कोरोनाले प्रभावित लमजुङको काउलेपानी घरवास आजदेखि खुला

कोरोनाले प्रभावित बनेको करिब ११ महिनापछि पर्यटकका लागि लमजुङको काउलेपानी घरवास (होमस्टे) आजदेखि खुला हुने भएको छ। समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाईमा रहेको बेसीशहर नगरपालिका–३ काउलेपानी घरवास (होमस्टे) स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटकका लागि खुल्ला हुने भएको हो।

काउलेपानी पर्यटन विकास समितिको बैठकले होमस्टे खोल्ने निर्णय गरेको हो। समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘यहाँ घरवासमा आउने पर्यटकलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन लगाउँछौं। पर्यटकको मनोरञ्जनका लागि गुरुङको लोपोन्मुख कृष्ण चरित्र, घाटु, घ्याब्रे नाचलगायत विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गर्छौं।’

सन् २०११ बाट सञ्चालनमा आएको यस घरवासमा १५ घरमा घरवासको व्यवस्था गरिएको छ। यहाँ नेवार, गुरुङ र भुजेल समुदायको घरवास रहेको छ। यी सबै घरवासमा ८८ वटा पर्यटक एकै रातमा सुत्न सक्ने बताइएको छ। काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डा हर्कपिकलगायत एक दर्जन हिम श्रृङ्खला देख्न सकिन्छ। साथै शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ। यहाँ पूजा तथा दर्शन गर्नाले मनोकांक्ष पूरा हुने जनविश्वास छ। त्यस्तै, गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ। प्रति पर्यटकलाई एक रातको रु १ हजार ५० लाग्ने गर्दछ।

गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टिका (अक्षता) ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीन पटक गाउँलेले पर्यटकलाई खुवाउने अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ।

स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत गरी पर्यटकलाई पनि सँगसँगै नचाउने गर्दछन्। त्यस्तै, रात्रिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँछन्।

छुट्टिने बेलामा विदाई गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोसेली स्वरुप सेल रोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ। बेसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदलयात्रामा साढे एक घण्टा समय लाग्छ। पैदल यात्रुहरूका लागि सिढी निर्माण गरिएको छ भने, सवारी साधनमा जाने पर्यटकको लागि सडकको स्तरोन्ती गरिएको छ।

त्यस्तै, कोभिडले प्रभावित पारेको जिल्लाकै सबैभन्दा पहिला सञ्चालनमा आएको दक्षिण एसियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ र वडा–४ भुजुङ, मर्स्याङ्दी गाउँपालिकास्थित सिउरुङ, राइनास घरवास सञ्चालनमा आइसकेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय