शल्यचिकित्सक डा. सुनीलकुमार शर्मा स्टार अस्पतालमा आबद्ध, विशिष्टिकृत ग्यास्ट्रो सेन्टर बनाउने

चर्चित पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जिआई) शल्यचिकित्सक डा. सुनीलकुमार शर्मा स्टार अस्पतालमा आवद्ध भएका छन्।

जिआईसम्बन्धी छुट्टै विशिष्टिकृत सेन्टर बनाउने उद्धेश्यसहित डा. शर्माको टीम नै स्टारमा आवद्ध भएको होे। उनी पछिल्लो समय नेपाल मेडिसिटी अस्पतालमा आवद्ध थिए।

डा. शर्मासँगै उनको समूहमा रहेका डा. प्रनील राई, डा. निर्भान राई, डा. सुवोध घिमिरेलगायत पनि स्टारमा आवद्ध भएका छन्।

हेल्थपोस्टसँग कुरा गर्दै डा. शर्माले सहुलियतपूर्ण शुल्कमा सेवा चाहने बिरामीको आवश्यकतालाई ध्यानमा राखेर आफू नयाँ सेन्टरमा आवद्ध भएको बताए।

‘गुणस्तरीयसँगै यथोचित शुल्कमा शल्यक्रियाका लागि बिरामीले मलाई नयाँ संस्थामा पनि भेट्न चाहेको आधारमा यस्तो निर्णय लिनुपरेको हो’ उनले भने ।

डा. शर्माले निकट भविष्यमै वरिष्ठ चिकित्सकहरुलाई एकै ठाउँमा भेट्न सक्ने गरी पेट तथा पाचन प्रणालीसम्बन्धी शल्यचिकित्सा सेवासहितको विशिष्टिकृत सेन्टर बनाउने र सो सेन्टर धेरै बिरामीको पहुँचको हुनेसमेत जानकारी दिए ।

ओम अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताललगायतका अस्पतालमा लामो समय सेवा गरेका डा. शर्मा जिआई सर्जरीमा नेपालका कहलिएका सर्जन हुन्।

शर्माको प्रवेशसँगै ग्यास्ट्राइटिस तथा पेटसम्बन्धीरोगको उपचारका लागि विशिष्टिकृत सेन्टर बनाउन स्टार अस्पतालले तयारी थालेको छ ।

अस्पतालमा पेटरोगसम्बन्धी चर्चित फिजिसियन डा. आइएल आचार्यसमेत आवद्ध हुने तय भएको छ।

त्यसैगरी स्टारले विशिष्टिकृत सेन्टर बनाउनका लागि चर्चित चिकित्सकहरु डा. दिनेश श्रेष्ठ, डा. निरज जोशी, डा. दिपेशलाल गुर्बाचार्य, डा. रमिला श्रेष्ठ, डा. शशीविक्रम थापालाईसमेत भित्र्याउने अन्तिम तयारी गरेको छ।

यसअघि अस्पतालमा कार्यरत शल्यचिकित्सकहरु डा. सुनील श्रेष्ठ, डा. निरञ्जन पालिखे र मेडिकल डाइरेक्टरसमेत रहेका डा. शैल रुपाखेतीसमेत शर्माको जिआईको वृहत टीममा रहनेछन् ।

विशिष्ठ चिकित्सकको प्रवेशसँगै कोभिडका कारण रोकिएको ग्यास्ट्रो तथा पेटरोगसम्बन्धी जिआई सेन्टर बनाउँने र यो नेपालको चिकित्सा सेवामै ठूलो फड्को हुने विश्वास अस्पताल व्यवस्थापनको छ ।

स्टार अस्पताल जिआई सेन्टरसँगै अर्थोपेडिक्स तथा ज्वाइन्ट अर्थोप्लाष्टी, कस्मेटिक तथा एस्थेटिक सर्जरी, नेफ्रो तथा न्यूरो सेवालाईसमेत चरणबद्ध रुपमा विस्तार गर्दै विशिष्ठीकृत सेवा प्रदायक संस्थाको पहिचान बनाउँदै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय