कति समय रक्सी खानु हुँदैन कोरोना खोप लगाएको व्यक्तिले ?
धूमपान र मद्यपानले स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँछ। विभिन्न रोग निम्त्याउने कारक पनि हो मद्यपान अर्थात् रक्सी सेवन।
यसले कलेजो, मृगौला, मुटुको समस्याका साथै विभिन्न अंगको क्यान्सर गराउनसमेत भूमिका खेलिरहेको हुन्छ।
अहिले सरकारले कोरोना खोप अभियान चलाइरहेको छ। कोरोना खोप लगाइसकेपछि रक्सी सेवन गर्न हुन्छ कि हुँदैन भन्ने आमचासोको विषय बनेको छ।
चिकित्सकका अनुसार कोरोना खोप लगाएका व्यक्तिले रक्सी सेवनको मामलामा भने विशेष विचार पुर्याउनुपर्छ।
कोरोना खोप लगाएका व्यक्तिले २ हप्ता रक्सी सेवन गर्न हुँदैन
कोरोना खोप लगाएको २ हप्ता मद्यपान सेवन गर्न नहुने भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे बताउँछन्।
रक्सी सेवन गर्दा रोगसँग लड्ने क्षमता कम हुने डा. पाण्डेको भनाइ छ।
‘एन्टीबडी बढाउन हामीले खोप लगाउने हो,’ डा. पाण्डे भन्छन्, ‘रक्सी सेवनले गर्दा एन्टीबडी बन्ने प्रक्रियालाई रोक्ने गर्छ।’
रक्सीले हरेक मांसपेशीदेखि कलेजोसम्म असर गर्छ।
‘रक्सीले उत्तेजित बनाउछ। जसले गर्दा शरीरको स्टिमलाई नेगेटिभतिर लैजाने गर्छ,’ पाण्डे भन्छन्, ‘त्यसकारण खोप तथा औषधि सेवन गरिएको मानिसले मद्यपान गर्दा काम नगर्ने हुन्छ।’