलै गरिएन

अस्पतालको परामर्श  शुल्क वृद्धि भएकोप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।

नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले डाक्टरको परामर्श शुल्क बढाएकोप्रति मन्त्रालयले आपत्ति जनाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले छलफल नै नगरी बढाएको शुल्क मान्य नहुने बताए।

‘शुल्क वृद्धिको विषयमा उहाँहरूले मन्त्रालयसँग कुनै छलफल गर्नुभएको छैन,’  डा. गौतमले हेल्थपोस्ट सँगको कुराकानीमा भने, ‘यसविषयमा मैले मिडियाबाट थाहा पाए। यो निर्णय मन्त्रालयलाई मान्य हुँदैन।’

तर, नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन सिफारिस समितिले १ वर्षअघि सिफारिस गरेको परामर्श शुल्क कार्यान्वयन नभएको भन्दै आजदेखि आफै कार्यान्वयन गर्ने निर्णय गरेका हुन्।

शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानी परामर्श शुल्क तोकेर फागुन ५ बाटै लागू गर्ने निर्णय संघले जनाएको छ।

जसअनुसार एमबिबिएस र बिडिएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ३७० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरूले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।

यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५१५ र त्यसभन्दा बढीअनुभव भएकाहरूले ५९० शुल्क लिन पाउनेछन्।

यस्तै, एमडी, एमएस र एमडिएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ६६० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ७०० रुपैयाँ शुल्क लिन पाउनेछन्।

डिएम तथा एमसिएच गरी ५ वर्ष अनुभव भएकाहरूले परामर्श शुल्कवाफत्त ७७० रुपैयाँ लिन पाउनेछन्।

डिएम तथा एमसिएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडिएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरूले ८२५ रुपैयाँ परामर्श शुल्क लिन पाउने संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय