आज बदली तथा केही स्थानमा वर्षा हुने
यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए।
नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बदली हुनुका साथै शनिबार दिउँसो हल्का वर्षा पनि भएको थियो। आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो। मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई वर्षात हुनसक्ने मौसमविद्को भनाइ छ।
मौसमविद् सजिना शाक्यले बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन्। उनकाअनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भूभाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ। तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ। यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ। अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ।
राजधानी काठमाडौंसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।