सरकारले कोरोना खोपमा धाँधली गर्‍यो : केदारभक्त माथेमा

कोरोना खोपका लागि सरकारको प्राथमिकतामा लक्षित समूह नपरेको भन्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले आपत्ति जनाएका छन्।

सरकारले विज्ञ टोली गठन गरेको भए पनि त्यसले दिएको सुझाव पालना नगरी मनोमानी गरेको उनको आरोप छ।

‘नेपालमा कोरोना खोप आउनुभन्दा पहिले सुशीला कार्की, मलगायत केही साथीले विज्ञप्ति जारी गरेका थियौं। सरकारले कस्तो भ्याक्सिन ल्याउँछ र कसलाई दिन्छ भन्नेबारे जनतालाई खुलारूपमा जानकारी दिनुपर्ने बताएका थियौं। सरकारलाई पनि सोहीअनुसार रचनात्मक सुझाव दिएका थियौं,’ उनले भने, ‘मन्त्रालयले प्राथिकताका आधारमा आउँछ, त्यसैको तयारी भइरहेको छ भनेको थियो। तर, हामीलाई भनेको जस्तो तयारी सरकारको व्यवहारमा देखिएन।’

उनले फन्टलाइनर स्वास्थ्यकर्मी, प्रहरीलगायत रहेको बताए। जसमा अझै प्रहरीले खोप पाउन नसकेको भन्दै उनले आपत्ति जनाए। भित्रभित्रै अस्पतालका बोर्ड डाइरेक्टरले खोप लगाइरहेको सुन्नमा आएको र त्यो निकै आपत्तिजनक भएको उनको भनाइ छ।

‘उनीहरू दुई/तीन महिनामा बोर्ड मिटिङमा आउने व्यक्तिमात्रै हुन्। उनीहरूले खोप लगाए भनेर रिस होइन। खोप कार्य विधि र पद्धतिअनुसार चल्नुप-यो। पहुँचका भरमा लगाउनुभएन भन्ने मात्रै हो,’ माथेमाले भने, ‘अहिले पत्रकारलाई खोप दिइएको छ। भोलि स्कुल खुल्दा शिक्षकलाई पनि दिनुप-यो।’

उनले अहिले त्यसरी योजनाबिनै खोप दिनुभन्दा बुढापाकालाई खोप दिनुपर्ने बताए। त्यसमा पनि मिर्गौला, मुटु, उच्च रक्तचापलगायत अन्य दीर्घरोगीलाई खोपको प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।

विज्ञ समूहले दिएको सुझावभन्दा बाहिर रहेर सरकारले लोकप्रियता कमाउनका लागि मनपरी खोप लगाइरहेको उनको आरोप छ। ‘सरकारको यो चरित्र प्रजातान्त्रिक देखिएन। सरकार जनताप्रति उत्तरदायी देखिएन। लोकतन्त्रमा यो शोभनिय विषय होइन। ओलीले चलाइरहेको शासन प्रजातन्त्र हो भने मलाई यो प्रजातन्त्रै चाहिएन,’ उनले भने, ‘यसले सरकारको परिपक्वतामा प्रश्न उठेको छ।’

सरकारले खोप प्राथमिकताको एक नम्बर, दुई नम्बर, तीन नम्बर, चार नम्बर भनेर छुट्ट्याउनुपर्ने उनी बताउँछन्। जनतालाई सरकारले गरिरहेको काम ठिक छ भन्ने भान दिलाउनसक्नुपर्ने माथेमाको भनाइ छ।

‘बोर्डमा म भएको भए सरकारको यो गलत कदमविरुद्ध बोल्थें। कोही नरम स्वभावका मानिस हुन्छन्। जो बोल्न सक्दैनन्। मलाई खोप व्यवस्थापन ठिक लागेन। र, बाहिरबाटै बोलिरहेको छु। भोलि एकपटक मन्त्रालयमा फोन गरेर पनि यो विषयमा भन्ने छु,’ उनले भने, ‘सरकार विज्ञहरूको सल्लाह सुझावमा चल्ने हो। प्रशासनिक निर्णय गरेर मात्रै चल्ने होइन।’

अहिलेको अवस्था आउनुमा सरकारको अपरिपक्वता रहेको उनी बताउँछन्। यही अवस्था नआओस् भनेर डेढ महिना पहिले आफूले सुझाव दिएको बताउँछन्।

उनी सरकारलाई प्रशासनको कुरामा नभई विज्ञको सल्लाहमा चल्न सुझाव दिन्छन्।

One thought on “सरकारले कोरोना खोपमा धाँधली गर्‍यो : केदारभक्त माथेमा

  1. धेरै बिबाद नगरे को राम्रो । तपाई र डा गोविन्द के शि को चिकित्शा शिक्षा आयोग को नियम ले हजारौ उत्कृस्ट डाक्टर्हरु को पि जि गर्ने बाटो लाई ध्वस्त बनायो बनायो, सर्कारी बि बि र प्रतिष्ठान हरु लाई पनि कमजोर बनायो, राष्ट्रको लाई ठुलो क्षति । एक दिन लोक ले तिमीहरु लाई सराप्नेछन्, जब लोक को घैटोमा घाम लग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय