आजदेखि बढ्यो डाक्टरको परामर्श शुल्क, कसले कति लिन पाउने ?

नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन सिफारिस समितिले १ वर्षअघि सिफारिस गरेको परामर्श शुल्क कार्यान्वयन नभएको भन्दै आजदेखि आफैं कार्यान्वयन गर्ने निर्णय गरेका छन्।

अफिन र चिकित्सक संघको फागुन ४ मा बसेको संयुक्त बैठकको निर्णयअनुसार राष्ट्रबैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानी परामर्श शुल्क तोकेर फागुन ५ बाटै लागू गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ।

जसअनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ३७० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।

यस्तै, डिप्लोमा चिकित्सकहरु ५वर्ष अनुभव भएकाले ५१५ र त्यसभन्दा बढीअनुभव भएकाहरुले ५९० शुल्क लिन पाउनेछन्।

यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ६६० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ७०० रुपैयाँ शुल्क लिन पाउनेछन्।

डीएम तथा एमसिएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत् ७७० रुपैयाँ लिन पाउनेछन्।

डीएम तथा एमसिएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ८२५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन्।

दुवै संस्थाले आज विज्ञप्ति जारी गरी स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयले २०७७ माघ ४ गते सम्झौता गरी चिकित्सकको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको जनाएका हुन्।

स्वास्थ्य मन्त्रालयले २०७१ असोज १ देखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क तोकेको र प्रत्येक २ वर्षमा पुनरावलोकन हुने भन्ने उल्लेख गरिएपनि त्यसो नगरिएको अफिन र संघले जनाएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय