चिकित्सा शिक्षा आयोगका पदाधिकारी धम्काउनेलाई कारबाही गर्न डा. केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारी धम्काउनेलाई कारबाही गर्न माग गरेका छन्।
‘चिकित्सा शिक्षा आयोग र यसका पदाधिकारीमाथि हालै भएको गुण्डागर्दी तथा आयोगलाई असफल बनाउन चलाइएको कुटिल षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने।
पछिल्लो समय सत्ता नजिककमा मेडिकल माफियाहरूले आपराधिक व्यक्तिलाई प्रयोग गरेर आयोगका पदाधिकारीलाई धम्काउने तथा घरअगाडि बम राख्नेसम्मका कुकर्म गरेको जनाउँदै डा. केसीले आपत्ति जनाएका छन्।
‘स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगको स्थापनाकालदेखि नै आयोगको काममा अनावश्यक भाँजो हाल्ने र हस्तक्षेप गर्ने काम गर्दैआएको छ’, डा. केसीले एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘पछिल्लो समय त्यस्तो नाजायज दबाब बढाएर आयोगका पदाधिकारीलाई कामै गर्न कठिन हुने अवस्था सिर्जना गरेर आयोगलाई असफल बनाउन प्रयास भइरहेको छ।’
विद्यार्थीलाई न्याय हुने गरी निर्णय गर्ने र तिनलाई कार्यान्वयन गर्ने चुनौती आयोगसामु रहेको उनले बताएका छन्। दशकौंको बेथितिका कारण भद्रगोल भएको मेडिकल शिक्षामा थिति स्थापित गर्नु अहिले आयोगको पहिलो कर्तव्य भएको उनको ठहर छ।
‘आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीलाई तत्काल कारबाही गर्दै स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको नाजायज हस्तक्षेप तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’, उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
आयोग स्रोतका अनुसार झापास्थित वि एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले पदाधिकारीलाई अनावश्यक धम्की दिँदै आएका छन्।