अब कोरोना खोप लगाउने पालाे शिक्षककाे

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ।

मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो।
मन्त्रालयले आज मंगलबार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ।

मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दै पत्र लेखेको हो।

यसअघि, शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायत सरोकारवाला निकायले लाखौ विद्यार्थीसंग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेको थियो।
निजी विद्यालयय संगठन प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई अनुरोध गरेका थिए।

मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंतिको सुचीमा शिक्षकलाई राख्न आग्रह गरेका थिए।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि थप प्रकृया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको मन्त्री श्रेष्ठको भनाई थियो।

यस अघि, नै शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउन तथ्याङक संकलन गरिसकेको थियो।

कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।

स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ।

सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कूटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शुरु गरसकेको छ।
शिक्षा सचिव गोपीनाथ मैनालीले शिक्षकहरुलाई पनि खोप लगाउने अभियान शुरु गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय