भक्तपुरमा श्वासप्रश्वास केन्द्र सञ्चालन
भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याएको छ। भक्तपुर नगरपालिका-९ तुमुचो डुगुरेमा केन्द्र स्थापना गरिएको छ।
नेपालमा दिनप्रतिदिन दीर्घरोगीको संख्या बढ्दै गइरहेकोले यसलाई न्यूनीकरण गर्न पूनस्थापना केन्द्र स्थापना गरिएको जनाइएको छ।
भक्तपुर-९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले दीर्घ दमखोकी भएका व्यक्तिलाई श्वासप्रश्वास सम्बन्धी सेवा प्रदान गर्न केन्द्रको स्थापना भएको बताए।
सेवामात्र नभई सेवा सम्बन्धी तालिम दिन र देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्थाको क्षमता वृद्धि गर्न केन्द्रले सहयोग पुगाउने उनले बताए। केन्द्र विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हप्ताको ६ दिन खुल्ने छ।
केन्द्र स्थापनाका लागि जापान सरकार, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र स्थानीय एकिकृत विकास समाज नेपालबाट सहयोग प्राप्त भएको छ।
केन्द्र माघ २९ गते बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले केन्द्रको भवन तथा उपचार सेवाको उद्घाटन गरेका छन्।
श्वासप्रश्वास पुनर्स्थापना भनेको के हो?
श्वासप्रश्वास पुनर्स्थापना भनेको दीर्घ दमखोकीका विरामीलाई स्वास फेर्न सजिलो बनाउन दिइने फोक्सोको अभ्यास र शिक्षासम्बन्धी कार्यक्रम हो।
यसले विरामीलाई स्वास फेर्न सजिलो बनाउँछ। शरीरलाई फुर्तिलो राख्न मद्दत गर्छ। साथै खाइरहेको औषधीको मात्र घटाउन मद्दत पु-याउँछ।
यस केन्द्रका उद्देश्यहरू
दीर्घ दमखोकी भएका व्यक्तिको रोगको निदान गर्ने।
समुदायिक परिचालन, सूचना, शिक्षा र सञ्चारका गतिविधिको माध्यमबाट रोगको रोकथाम र नियन्त्रण बारे जनचेतना जगाउने।
श्वासप्रवास पुनर्स्थापनासम्बन्धी विशेषज्ञता तालिमा र मानव संसाधन उपलब्ध गराउने।
यसको उपचारले समग्र दीर्घ दमखोकीका विरामीको दैनिकी सजिलो हुने केन्द्रले जनाएको छ। दमखोकीका कारण यस वर्ष विश्वमा करिव ३० लाख र नेपालमा १६ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।
धुम्रपान, सवारीसाधन, खाना पकाउन प्रयोग गरिएको आगो, ईटाभट्टा आदिबाट निस्केको धुँवाका कारण फोक्सोमा दीर्घ असर परी दमखोकी हुनेगर्छ।